म्युकर माइकोसिस पोस्ट कोभिड होइन, यो पहिला पनि देखिएको संक्रमण हो

नेपालमा पछिल्लो समय म्युकर माइकोसिसका बिरामी बढ्न थालेका छन् । जसलाई आम भाषामा कालो ढुसी अर्थात्  ब्ल्याक फङ्गस भनिन्छ । कोरोना भाइरसको दोस्रो लहर थोरै मत्थर हुँदै गर्दा कालो ढुसीको त्रासमा परेका छन्, सर्वसाधारण । त्रिवि शिक्षण अस्पतालका नाक, कान घाँटी विशेषज्ञ तथा म्युकर व्यवस्थापन समितिका संयोजक रविन्द्रभक्त प्रधानाङ्ग भने यो फङ्गस इन्फेक्सनलाई कालो ढुसीको संज्ञा दिनु गलत रहेको बताउँछन् ।

म्युकर माइकोसिस पहिले पनि देखिएको फङ्गस इन्फेक्सन हो । यो विशेषतः अत्यधिक मात्रामा मधुमेह भएका बिरामी त्यसमाथि कोरोना पोजेटिभलाई बढी मात्रामा हुने उनी बताउँछन् ।
के हो म्युकर माइकोसिस र यसबाट कसरी बच्न सकिन्छ भन्ने कुरामा त्रिवि शिक्षण अस्पतालका सह प्राध्यापक डाक्टर रविन्द्रभक्त प्रधानाङ्गसँग गरिएको कुराकानी :

म्युकर माइकोसिस ‘ब्ल्याक फङ्गस’ के हो ?

यो रोग म्युकर नामक एक ढुसी हाम्रै वरिपरी जहींतहीं हुन्छ । कुहिएको खाना, पानी बग्ने धारा, माटो, घाँस पतिङ्गर, फोहोर लगायतमा यो ढुसी उब्जिन्छ । 
यो भाइरसलाई कालो ढुसी भनिनु गलत हो । म्युकर राइजोपस् भन्ने एक प्रकारको प्रजातिले त्यहाँ समस्या गराएर संक्रमण भएको ठाउँ कालो हुने भएकाले यसलाई ब्ल्याक फङ्गस भनिएको हो ।

यो भाइरसले कस्ता व्यक्तिमा बढी संक्रमण गर्छ ?

यो भाइरस सबै कोरोना संक्रमितलाई लाग्ने होइन । सुगरको मात्रा अत्यधिक रहेको र कोरोना पोजेटिभ देखिएको व्यक्तिलाई यो फङ्गस देखिने बढी सम्भावना हुन्छ । तर सबैमा यो देखिन्छ नै भन्ने हुँदैन । 



कोरोनाको उपचारका क्रममा ‘एस्टोरोइडमा’ भन्ने औषधी दिइन्छ । यसले शरीरमा सुगरको मात्रा बढाउने काम गर्छ । त्यसैले कहिलेकाहीँ नियन्त्रणमा रहेको मधुमेह पनि अनियन्त्रित हुन पुग्छ । यसले पनि मधुमेह भएका बिरामीलाई असर गर्ने गर्छ ।

यो पहिले-पहिले पनि हुन्थ्यो । यो पहिला अंग प्रत्यारोपण गरिएका व्यक्तिमा बढी देखिन्थ्यो । मधुमेह बढी भएका मान्छेलाई, ब्लड क्यान्सर तथा अन्य कुनै किसिमका क्यान्सर भई सकेका मान्छेलाई यो संक्रमण हुने गर्छ । कुनै पनि व्यक्ति जसले रेडियो थेरापी, किमो थेरापी पाएको छ । जसको शरीरमा प्रतिरक्षा प्रणाली कमजोर छ उसलाई ब्ल्याक फङ्गसको संक्रमण बढी देखिन सक्छ । म्युट्रो सेलको कमीका कारण यसले शरीरमा छिटो संक्रमण देखिन्छ । 



कस्ता लक्षण देखिन्छन् ?

यसमा कहिलेकाँही केही पनि लक्षण नदेखिइकन पनि संक्रमण देखिन सक्छ । यदि कोही व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको छ र उसलाई अत्यधिक मात्रामा मधुमेह भएको छ भने यस किसिमको संक्रमण देखिन्छ । जसमा लक्षणहरू नाक बन्द हुने, सिँगान बाक्लो आउने, रगत मिसिएको सिँगान आउने, गाला वा आँखा मुनिको भाग लाटो हुने, हल्का रुघा लाग्दा पनि आँखा सुनिने हुन थाल्यो भने यसलाई हामीले म्युकर माइकोसिस नै भन्ने सम्झिनु पर्छ ।  यो पहिलो चरणमा देखिने लक्षण भए । 

यसले कुन-कुन ठाउँमा संक्रमण भएको छ त्यही अनुसार पनि यसको संक्रमणको लक्षण फरक हुने गर्छ । नाकमा संक्रमण भएको छ भने नाक वरिपरि वा नाकको छालाहरू बिस्तारै कालो हुँदै जाने, बिस्तारै भित्री भागहरू कुहिन थाल्छ । कुहिए पछि गन्हाउने हुन्छ । यो एकदमै संक्रामक रुपमा फैलिन्छ । आँखामा छोयो भने आँखा सुनिने, आँखा रातो हुने, आँखामा पानी जम्ने, आँखाको माथिल्लो ढकनी तल झर्न थाल्ने, आँखा राम्रो सँग नचल्ने, डबल भिजन देखिने हुन्छ । अप्टिकल नशाहरूमा धेरै संक्रमण भएमा आँखा नै नदेख्ने हुन सक्छ । 

त्योभन्दा पनि माथि दिमागमा गयो भने, यसले फरक प्रभाव पार्छ । मान्छे छिट्टै रिसाउने, झर्को मान्ने, मान्छेको होस गुम्ने, आधा भाग प्यारालाइसिस हुने समस्या देखिन्छ । दिमाग भित्रका क्यार्बोनल साइनसमा यो संक्रमण पुग्यो भने एकदमै नराम्रो असर परि मान्छेको मृत्यु नै हुने हुन्छ । 

यसको औषधी नै नहुने हो ?

यो यदि समयमा नै पहिचान भई औषधी सेवन गर्ने हो भने मान्छे पहिलाको जस्तै फिट हुन सक्छ । तर, पहिचानमा ढिलाइ भयो र उपचारमा ढिलाइ भयो भने यसले भयावह अवस्था पनि सिर्जना गर्न सक्छ ।

यसको औषधी भनेको अप्रेसन गर्ने र त्यो संक्रमण भएको ठाउँलाई सफा गर्ने, त्यति मात्रै नभई फङ्गस इन्फेक्सन भएका कारण एन्टिफङ्गसका औषधीको पनि सेवन गर्नु पर्ने हुन्छ ।

एन्फोटेरिसिन बी भन्ने औषधी छ यसको प्रयोग गर्नु पर्छ । हाम्रो नेपालमा भने यसको सहज वितरण नभएका कारण समस्या भएको छ । केही दिनमा नै यसको सहज वितरणको व्यवस्था हुने कुरा छ । अहिलेका बिरामीले जसोतसो म्यानेज गरेका छन् । 

धेरै संक्रमण भएर अस्पताल आउने, आँखै नदेख्ने भएपछि अस्पताल आउने बिरामीलाई बचाउन गाह्रो हुन्छ । 

शरीरको कुन भागलाई बढी असर पार्छ ?

यसले सबैभन्दा बढी नाक अनि त्यसपछि आँखालाई यसले बढी प्रभावित गर्छ । त्यसपछि अन्तिममा दिमागमा असर गर्छ । यो फङ्गस हो यसले शरीरको जुनसुकै ठाउँमा पनि असर गर्न सक्छ । यसले छाती, पाचन नली अहिले चलिरहेको म्युकरले भने सबैभन्दा बढी नाक, आँखा र दिमागमा असर गर्छ । 

नेपालमा  कहिलेदेखि देखियो ब्ल्याक फङ्गस ?

भारतमा ब्ल्याक फङ्गस नामको संक्रमण फैलिनासाथ नेपालमा पनि यो प्रवेश गर्छ भन्ने कुरामा हामी सजग थियौं । यस्तै अवस्थामा जेठको पहिलो नेपालमा पहिलो पटक यो फङ्गस देखियो । नेपालगञ्जमा एक जनामा देखिएको म्युकरको लक्षण देखिएकाले उनलाई जेठ ३ गते टिचिङमा रिफर गरियो । आएकै दिन हामीले भर्ना गर्‍यौं । त्यो हाम्रो ब्ल्याक फङ्गसको पहिलो केस थियो ।

उसमा पिनासको जस्तो लक्षण, गाला लाटो भएको जस्तो, आँखामा डबल भिजन, आँखा पूरै सुनिएको थियो । ४४ वर्षका बिरामीको पिसिआर रिर्पोट पोजेटिभ थियो । उहाँ पहिलेदेखि नै मधुमेहका बिरामी । जेठको ९ गते उहाँको अप्रेसन गरियो । 

पहिलो पटक अप्रेसन गर्दा अवस्था कस्तो थियो ? डर कत्तिको थियो ?

नयाँ रोग नभएका कारण त्यस्तो थिएन । तर, कोरोना पोजेटिभ बिरामीको अप्रेसन गर्दा अलिकति बढी सावधानी भने अपनाउनु पर्छ । हामीले पनि त्यसै गरेका थियौं । पहिलो केश भएको बिरामीको आँखामा असर गरिसकेको थियो जसले गर्दा उसको अप्रेसन सहज थिएन । आँखा नै झिक्नु पर्ने हो कि कोरोना पोजेटिभ भएकाले अप्रेसन गरेपछि ठिक हुने कि नहुने भन्ने कन्फ्युजन थियो । तर, अप्रेसन सफल भयो । अहिले उहाँ हाम्रो निगरानीमा अस्पतालमा नै हुनुहुन्छ ।

यसलाई पोस्ट कोभिड किन भनियो ?

यो पोस्ट कोभिड होइन । यो कोरोना हुनेलाई मात्रै हुने होइन । यो कोरोना सन्चो भइसकेको व्यक्तिलाई पनि हुन्छ । विशेषतः भारतमा कोरोना सन्चो भई घर फर्किएका बिरामीलाई म्युकरको संक्रमण देखिएकाले यस्तो भनिएको हुन सक्छ । तर, यो पोस्ट कोभिड भने होइन ।

यसले कुनै विशेष लिंग समूहलाई बढी असर गर्ने हो ?

यसले कुनै पनि लिंग अथवा महिला पुरुष भनेर छुट्याउने भने हुँदैन तर अहिलेसम्म जति पनि संक्रमित भर्ना भएर आएका छन् उनीहरू सबै पुरुष छन् । भर्ना हुने बिरामी भने अहिले टिचिङमा पनि सबै पुरुष नै छन् ।

 

  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १९:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया