कृषि मन्त्रालयबाट बिदा हुँदै अर्यालले भनिन् : धेरै काम सम्पन्न गर्न सकेकोमा सन्तोष महसुस भएको छ
कृषि मलको सहज उपलब्धतामा ध्यान दिन आग्रह

निवर्तमान कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषि मन्त्रालयको साख कृषि मलको सहज उपलब्धतामा जोडिएकाले अभाव हुन नदिन सबै लाग्न अनुरोध गरेकी छिन् । 

मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै निवर्तमान कृषिमन्त्री अर्यालले मल बहुसरोकारको विषय भएकाले आपूर्तिमा निरन्तर अनुगमन गर्न आग्रह गरिन् । सरकारले किसानलाई दिने अनुदान पनि बढाएको उल्लेख गर्दै उनले अनुदानको रकम किसानले नपाउने अवस्था हुन नहुने बताइन् । उनले भनिन्, ‘कृषि मन्त्रालय भनेपछि मल छ कि छैन, यो सरोकारको विषय रैछ । सरकारले पनि अर्ब बढाएर १३ अर्बमा पुर्याएछ, अनुदानको निम्ति किसानलाई यो सानो पैसा त होइन नि ?’ 

सरकारले किसानलाई राहत होस् भनेर अनुदानको प्रबन्ध गरेको तर उपभोग गर्न नपाउने खालको परिस्थिति सिर्जना भयो भने दुःखद हुने उनले बताइन् । ‘हामीले मिहिनेत बेस्सरी गर्या छौँ । निगरानी गरिरहनुपर्नेछ । कहीँनिर थोरै कमजोरी हुनेबित्तिकै यता समस्या खडा हुन्छ,’बिदाइ समारोहमा बोल्दै उनले भनिन्, ‘मैले निर्देशनको रुपमा होइन, एउटा जिम्मेवार नागरिकको हैसियतले भन्छु, मलको अभाव नहोस् । हामीले जे प्रोसेस अगाडि बढायौ,' त्यसलाई तपाईंहरुले बिन्दुमा पुर्याउनुभयो भने गुनासो नआउला ।’ 

निवर्तमान कृषिमन्त्री अर्यालले किसान आयोगले पार्टीको घोषणापत्रमा बोलेका कुराहरुलाई सरकारको नीति, कार्यक्रममा सम्बोधन गराउने र किसानका समस्यालाई समाधान गराउने दिशातर्फ अघि बढ्न पनि आग्रह गरिन्​ । 

निवर्तमान कृषिमन्त्री अर्यालले जिम्मेवारीमा कति समय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्‍ने कुराको महत्व हुने भन्दै आफूले गर्न खोजेको धेरै काम सम्पन्न गर्न सकेकोमा सन्तोष महसुस गरेको बताइन् । अर्याल गत पुसमा कृषिमन्त्रीमा नियुक्त भएकी थिइन् । 





  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १७:१०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया