अमेरिकाले नेपाललाई दिने खोप कति र कसरी आउँछ ?

अमेरिकाले नेपालसहित १६ एसियाली विकासशील देशहरूलाई कोभिड–१९ खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले एक जानकारी दिँदै खोप उपलब्ध गराउने घोषणा गरेको हो । 

अमेरिकाले कोभ्याक्स कार्यक्रम मार्फत उक्त खोप उपलब्ध गराउने भएको हो । अमेरिकाले ७० लाख डोज खोप प्रदान गर्न लागेको हो । त्यो खोपमध्ये नेपालले कति पाउने भन्ने अहिलेसम्म यकिन भएको छैन । 

नेपालले पाउने खोप कुन हो भन्ने पनि केही खुलाइएको छैन । अमेरिकाले उपलब्ध गराउने उक्त खोप जोखिमको अवस्था हेरेर वितरण गर्ने अमेरिकाको तयारी छ । यो विषयमा थप जानकारी चाँडै नै नेपालले पाउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । 

अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई वितरण गर्न लागेको छ । जसमध्ये एक करोड ९० लाख खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत वितरण गर्नेछ । अमेरिकाले आफ्नो घोषणाको ७५ प्रतिशत कोभ्याक्समार्फत र २५ प्रतिशत सिधै देशहरूलाई उपलब्ध गराउने छ । 

नेपालसहित एसियाका १६ विकासशील देशले ७० लाख डोज पाउनेछन् । त्यसको बाँकी खोप भने अमेरिकाले सिधै देशहरूलाई सहयोग गर्नेछ । जसमा कुन कुन देश परेका छन् भन्ने अहिले नै यकिन भइसकेको छैन । नेपालले अहिलेसम्म कति खोप पाउने भन्ने प्रष्ट विवरण आइनसकेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । 

‘घोषणा गरेको हामीले पनि राष्ट्रपति कार्यालयको वेबसाइटबाटै जानकारी पाएका छौँ । अब थप बुझ्ने काम भइरहेको छ । त्यसपछि मात्रै थाहा हुन्छ, कुन खोप, कति डोज दिन लागेको ? भन्ने कुरा ।’ प्रवक्ता लम्सालले बताइन् ।  



६० लाख डोज पाउने देशहरु 
ह्वाइट हाउसले जारी गरेको सूचना अनुसार अमेरिकाले विभिन्न देशलाई ६० लाख डोज खोप दिनेछ । जसमा मध्य र दक्षिण अमेरिकी देशहरूमा ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, कोस्टारिका, पेरू, इक्वेडर, पाराग्वे, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, पानमा, हैटी र अन्य क्यारेबियन मुलुक रहेका छन् । 

७० लाख डोज पाउने देशहरु 
अमेरिकाले ७० लाख डोज एसियाका मुलुकलाई बाँड्नेछ । जसमा भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस्, पपुवा न्युगिनी, ताइवान र अन्य प्यासिफिक टापुहरू रहेका छन् ।  



अफ्रिकालाई ५० लाख डोज 
अफ्रिकन युनियनको सहजिकरणमा ५० लाख डोज खोप अफ्रिकाका विभिन्न देशलाई दिइने अमेरिकाले जनाएको छ । 

६० लाख डोज खोप प्राथमिकताका आधारमा सिधै 
अमेरिकाले कोभ्याक्स सुविधा बाहेक ६० लाख डोज खोप प्राथमिकताका आधारमा विभिन्न देशलाई दिने जनाएको छ । ६० लाख डोज खोप सिधै पाउने मुलुकमा नेपालको नाम भने समावेश छैन । 

उक्त खोप पाउनेमा मेक्सिको, क्यानडा, दक्षिण कोरिया, वेस्ट ब्यांक र गाजा, युक्रेन, कोसोभो, हैटी, जर्जिया, इजिप्ट, जोर्डन, भारत, इराक र यमनसँगै संयुक्त राष्ट्रसंघका फ्रन्टलाइन कर्मचारी रहेका छन् । 

अमेरिकाले प्राथमिकताका आधारमा पठाउने खोप चाँडै सम्बन्धित देशमा पठाउने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । कोभ्याक्स सुविधा मार्फत  प्राप्त हुने खोप कहिले पठाउने भन्ने विषयमा गृहकार्य भइरहेको ह्वाइट हाउसले जनाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन अगाडि मात्रै अमेरिकी राष्ट्रपतिलाई पत्र पठाएर खोपका लागि सहयोग गर्न अनुरोध गरेकी थिइन् । उनले नेपालमा महामारीको अवस्था र खोपको उपलब्धताका विषयमा अमेरिकी राष्ट्रपति जो बाडेनलाई जानकारी गराउँदै खोप उपलब्ध गराइदिन अनुरोध गरेकी थिइन् । 

राष्ट्रपति भण्डारीले नेपालले किन्न लागेको खोपमा पनि सहजीकरण गरिदिनका लागि बाइडेनलाई पत्रमार्फत अनुरोध गरेकी थिइन् । नेपालले अनुरोध गरेको केही दिनमै अमेरिकाले खोपको घोषणा गरेको हो । 

  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १२:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया