कर्णाली प्रदेशमा तीन दिन लगातार बैठक अवरुद्ध
फरकधार / २६ जेठ, २०७८

नेकपा एमालेले लगातार रूपमा प्रदेश सभाको बैठक अवरुद्ध पारेको छ । बुधबार दिउँसो दुई बजेका लागि बैठक बोलाइए पनि झण्डै एक घण्टा ढिला गरी बैठक बसेको थियो । बैठकको सुरुमा नै एमालेका सांसदहरु उभिएर विरोध  जनाएपछि बैठक अवरुद्ध भएको हो । 

अदालतले अपराध प्रमाणित गरिसकेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै तत्काल पदबाट हटाउन माग गर्दै एमालेले जेठ २४ गतेबाट बैठक अवरुद्ध पार्दै आएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले माग पूरा नहुञ्जेलसम्म बैठक सञ्चालन हुन नसक्ने बताए । ‘जिम्मेवारी सरकारले यो समस्याको समाधान गर्ने उत्सुकता देखिएन,’ उनले भने, ‘यो बैठक पनि बोलाउनै पर्ने भएका कारणले बोलाएको जस्तो देखिन्छ । हामी आज पनि हाम्रो मागको ठाउँमा छौँ ।’

साथै उनले लकडाउनका बाबजुत होटल, होटलमा आगामी आर्थिक वर्षका लागि योजना छनोटको काम भइरहेको बताए । मन्त्रालय त देखाउने ठाउँ मात्रै भएको उनको आरोप छ ।

एमालेको फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई सहयोग गरेका एमालेको माधव नेपाल पक्षका भौतिक पूर्वाधार एवम् सहरी विकास मन्त्री अम्मर बहादुर थापाको राजीनामा माग गर्दै आएको छ । मन्त्री थापालाई जालसाजी सरकारी कागजात किर्ते मुद्दामा जेठ तीस गते सर्वोच्चमा उपस्थित हुन भनेको छ ।

यस्तै बैठक बस्नु अघि बैठक सञ्चालन गर्ने विषयमा सर्वदलीय बैठक बसेको थियो । बैठक निष्कर्षबिहीन हुँदा प्रदेश सभाको बैठकको कार्यसूची अघि बढ्न सकेन । अवरोध जारी गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको सभामुख राजबहादुर शाहीले बताए । 

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १६:११:१२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया