भर्चुअल बैठकमा योगेश र गोकर्णको ब्रिफिङ : ओलीको स्वेच्छाचारिता स्वीकार गरी एकता हुँदैन

नेकपा एमालेका नेता योगेश भट्टराईले केपी ओली पार्टी एकताको पक्षमा नभएको स्पष्ट पारेका छन्। बिहीबारबाट चलेको माधव नेपाल समूहको भर्चुअल माध्यमबाट भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

भट्टराई पार्टी एकता हुनुपर्ने भन्दै पछिल्लो समय ओली पक्षका नेताहरुसँग निरन्तर संवादमा थिए । पछिल्लो पटक उनले ईश्वर पोखरेलसँग वार्ता गरेका थिए । तर, उनले आजको बैठकमा आफ्नो एकताका लागि आफूले गरेको प्रयासले सार्थकता नपाउने संकेत देखिएको ब्रिफिङ गरेका छन्। 


भट्टराईको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेता भन्छन्, ‘केपी ओली पक्षसँग गरिएको वार्ता जेठ ३ को अवस्थामा पार्टीलाई पुर्याउनका लागि हो । यो हाम्रो सामूहिक संघर्षलाई निष्कर्षमा पु¥याउने योजना हो । एकता आत्मसमर्पण होइन । एकता ओलीको स्वेच्छाचारिता स्वीकार गर्नलाई पनि होइन, विधिबाट र प्रक्रियाबाट संगठन चलाउन पार्टी चलाउनका लागि हो ।’

त्यस्तै पार्टी एकताका लाई जोड दिएर वार्तामा सहभागी अर्का नेता गोकर्ण विष्टले पनि वार्ताको प्रयासलाई कमजोरीको रुपमा बुझ्न नहुने तर्क गरे । पार्टीको गौरव र आन्दोलन बचाउने उद्देश्यका साथ गरिएको इमान्दार प्रयासलाई गैर क्रान्तिकारी भन्न नमिल्ने उनको तर्क थियो। 

कार्यदलका संयोजक भीम रावललाई ओलीले कारबाही गरिसकेपछि पनि निरन्तर संवादमा रहेका विष्ट र भट्टराईले देशी–विदेशी तत्वले एमाले सिध्याउन ओलीलाई प्रयोग गरिरहेको बताए।

‘पार्टीको विधि र विधान मिचेर ओलीले पार्टीलाई ध्वस्त बनाउँदैछन्, देशी–विदेशी तत्वले एमालेलाई सिध्याउन केपी ओलीलाई प्रयोग गरेका छन्’ विष्टको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।



हिजोबाट सुरु भएको नेपाल समूहको बैठक आज पनि जारी छ । ओलीविरुद्ध कसरी उभिने भन्ने रणनीति बनाउन बसिएको यो बैठकले ठोस निष्कर्षसहित अघि बढ्ने बताइएको छ ।



  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १७:२२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया