श्रीमान्-श्रीमती नै मन्त्री बन्न पाउने भाग्यमानी एमाले नेता !

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । ओलीले पुराना मन्त्रीहरु ४ जनाबाहेक सबैलाई बिदा गरेका छन् । यसै सन्दर्भमा ओली नेतृत्वको मन्त्रिपरिषदमा केही यस्ता व्यक्तिहरु पनि छन् जसले पालैपालै मन्त्री बन्न पाउने सौभाग्य प्राप्त गरेका छन् । 

एमाले नेता रघुवीर महासेठ दम्पती ओलीको मन्त्रिपरिषदमा पालैपालो मन्त्री बन्न पाउने भाग्यमानी नेता ठहरिएका छन् । २०७४ चैत २ गते भएको मन्त्रिपरिषद् विस्तारमा रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्री भएका थिए । २० महिनासम्म मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी २०७७ पुस १० गतेको मन्त्रिपरिषद् हेरफेर गर्दा बाहिरिए ।

ओलीले पुस ५ मा संसद् विघटन गर्ने निर्णय लिएसँगै मन्त्रिपरिषदमा रहेका माधवकुमार नेपाल पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका मन्त्रीहरूले राजीनामा दिए । त्यसपश्चात दाहाल-नेपाल समूहमा आएकी जुलिकुमारी महतो मन्त्री हुने भएपछि ओली समूहमा फर्किएकी थिइन् । महासेठकी श्रीमती जुलीकुमारी महतोलाई ओलीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषदमा ल्याएका थिए ।

शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् भने महिला बालबालिका मन्त्री रहेकी महतो सरकारबाट बाहिरिने भएकी छन् ।

श्रीमान-श्रीमती नै मन्त्री 

एमालेको माधवकुमार नेपाल समूह त्यागेर अध्यक्ष केपी शर्मा ओली समूहमा लागेका शेरबहादुर तामाङका श्रीमान-श्रीमती नै मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् हेरफेर गर्दा एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका नेता शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् भने, शेरबहादुरकी श्रीमती उषाकला राई प्रदेश १ मा सामाजिक विकास मन्त्री छन् । 



गएको पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-माधव समूहमा लागेका तामाङ-राई दम्पती फागुन ८ मा भने ओली समूहमा फर्किएका थिए ।

तामाङ प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित भएका थिए भने प्रदेश १ को प्रदेश सभामा उषाकला समानुपातिकतर्फ निर्वाचित सांसद् हुन् । यसअघि पनि ओली सरकारमै कानुनमन्त्री बनिसकेका तामाङले बंगलादेशमा पढ्ने नेपाली छात्राहरूका विषयमा दिएको अभिव्यक्ति विवादास्पद भएपछि नैतिकताको आधारमा राजीनामा दिएका थिए ।



  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १५:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया