एमाले संसदीय दललाई थप चुनौती : ‘प्रदेश सरकार अल्पमतमा परिसक्यो’

नेकपा एमाले (ओली समूह) का प्रदेश सभा सदस्य पठानसिंह बोहराले नेकपा (एमाले) ले समर्थन फिर्ता लिएकाले वर्तमान प्रदेश सरकार अल्पमतमा परेको बताएका छन् ।

बोहराले शुक्रबारको प्रदेश सभामा ढ्यापढ्यापे समयमा बोल्दै एमाले पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको बताए । उनले आफूहरू प्रतिपक्ष भएको भन्दै सदनमा अलग्गै सिटको व्यवस्था हुनुपर्ने माग गरे ।

सभामुख अर्जुन थापाले बैठक प्रारम्भ भएको घोषण गरे लगत्तै बोहराले आफ्नो सिटबाट उठेर भने, ‘राष्ट्रिय राजनीतिबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो छैन । नेकपा एमाले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको अवस्थामा र प्रदेश सभालाई समेत जानकारी गराइसकेको अवस्थामा सिटिङको व्यवस्थापन भएको मैले देखिनँ । नेकपा एमाले अब प्रतिपक्ष भएको छ । समर्थन फिर्ता लिइसकेपछि सरकार अल्पमत परेको छ । मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिएको निर्णय गरेको थियो । सो बैठकले एमालेका मन्त्रीहरूलाई पनि फिर्ता बोलाएको थियो ।

पूर्व मन्त्री समेत रहेका बोहराले सञ्चार माध्यममा संसदीय दलका नेता प्रकाशबहादुर शाहले जबरजस्ती सरकारको समर्थन कायम रहेको निर्णय गराएको बताएका थिए । सोही भनाइलाई लिएर उनलाई दलका नेता शाहले स्पष्टीकरण सोधेका थिए । तर, बोहराले जवाफ दिएका छैनन् ।





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १८:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया