रेणुकाको राजनीतिक फड्को : उपमेयरमा ९९ भोटदेखि केन्द्र सरकारको राज्यमन्त्रीसम्म

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गर्दै १७ सदस्यीय मन्त्रिमण्डल बनाए । जसमा नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ५ मन्त्री र जनता समाजवादी पार्टीबाट १२ मन्त्री नियुक्त भए ।

जसपाबाट मन्त्री खानेहरुमा अधिकांश प्रदेश २ बाट रहेका छन् । सोही समूहमा नयाँ नाम पनि मन्त्रीको सूचीमा देखियो । उनी थिइन्, महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ ।

गुरुङ नेपाली राजनीतिमा एउटा भाग्यमानी महिलाको रुपमा सामाजिक सञ्जालमा छाएकी छन् । राजनीति सुरु गरेको चौथो वर्षमै केन्द्रीय सरकारमा मन्त्री बन्न पाएको भन्दै उनको चर्चा चुलिएको हो । 

गत स्थानीय निर्वाचनमा टोखा नगरपालिको उपमेयर पदमा पराजित उम्मेदवार हुन् राज्यमन्त्री गुरुङ । तत्कालीन संघीय समाजवादी फोरमबाट उनी उपमेयरको उम्मेदवार बनेकी थिइन् । 

रोचक कुरा त उनले उपमेयरको चुनावमा १ सय मत पनि ल्याउन सकेकी थिइनन् । टोखाको उपमेयरका लागि गुरुङले जम्मा ९९ मत ल्याएकी थिइन् । 

अझ रोचक कुरा त उनले राजनीति सुरु गरेको मात्रै चार वर्ष भएको छ । उनी स्थानीय तहको निर्वाचन अघिमात्रै फोरमको टोखा नगर अध्यक्ष बनेर राजनीतिमा प्रवेश गरेकी थिइन् । 



स्थानीय चुनावमा पराजित भएपछि गुरुङलाई तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसदको उम्मेदवार बनाएका थिए । जसमार्फत उनी संघीय सांसद बन्न सफल भएकी थिइन् । 

तत्कालीन फोरम र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टीमा उनी यादव समूहमै रहेकी थिइन् । तर, संसद विघटनपछि जसपामा देखिएको ध्रुवीकरणमा उनी अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा खुलेर लागिन् । 



जसपाका एक केन्द्रीय सदस्यका अनुसार यादव पक्ष छाडेर ठाकुर पक्षमा लागेकै भएर गुरुङले राज्यमन्त्री हात पारेकी हुन् । 

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार ९:६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया