प्रदेश १ मा सरकारको चर्को आलोचना

प्रदेश सभाको बर्खे तथा बजेट अधिवेशनको दोस्रो बैठकमा सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

सरकारले कोरानो नियन्त्रणमा काम गर्न नसकेको तथा  भौतिक पूर्वाधारमा बजेट कम छुट्याएको भन्दै सरकारको आलोचना गरेका छन् ।

शून्य समयमा बोल्दै सांसद प्रताप प्रकाश हाङ्गामले तप्लेजुङमा तत्काल अक्सिजन प्लान्ट निर्माणका लागि १ करोड छुट्याउन माग गरे ।

‘संसद विकास कोषको १ करोड किन नदिएको, हामीले पाउनुपर्छ,’ उनले भने, ‘त्यो पाइएन भने संसदमा ऐतिहासिक घटना हुनेछ र त्यो माननीयप्रतिको मानहानी हुन्छ ।’

शून्य समयमा उदयपुरका सांसद नारायणबहादुर मगरले सरकारको कारण अधिकांश खानेपानी योजनाहरु अलपत्र अवस्थामा पुगेको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ३० करोड रकम छुट्याएकोमा न्यायोचित वितरण नहुँदा योजनाहरू अलपत्र पर्ने अवस्था आएको बताए ।



मन्त्रालयले न्यायोचित रकम वितरण गर्न नसकेको बताउँदै न्यायोचित वितरण गर्न माग गरे ।

उनले ओखलढुंगामा ९ करोड, झापामा ८ करोड, भोजपुरमा ७ करोड, सुनसरी र धनकुटा जिल्लामा २/२ करोड दिइएको थियो तथा खोटाङ र पाँचथरमा ५०/५० लाख छुट्याइएको बताए ।



‘यस्तो बजेट विनियोजन न्यायोचित र समानुपातिक भएन,’ उनले भने, ‘यस्तो अवस्थामा अधिकांश खानेपानी आयोजनाका कामहरू ऋणपत्र परेका छन् ।’

आगामी दिनमा यस्तो अवस्था आउन नदिन आग्रह गरे । उनले जनता आवास कार्यक्रमका भवन पनि अधुरै रहेको सदनलाई जानकारी गराए ।

अर्का ताप्लेजुङकै सांसद बलबहादुर साम्सोहाङले ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल भनेर नामकरण गरिएको विरोधमा स्थानीय आन्दोलनमा रहेकाले त्यो निर्णय तत्काल परिवर्तन गर्न आग्रह गरे ।

पाथिभराबाट फर्किने क्रममा विमानस्थल दुर्घटना भएको विषयलाई लिएर विमानस्थलको नामकरण नै परिवर्तन गर्नुपर्ने आधार र प्रमाण नभएको स्पष्ट पारे । प्यारो नाम सुकेटारको नाममा मात्र अन्याय नभएको तर रवीन्द्र अधिकारीमाथि पनि अन्याय गरेको उनले आरोप लगाए ।

धनकुटाकी प्रदेश सभा सदस्य लीला सुब्बाले बजेटमा विभेद हुन नहुने बताइन् । उदयपुरकी सांसद सञ्जाकुमारी दनुवारले गत वर्ष झुक्याएको सरकारले यो वर्ष चित्त बुझाउने गरी बजेट ल्याउनेमा आशा व्यक्त गरिन् । पाँचथरकी सांसद सीता थेबेले विमानस्थलको नामको बारेमा असन्तुष्टि जनाइन् ।

कांग्रेसका सचेतक सूयर्माराज राईले चुरे उत्खनन्  हुने विषय आपत्तिजनक रहेको बताए । अहिले नै पानीको अभाव सुरु भइसकेको अवस्थामा सरकारले चुरे उत्खनन् गर्न खोज्नु गलत भएको बताए ।

उनले पर्यावरण जोगाउन आग्रह गरे । सुनसरीका सांसद ज्योति सुब्बाले कोभिडबाट संक्रमितको उपचारमा प्रदेश सरकारको ध्यान जानुपर्ने बताइन् ।

प्रदेश १ सरकारका अर्थमन्त्री टंक आंगुवहांगले बजेटका प्राथमिकता तथा सिद्धान्तहरू प्रस्तुत गरे । सदन बुधबार साढे ११ बजे बस्नेछ ।

  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १५:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया