अघि बढेन कोरोना खोप खरिद प्रक्रिया : अनुदानमै ३२ लाख ४८ हजार डोज

निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जेठ १४ गते आयोजित एक भर्चुअल कार्यक्रममा अबको साता दश दिनमा खोपमा ‘ब्रेक थ्रु’ हुने बताएका थिए । उक्त घोषणा गरेको केही दिनमै मन्त्री ज्ञवालीको बहिर्गमन भयो । उनको ठाउँमा रघुवीर महासेठले जिम्मेवारी सम्हालेका छन् । 

यतिबेला उनी मन्त्रालयको आन्तरिक कुरा बुझ्नै व्यस्त छन् । निवर्तमान मन्त्री ज्ञवालीले चीन र अमेरिकाबाट ५०-५० लाख डोज खोप किन्ने प्रक्रिया अगाडि बढेको बताएका थिए । त्यस्तै अमेरिका, रुस, अस्ट्रेलिया लगायतका देशसँग पनि खोपका लागि तीव्र गतिमा छलफल चलिरहेको उनको भनाइ थियो ।

खोप अनुदानका लागि विभिन्न देश तथा एनजीओसँग आग्रह गरेको सरकारले खोप किन्नका लागि भने चीन र अमेरिकासँग पहल गरेको थियो । नेपालले भारतबाटै आवश्यक पर्ने खोप किन्न खोजेको थियो, तर भारतमा खोप उत्पादन गर्ने कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ को अन्त्यसम्म खोप पाउने आश नगर्न जवाफ फर्काएपछि विकल्पका रुपमा चीन र अमेरिकालाई ताकेता गर्दै आएको हो ।

ती देशबाट पनि खोप किन्ने विषयमा भने कुनै प्रगति भएको छैन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिलेसम्म थप प्रगति केही नभएको बताइन् । नेपालले अनुदानमा र किन्ने गरेर दुवै तरिकाले कूटनीतिक पहल गर्दै आएको छ । तर, अनुदानको खोपका लागि केही प्रगति भए पनि खरिद गर्ने खोपका विषयमा थप केही पनि प्रगति नभएको उनको भनाइ छ ।

‘सम्बन्धित देश र खोप निर्माता कम्पनीसँग कूटनीतिक पत्र पठाएका छौं । उताबाट कुनै पनि जवाफ आएको छैन । जवाफ नआउँदासम्म हामीले थप केही पनि गर्न सक्दैनौं’, उनले भनिन् ।  

राष्ट्रपतिको सक्रियता



राष्ट्रपति विद्यादेवी भण्डारीले नै खोपका लागि सक्रियता देखाएकी थिइन् । उनले चीनका राष्ट्रपतिसँग टेलिफोन संवाद गरिन् भने भारत, अमेरिका, रुस र बेलायतका राष्ट्रप्रमुखलाई पत्र पठाइन् । जसमध्ये अमेरिकाले खोप दिने घोषणा गरिसकेको छ भने चीनबाट १० लाख डोज खोप अनुदानमा पाइसकेको छ । 

त्यस्तै डेनमार्कले पनि खोप दिने चासो देखाएको छ । अमेरिकाले नेपालसहित एसियाका १६ देशलाई ७० लाख डोज खोप दिने घोषणा गरेको छ । त्यसमा नेपालले कति पाउने भन्ने खुलेको छैन ।



अमेरिकाले कोभ्याक्समार्फत् दिने भनेको खोपको नेपाल पठाउने मिति अबको साता घोषणा हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यही साता कति डोज पठाउने र कहिले पठाउने भन्ने घोषणा हुनसक्ने बताए । ‘हाम्रो अनुमान ७ लाख डोज आउँछ कि भन्ने छ । तर, घोषणा नहुँदासम्म केही भन्न सकिने अवस्था छैन’, प्रवक्ता डा. पौडेलले भने ।

अमेरिकाको जोनसन एन्ड जोनसोन कम्पनीले खोप दिने इच्छा जाहेर गरेको थियो । सोही आधारमा नेपालले दिनसक्ने डोज, पठाउन सकिने मिति र मूल्यको विषयमा जानकारी दिन भन्दै पत्र पठायो । नेपालले पठाएको पत्रको कुनै पनि जवाफ आएको छैन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले अहिलेसम्म कुनै जवाफ नआएको र पत्रको जवाफको प्रतीक्षामा रहेको बताइन् ।

चीनबाट २० लाख डोज किन्ने प्रक्रिया

नेपालले चीनबाट ५० लाख डोज खोप खरिद गर्ने प्रस्ताव गरेको थियो । तर, तत्काल २० लाख डोज दिन सकिने बताएपछि खोप खरिदको वार्ता अन्तिम चरणमा पुगेको लम्सालले बताइन् । 

स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरीले पत्रको सकारात्मक जवाफ आए पनि नेपाललाई दिनसक्ने डोज, पठाउन सक्ने मिति र मूल्यको विषयमा कुनै जानकारी नआएको बताए ।

चीनले खोप खरिदका लागि नन् डिस्क्लोजर एग्रिमेन्ट अर्थात् गोप्य सम्झौता गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, विभागबाट गोप्य सम्झौता हुन नसक्ने भन्दै स्वास्थ्य मन्त्रालयमा पत्र पठाइएको प्रमुख डा. तिंकरीले बताए ।

उक्त पत्रको जवाफ नआएकाले थप प्रक्रिया अगाडि बढ्न नसकेको उनको भनाइ छ । ‘यसअघि हामीले भारतबाट खोप खरिद गर्दा त निकै विवाद भयो । यस्तो बेला गोप्य सम्झौता गरियो भने झन के-के होला त्यही भएर मन्त्रालयलाई पत्र पठाएका थियौं । त्यताबाट केही जवाफ आएको छैन ।’ प्रमुख तिंकरीले भने । 

डेनमार्कबाट आउने खोप अनिश्चित

डेनमार्कले पनि नेपाललाई खोप दिने भनिएको छ । तर, कति डोज दिने र कहिलेसम्म दिने भन्ने अहिलेसम्म यकिन नभएको प्रमुख तिंकरीले बताए ।  

डेनमार्कले १४ लाख डोज एष्ट्राजेनिकाको खोप दिने भनिएको थियो । जुन प्रस्ताव डेनमार्क सरकारले नै गरेको थियो । तर, कति डोज दिने भन्ने अहिलेसम्म यकिन नभएको बताए । 

‘खोप दिने प्रस्ताव डेनमार्कले गरेको थियो । हामीले १४ लाख डोज चाहिन्छ भनेका छौं र युनिसेफमार्फत पत्र पठाएका छौं । उताबाट भने कति डोज दिने यकिन भइसकेको छैन,’ डा. तिंकरीले भने । 

खोप कति आउने भन्ने यकिन नभएपछि डेनकार्मबाट खोप आउने भने पक्का भएको उनको भनाइ छ । 

नेपालले अहिलेसम्म कति खोप पायो ?

नेपालले गत माघमा पहिलो पटक भारतबाट १० लाख डोज खोप पाएको थियो । त्यसपछि भारतीय सेनाले नेपाली सेनाको लागि भन्दै थप एक लाख डोज खोप दियो । भारतबाटै नेपालले २० लाख डोज खोप किन्ने प्रक्रिया अगाडि बढाए पनि १० लाख मात्रै खरिद गर्न सफल भयो । भारतले खोप उपलब्ध गराउन नसक्दा अहिले साढे १३ लाख मानिसले कोभिशिल्डको दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।

नेपालले कोभ्याक्स कार्यक्रममार्फत् ३ लाख ४८ हजार डोज कोभिशिल्ड खोप नै पायो । त्यसपछि चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दियो । अहिले नेपालले थप १० लाख डोज खोप चीनबाटै अनुदानमा पाएको छ । त्यसरी हेर्दा नेपालले अहिलेसम्म ४२ लाख ४८ हजार डोज खोप पाइसकेको छ । 

नेपालले केही दिनभित्रमा अमेरिका र डेनमार्कबाट पनि अनुदानको खोप पाउनेछ । तर, ती देशबाट कति खोप पाउने भन्ने अहिले नै एकिन भइसकेको छैन ।

  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार ५:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया