प्रदेश २ मा प्रतिपक्षले गरे संसद बैठक अवरुद्ध

विपक्षी दलका सांसदहरुले मंगलबार बसेको प्रदेश २ को प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । आफूहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन् । 

बैठक सुरु हुनेबितिकै नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले विरोध गरेका थिए । उनीहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका थिए । 

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र कुमार सिंहले योजना छनोट गर्नका लागि सिफारिस समिति बनाइए पनि आफूहरुको योजना समावेश नगर्नु सांसदहरुको अपमान रहेको टिप्पणी गरे । 

त्यस्तै, नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले आफूहरुसँग समन्वय गरी योजना छनोट गरेर अख्तियारी पठाउने निर्णय भए पनि सरकारले आफूखुसी योजना बनाएर सशर्त अनुदानको बजेट पठाएकोमा आपत्ति जनाएका छन् । 

उनले भने, ‘आफूहरुसँग योजना माग गरिएपनि पछि गएर ती सबै योजनालाई रद्दीको टोकरीमा फालेर प्रदेश सरकारले सशर्त अनुदान पठाएको आज मात्रै थाहा पाएँ ।’ उनले प्रदेश सरकारले यस विषयमा ठोस जवाफ नदिएसम्म बैठक अवरुद्ध गर्ने चेतावनी दिए । 

माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार यादवले आफ्नो कार्यकर्ता पाल्ने अभिप्रायले सशर्त अनुदानको बजेटको समेत दुरुपयोग गरिएको आरोप लगाए । त्यस्तै माओवादी केन्द्रका प्रदेशसभा सदस्य शत्रुधन महतोले समेत यसबारेमा मुख्यमन्त्रीले रोष्टममा आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरे । सांसदहरुले पेस गरेको योजना नसच्याइए संसद चल्न नदिने उनको जिकिर थियो । उनले सभामुखलाई रुलिङ्ग गरेर मुख्यमन्त्रीलाई बोलाइदिन आग्रह समेत गरे । 



प्रदेश सभा सदस्यहरुले विरोध जनाएपछि सभामुख सरोज कुमार यादवले पटक-पटक बस्न आग्रह गरे पनि प्रदेशसभा सदस्यहरुले नमान्दा सदनको कारबाही १ घण्टाका लागि स्थगित गरेका थिए ।



  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १६:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया