ठाकुर समूहलाई निकालेपछि कस्तो बन्ला प्रदेश २ सरकार ?
कांग्रेस र माओवादीलाई भित्र्याउने योजनामा मुख्यमन्त्री

प्रदेश २ मा साढे तीन वर्ष अगाडि तराई-मधेस केन्द्रित दलहरुबीच गठबन्धन गरेर जोडिएको साइनो आइतवारदेखि औपचारिक रुपमा तुहिएको छ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टीले २०७४ फागुनमा गठबन्धन गरेर प्रदेश २ मा सरकार बनाएका थिए। तर मुख्यमन्त्री लालबाबु राउतले  तत्कालीन राजपाबाट मन्त्री बनेकाहरू जितेन्द्र सोनलसहित ४ जनालाई बर्खास्त गरेपछि दुई दलको सहकार्यमा पनि अब पूर्णविराम लागेको छ।

प्रदेश २ को सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राउत दोस्रो पटक संसदीय दलमा चयन भएलगत्तै उनले जसपा अध्यक्ष महन्थ ठाकुरनिकट चार मन्त्रीलाई बर्खास्त गरेका थिए।

केन्द्रमा देखिएको विवादका कारण उपेन्द्र यादव समूहले ठाकुर समूहलाई सरकारबाट बिदा गरेको हो। तर जसपाका शीर्ष नेताहरुबीच केन्द्रीय राजनीतिमा भएको उथलपुथलका कारण प्रदेश २ को सरकारमा सिधा असर परेको छ।

सत्ता समीकरणलाई लिएर पार्टीमा भएको विवादले दुई गुटबीच विवाद चर्किएको थियो। जसपाका प्रथम अध्यक्ष ठाकुरको नेतृत्वमा एउटा गुट र अर्का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा अर्को गुट बनेको थियो।

ओली सरकारको बदला प्रदेश २ मा



मधेस आन्दोलनको माग सम्बोधन गर्ने शर्तमा ठाकुर समूहमा संघीय सरकारमा सहभागी भएको थियो। त्यही ‘बटमलाइन’अनुसार जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिए। 

मधेस आन्दोलनदेखि उठेका माग पूरा गरिरहेकाले ठाकुर समूह ओली सरकारमा जाँदा त्यसको ठीक विपरीत ध्रुवमा उभिएको थियो याद समूह।



यादवको यही लविङविरुद्ध २१ जेठमा ठाकुर समूहबाट १० जना नेता ओली सरकारमा मन्त्री बनेपछि जसपा दुई टुक्रा त भयो नै उनीहरुबीच एकअर्कालाई राजनीतिक रुपमा सिद्धयाउने होडबाजी पनि चलेको छ।

आफूहरुलाई लत्याउँदै ठाकुर समूह संघीय सरकारमा गएपछि त्यसको बदला लिन यादव अहिले सक्रिय छन्। उनले ठाकुरसँग बदला लिन प्रदेश २ सरकारलाई छाने। जहाँ उनका विश्वासपात्र लालबाबु राउत मुख्यमन्त्री थिए।

प्रदेश २ मा सुरुमा राजपा र जसपा मिलेर बनेको गठबन्धनको सरकार दुई दल मिलेपछि बहुमतीय थियो। तर राउत नेतृत्वको बहुमतीय सरकार अब फेरि गठबन्धनमा परिणत भएको छ। ठाकुर समूहका मन्त्री हटाइएपछि मुख्यमन्त्री राउतले कांग्रेस र माओवादीलाई सत्तामा तान्ने कोसिस गरिरहेका छन्। 

गत वर्ष ओली सरकारले दल फुटाउने अध्यादेश ल्याएपछि रातारात मिलेका मधेसका यी दुई दलले एकता महाधिवेशनसमेत नगरी अलग यात्रा थालेका छन्। दुई दल मिलेपछि गठबन्धनबाट बहुमतमा परिणत प्रदेश २ को सरकार एक वर्षमै बखेडा बढेर गठबन्धनमै परिणत भएको छ।

ठाकुर समूह उपेन्द्र यादवको इच्छाविपरीत ओली सरकारमा सहभागी भएपछि प्रदेश २ मा सहकार्य तोडिएको हो। 

किन तोडे गठबन्धन ? 

प्रदेश २ मा पूर्व राजपाका सबै मन्त्रीलाई हटाइएको छैन। उपेन्द्र समूहलाई केन्द्र र प्रदेशमा साथ दिएका दुई मन्त्रीलाई हटाइएको छैन। यसको सीधा अर्थ हो, उपेन्द्र समूहको पार्टी कब्जा रणनीति। 

ओली सरकारलाई साथ दिएको आरोपमा उपेन्द्र समूहले सुरुमा ठाकुरसहित चार जनालाई हटाइयो। त्यसपछि ठाकुर समूह ओली सरकारमा सहभागी भएलगत्तै यता उपेन्द्र समूहले प्रदेश २ मा ठाकुरनिकट मात्रै ४ मन्त्रीलाई बर्खास्त गर्‍यो। 

जसपा स्रोतका अनुसार केन्द्रमा पनि कार्यकारिणी समितिको बहुमतले शीर्ष नेताहरुलाई कारबाही गरेको यादव समूहले प्रदेश समितिको बहुमतबाट मन्त्रीहरुलाई बर्खास्त गर्‍यो । जुन खेलमा उपेन्द्र यादव आफैँ ‘मुख्य खेलाडी’ बने। 

प्रदेश २ मै पूर्व राजपा बलियो रहेकाले यहीँबाट ठाकुर समूहलाई सिध्याउने रणनीति उपेन्द्र समूहले बनाएको छ। उनी कुनै पनि हालतमा गठबन्धन तोड्न चाहन्छन्।  उनले पूर्व राजपाबाट मन्त्री बनेका रामनरेश राय र नवलकिशोर साहलाई पनि कारबाही गर्थे । तर त्यसो नगरी ठाकुरनिकट मानिने मन्त्रीहरुलाई मात्रै बर्खास्त गरे।

अब के हुन्छ ?

प्रदेशमा मुख्यमन्त्री राउतको नेतृत्वको सरकारले पूर्व राजपासँग गठबन्धन तोडेपछि नयाँ सरकार निर्माण अभियान सुरु भएको छ। विपक्षी दलहरूलाई समेटेर मुख्यमन्त्री राउतकै नेतृत्वमा अर्को सरकार बनाउने कसरत सुरु भएको हो। त्यसका लागि उनले अहिले कांग्रेस र माओवादीका नेतासँग छलफल गरिरहेका छन्। 

नयाँ सरकार निर्माणको माहोल बनाउन मुख्यमन्त्री राउत मात्रै नभएर जसपा अध्यक्ष यादवसमेत लागि परेका छन्। यसका लागि उनी केन्द्रका नेताहरुसँग पनि भेटघाट र छलफल गरिसकेका छन्।

केही दिन मात्रै अगाडि उनी कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिसँग प्रदेश २ को सरकारबारे छलफल गरेका थिए। जहाँ उनलाई कांग्रेसले भनेको थियो, 'तपाईँको पार्टीले धेरै समय नेतृत्व गर्‍यो, अब कांग्रेसलाई नेतृत्व दिएर सरकार बनाउनुस्। 

तर यसमा उनी राजी भएका छैनन्। त्यसैले मुख्यमन्त्री राउतकै नेतृत्वमा सरकार बनाउन आफैँ जनकपुरमा बसेका छन्। यो बसाइका क्रममा उनी विपक्षी दलका नेताहरुसँग छलफल गरेर माहोल बनाइरहेका छन्। 

यता मुख्यमन्त्री राउतसहित अन्य नेताहरु पनि संसदको अंक गणित मिलाउन जुटेका छन्। जसमा उनी खासगरी कांग्रेसलाई फकाएर नयाँ सरकार बनाउने रणनीतिमा छन्। कारण-त्यहाँ सरकार निर्माणमा कांग्रेस निर्णायक बन्न पुगेको छ।

संसदको अंक गणित 

प्रदेश २ मा १०७ प्रदेश सांसद छन्। तर माओवादी केन्द्रले ४ जनालाई पदमुक्त गरेर फेरि १ जना नियुक्त गरेपछि यो संख्या १०४ हुन पुगेको छ। यसका अलावा प्रदेश २ मा कांग्रेसका १९ र पूर्व सपाका ३० र पूर्व राजपाबाट सभामुखसहित २५ जना सांसद छन् । 

तर पूर्व राजपाबाट अहिलेसम्म ४ जना सांसदहरु उपेन्द्र यादवको कित्तामा गइसकेको स्रोत बताउँछ। जसले कांग्रेसलाई मिलाएर अर्को सरकार बनाउन झन् सजिलो भएको छ। पूर्व राजपाबाट आएका ४ र पूर्व सपाका सांसदहरु मात्रै जोड्दा सांसद संख्या ३४ पुग्छ। 

यसमा कांग्रेसको थप्यो भने यो संख्या ५३ पुग्छ, जुन सरकार बनाउन ठ्याक्कै पुग्छ । तर केन्द्रीय समीकरण अनुसार उपेन्द्र समूहसँग माओवादी पनि यहाँ जोडिएको छ, जसलाई जोड्दा मुख्यमन्त्री राउत झन् मजबुत हुन्छन्। 

तर पनि यहाँ निर्णायक कांग्रेस नै देखिएको छ। यदि कांग्रेसको सांसद संख्या घटाउने हो भने पूर्व सपा र माओवादीको सांसद जोडेर ४२ सांसद पुग्छन्, जसले नयाँ सरकार बनाउन सम्भव हुँदैन।

  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १९:७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया