'विदेशी लगानीको नयाँ नीति कालोधन भित्र्याउन बनाइएको होइन'

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले 'विदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन विनियमावली-२०७८' कालोधन भित्र्याउने सहजताका लागि नबनाइएको बताएका छन्। 

लगानी बोर्डमा केही वर्ष काम गरेपछि राष्ट्र बैंक सम्हालिरहेका यो विनियमावलीले कालोधन भित्र्याउन सहजीकरण नगर्ने दाबी गरेका हुन्। मंगलबार भर्चुअल माध्यमबाट विनियमावली सार्वजनिक गर्दै यस्तो बताएका हुन्। 

'यो विनियमावलीको मस्यौदा आएपछि सञ्चारमाध्यमले कालोधन भित्र्याउन सहयोग गर्यो भन्‍ने प्रश्न उठाएका थिए। तर कुरा त्यस्तो होइन', उनले भने, 'मस्यौदाका लागि संकलित सुझावका आधारमा हामीले यो विनियमावली ल्याएका हौँ। कालोधन भित्र्याउन सहज गरिएको छैन।'

उनले विदेशी लगानी भित्र्याउन सहज गरिएको बताए। 'पहिलेको व्यवस्थाभन्दा कुनै कुरामा सजिलो गरिएको छैन। पुरानै नियम अनुसारका कागजपत्र बुझाउनुपर्छ', उनले भने, 'हामीले विदेशी लगानी भित्र्याउने विधिलाई मात्रै सहज बनाएका हौँ। छिमेकीसहित अन्य देशको भन्दा कमजोर नियम हामीले बनाएको कुरा बेठीक हो।'

गभर्नर अधिकारीले यसअघि पटक पटक विदेशी लगानी ल्याउन साह्रै कठिन भएको गुनासो आएपछि केही सहजीकरण गरिएको बताएका छन्। 'विदेशी लगानी भित्र्याउन अप्ठ्यारो र झन्झटिलो व्यवस्था गरिएको, लगानी स्वीकृति प्रक्रिया झनै झन्झट लाग्दो भयो भन्ने गुनासो आइरहेको थियो', उनले भने, 'हामीले ती सबै गुनासोलाई सम्बोधन गर्ने गरी धेरैवटा निर्देशनलाई एकै ठाउँ ल्याएर विनियमावली बनाएका हौँ।'





  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १४:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया