सहयोग माग्न पुगेका उपेन्द्रलाई विमलेन्द्रले भने : प्रदेश २ मा अब कांग्रेस नेतृत्वको सरकार

महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा जाने भएपछि जसपाको उपेन्द्र यादव समूह प्रदेश २ को सरकार जोगाउन सक्रिय भएको छ। केन्द्रको असर प्रदेशमा पनि परेर ठाकुर समूह बाहिरिनेबित्तिकै मुख्यमन्त्री लालबाबु राउत अल्पमतमा पर्ने अवस्था आएपछि उपेन्द्र यादव विकल्पको खोजीमा जुटेका हुन्।

त्यही विकल्पको खोजीका क्रममा केन्द्रमा सहकार्य गरिरहेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग उपेन्द्रले शुक्रबार पौने २ घण्टा छलफल गरेका छ। विमलेन्द्रको निवासमै पुगेर प्रदेश २ को सरकार बचाउन सहयोग मागेका उपेन्द्रले तत्काललाई निराश भएर फर्किनुपरेको छ। 

अहिले देशका सातै प्रदेशमा कांग्रेसको सरकार छैन। यो अवस्थामा सहयोग माग्न पुगेका उपेन्द्रसँग विमलेन्द्रले प्रदेश २ सरकारको नेतृत्व दाबी गरेका हुन्। निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार प्रदेश २ मा जसपाले तीन वर्ष सरकार चलाइसकेको अवस्था अब बाँकी अवधि कांग्रेस नेतृत्वमा सरकार बनाएर जानुपर्ने कुरा उपेन्द्रसँग राखिएको छ। 

उपेन्द्रले केन्द्रमा कांग्रेस, माओवादी र जसपाबीचको विपक्षी गठबन्धनको सहकार्यलाई प्रदेश २ मा पनि कायम राखेर जानुपर्ने प्रस्ताव विमलेन्द्रसँग राखेका थिए। 

‘उपेन्द्रजीले निवासमै आएर प्रदेश २ सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ। तर उपसभापति निधिले जसपाले तीन वर्ष सरकार चलाइसकेको अवस्थामा बाँकी कार्यकाल कांग्रेस नेतृत्वमा सरकार बनाउन प्रस्ताव गर्नु भएको छ', प्रेस सल्लाहकार दाहालले फरकधारसँग भने, 'जनता समाजवादीले अबको बाँकी समय कांग्रेस नेतृत्वमा सरकार बनाउन संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्रीमा सघाउनुपर्छ।'

तर यादवले भने पहिले सरकारमा आउन आग्रह गर्दै त्यसपछि यसबारेमा पनि छलफल गर्न सकिने जवाफ दिएका छन्। 'जवाफमा यादवले तत्काललाई कांग्रेस सरकारमा सहभागी भएपछि नेतृत्व हस्तान्तरणका विषयमा छलफल गर्न सकिने बताएका थिए ।



'उपेन्द्र यादवले त्यो विषयमा पछि छलफल गरौँला भनेर आजै जनकपुर जानु भएको छ। उहाँको तर्क पहिले सरकारमा आउनु भन्ने थियो', दाहालले भने, 'तर उपसभापति निधिले मुख्यमन्त्रीको टुंगो लगाएपछि मात्रै अरु कुरामा सहकार्य गर्न सकिने बताउनु भएको छ।'

जसपाको महन्थ ठाकुर समूह एमाले नेतृत्वको सरकारमा गएपछि प्रदेशमा पनि समस्या बढेको बेला उपेन्द्र यादव प्रदेश २ को सरकार जोगाउन लागेका हुन्। दुई नेताबीच यादव जनकपुरबाट फर्किएपछि फेरि छलफल हुने दाहालले बताए। 



प्रदेश २ मा जसपाले एकलौटी सरकार चलाइरहेको अवस्थामा यादवले ठाकुर समूहका मन्त्रीहरुलाई बिदा गरेर कांग्रेससँगको सहकार्यमा गठबन्धन सरकार बनाउन खोजेका छन्। प्रदेश २ को संसदमा अहिले जसपा यादव समूहका ३० जना, ठाकुर समूहका २५ जना, नेपाली कांग्रेसका १९ जना र नेकपा एमालेका २१ जना सांसद रहेका छन्। त्यहाँ माओवादीका ८ र संघीय समाजवादी पार्टीका एक सांसद छन्। 

  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १७:७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया