क्षणविशेषका टिपोट
मध्यरातमा भूतले घण्टी बजाएपछि...
फरकधार / २२ जेठ, २०७८

लमजुङ भोर्लेटारको उत्तर पश्चिममा लम्पसार परेको खेतलाई जुडीखेत भन्छन् । त्यहाँ जुडी जातको धान लगाइने हुनाले त्यसलाई जुडीखेत भनिएको हो । जुडी जातको धान पनि हाल लोपोन्मुख बन्दै गएको छ । त्यो धान थोरै पानी भए पनि फल्ने भएकाले सिँचाइको राम्रो व्यवस्था नभएको त्यो ठाउँमा त्यसैको खेती गरिन्थ्यो । 



त्यसको दक्षिणपट्टिको खोल्सा नजिकै माल्ढुङ्गो भन्ने ठाउँ छ । ठूलो ढुङ्गो, त्यसमा देखिएजति भागमा सेता दुई डोरी, बीच-बीचमा फूलको आकृति पनि देख्न सकिने भएकाले माला लगाएको ढुङ्गो भनेर त्यसलाई माल्ढुङ्गो भनिएको हो ।

जुडीखेतको पूर्वतिर हाम्रो सानो गाइगोठ थियो । १०-१२ वटा बस्तु गोठमा बाँधिन्थे । त्यहाँ हाम्रो १८-१९ रोपनी पाखो बारी पनि थियो । बस्तुको मल बारीका लागि पर्याप्त हुन्थ्यो । न्यूनमध्यवर्गीय ग्रामीण परिवार, सबैका समस्या उस्तै हुन्थे । केटा-केटीले अरू काम गर्न नसके पनि बस्तु चराउने जिम्मेवारी लिनै पर्थ्यो । कतिका त २०-२२ वटासम्म बस्तु हुन्थे । हिजोआज वस्तु पाल्ने र चराउने चलन हाम्रो गाउँमा लुप्त प्रायः भएको छ । 



गाई चराउन नगए अझ गाह्रो काम गर्नुपर्थ्यो, त्यसैले पनि म गाई चराउन रमाइलो मान्थें । सानो गाँठीको मान्छे, घरमा सबैले साने भन्थे । (अझै पनि भन्छन् ।) हामी गाई चराउन तिनै जुडीखेत, माल्ढुङ्गो, छत्तिनडाँडो, बिरौटो हुँदै मादीको तिरसम्मै पुग्थ्यौँ । त्यो ढुङ्गामा कसरी मालाको आकृति बनेको होला ? म कहिले काहीँ घोरिएर हेरिरहन्थें , गाईले अर्काको खेती नखाँदासम्म ।



वसन्त ऋतुको समय थियो । सबैतिर हरियाली छाउँदै थियो । एक दिन गाई चराउन त्यही माल्ढुङ्गातिर लगेका थियौं । हाम्रोतिर बस्तु चराउन जानेलाई डियाँ हेर्न जाने भन्छन् । बस्तु फर्काउने क्रममा त्यो ढुङ्गामुनि म पुगेको थिएँ, मलाई अचम्म लाग्यो । सबैतिर झार उम्रिएको भए पनि त्यो ढुगामुनि केही थिएन । त्यो ठाउँ मेरो घरको मझेरी जस्तै सफा थियो । म त्यति बेला ८-९ वर्षको थिएँ । त्यसले यति धेरै आश्चर्यमा पार्‍यो कि सँगै गाई चराउन आउनु भएका काकासँग सोधे, काका त्यहाँ को बस्छ ? उहाँले उत्तर दिनुभयो, ‘भूत बस्छ । त्यहाँ त राति भूतले पूजा गर्छ ।’ 

यसअघि नै भूतका धेरै कथा सुनेको मलाई त्यो ठाउँदेखि डर लाग्न थाल्यो । मन गह्रौं भयो । एक्लै हुँदा त्यतातिर गाई चराउन जानै छाडेँ । अरु साथी हुँदा भने डराएको देखाउन पनि त भएन नि ।

दिन बिते, महिना बिते वर्षहरू पनि बिते ८ कक्षामा पढ्ने भएको थिएँ । भोर्लेटारमा नहर आएको पनि ३-४ वर्ष भइसकेको थियो । पाखो बारीहरू खेतमा परिणत भइसकेका थिए । हाम्रो बारी-खेत अलिक पिछाड भएकाले नहरको पानीले पनि पर्याप्त पुग्दैनथ्यो ।

पानी र कुलोकै निम्ति अधिकांश झगडा हुन्थे । दिनमा लगाएको पानीले खेत भिजाउन गाह्रै हुन्थ्यो । बस्ती नभएको क्षेत्र भएकाले बेलुका अबेरतिर जसले आफ्नो खेतमा पानी सोझ्यायो उसैकोमा रातभरि लाग्थ्यो पनि । जग्गादेखि ७-८ सय मिटर पर घर भएकाहरू राति ९-१० बजेतिर गएर खेतमा पनि लगाएर आउँथे । यो कुरा हामीले चाल पाएका थियौं ।

असोजको महिना थियो । खेतमा लगाएका धानका बाला नुहिसकेका थिए । आफ्नो भने पिछाड भएकाले भर्खर फूलखेल्न सुरु भएको थियो । यो समय एकपटक राम्रोसँग भिजाइदिन पाए राम्रो दाना लाग्ने सम्भावना हुन्थ्यो । त्यसैका लागि पानी लगाउन जाने योजना बन्यो । बेलुका अलिक चाँडै खाना खाएँ र सुतेँ । सर्त थियो, आमा सुत्ने बेलामा उठाइ दिने, अनि म पानी लगाउन खेतमा जाने ।

यसै पनि घरधन्दा सक्दा आमाहरू सुत्ने समय १०-११ बजिहाल्छ । आमाले उठाइदिनु भयो । समय हेर्नका लागि घडी थिएन । तारा र चन्द्रमालाई हेरेर अनुमान लगाउनु पर्थ्यो । म हातमा कोदाली र एउटा लट्ठी लिएर खेततिर लागें । टर्चलाइट लिएर जान वर्जित थियो । टर्च बालेपछि अरुले थाहा पाउँछन् । त्यसैले सुरक्षाका लागि हातमा लट्ठी, पानी खोल्न र थुन्नका लागि कोदाली ।

प्रायः घरहरूमा बत्ती निभेका थिए । कुनै कुनै घरबाट कुकुरको चर्को आवाज सुनिन्थ्यो । हुचिल र लाटेकोसेराको आवाजले रातलाई भयानक बनाइरहेका थिए । जरुवा पानीको स्रोतसँगै नहरको पानी मिसाउन सके अलिक धेरै पानी खेतमा पुर्‍याउन सकिन्थ्यो, त्यसैले नहरको पानी खोल्सामा खसाल्दै अघि बढेँ । खोल्साका बुट्यानहरू अँध्यारो रातमा अर्कै आकृतिमा देखिँदा मन झसङ्ग हुन्थ्यो । हिम्मत गरेर अगाडि बढें ।

अरू पनि कोही त्यही समयमा पानी लगाउनकै लागि आएका छन् कि चनाखो हुनै पर्थ्यो । अरुका खेतमा सोझ्याइएका कुला थुन्दै र आफ्नोतिर पानी सोझ्याउँदै अघि बढेँ, बडो सतर्कताका साथ ।

गल्ली र खोल्साका अँध्यारो काटेर जुडीखेतमा पुगेको थिएँ, कुकुर र चराहरूका आवाज पनि हराइसकेका थिए । कतै, कतै जुनकिरीको उज्यालो बाहेक केही थिएन । आचानक कानमा टिनिनिन्न्, टिनिनिन्न को एकतमासको आवाज ठोकिन आयो । निकै परबाट आएजस्तो लाग्ने त्यो आवाजले मन र मस्तिष्कमा अनौठो तरङ्ग ल्याइदियो । चकमन्न रात, कहीं कतै कुनै आवाज नभएको सुनसान अवस्थामा अचानक आएको त्यो आवाजले बाल्यकालको स्मृतिलाई झल्याँस्स बनाइदियो ।

‘माल्ढुङ्गा मुनिको त्यो सफा ठाउँमा को बस्छ, काका ? भूत बस्छ । भूतले राति पूजा गर्छ ।’

यो घण्टीको आवाज त्यही भूतले पूजा गरेको हो ! मुटुको धडकन बिस्तारै बढ्न थाल्यो । जिउ जिरिङ्ग गर्‍यो । शरीरभरि काँडा उम्रिए ।

लौ आज भूतको सिकार हुने भइयो ! जति, जति पाइला अगाडि बढ्दै जान्थे, उति, उति आफू मृत्युतिर धकेलिइरहेको अनुभुति मनमा भइरह्यो । म मर्दै छु ! भूतले आज मलाई खाँदै छ ! भन्ने त्रासले फर्केर घरतिर भाग्न आग्रह गरिरहेको थियो । पानी लगाउन नसके घरमा खाइने गालीको त्रास अर्कोतिर थियो । विद्यालयमा पढाउँदा शिक्षकहरूले भूत भन्ने हुँदै हुन्न भन्ने गरेको जिकिरले मनमा हिम्मत दिइरहेको थियो । डर, हिम्मत र कामको जिम्मेवारीका बीच द्वन्द्व चल्यो ।

पानी खोल्न कुलामा पसें । घण्टीको आवाज बन्द भयो । फेरि खेतकै बाटोमा आएँ । आवाज पुनः उसै गरी एकतमाससँग आइरह्यो । माल्ढुङ्गो र आफ्नो दूरी ३ सय मिटर जति हुँदो हो । आवाज त्यहीँबाट आएको हो भन्नेमा आफू पूर्ण विश्वस्त भएको थिएँ । अर्को मुहान आएपछि फेरि कुलामा पानी खोल्न पसें । उसै गरी आवाज बन्द भयो । कुलामा पस्दा गहिरो भएकाले आवाज नसुनिएको होला, मनले यसै भन्यो । फेरि खेतको बाटोमा आएँ । आवाज उसै गरी दोहोरियो । 

अर्को मुहान आउन दूरी लामै परेछ कोदाली बोकेको बायाँ हातले पालो खोज्यो । दायाँ हातमा कोदाली र बायाँ हातमा लट्ठी साटिए । अचानक त्यो घण्टीको आवाज पनि बन्द भयो । मस्तिष्कले साथ दियो । फेरि कोदाली बायाँ हातमा नै लिएँ । घण्टीको आवाज दोहोरियो । पाइताला रोकिएनन् । आवाजलाई कानले पछ्याइरहे । बिस्तारै निहुरिएरै हेर्दै र सुन्दै हिँडें । 

नुहेका धानका बाला कोदालीमा ठोक्किँदा रातको त्यो शून्यतामा आएको आवाज टाढाबाट आएको घण्टीको आवाज जस्तै लाग्दो रहेछ । 

अहो ! भूतले बजाएको घण्टी त आफ्नै हातमा पो रहेछ ।

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार ७:१३:६,   अन्तिम अपडेट : जेठ २२, २०७८ शनिबार ११:१६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया