टुकोनले प्रजिअमार्फत् प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
फरकधार / २६ जेठ, २०७८

राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले यातायातसहित संगठित एवं असंगठित क्षेत्रका श्रमिकका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

टुकोनद्वारा पेस भएको ज्ञापनपत्रमा भनिएको छ- ‘कोरोनाको दोस्रो लहरको महामारीसँगै राज्यद्वारा गरिएको निषेधाज्ञाले गर्दा रोग, शोक र भोकले व्याकुल भएका यातायात क्षेत्रका स्वरोजगार सहित सम्पूर्ण श्रमिकहरूको तपसिल बमोजिमका समस्या सम्बोधन गर्न ट्रेड युनियन महासंघ नेपाल (टुकोन) यो ज्ञापन पत्रमार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

यस्ता छन् टुकोनका माग

- कोरोना महामारीको कारणले गर्दा राज्यद्वारा गरिएको निषेधाज्ञासँगै व्यवसाय सञ्चालन गर्न नपाएर बेहाल भएका यातायात क्षेत्रका सम्पूर्ण स्वरोजगार श्रमिकहरूको निषेधाज्ञा अवधिभरको सवारीसाधनको बैंक ब्याज मिनाहा गराई सवारीसाधन निर्वाध सञ्चालनमा आएको ६ महिनासम्म बैंकको किस्ता बुझाउन सरलीकरण गराइयोस् ।

-निषेधाज्ञाले गर्दा रोजगारविहीन भएर भोकले आक्रान्त भएका यातायात क्षेत्रका सम्पूर्ण सवारी चालक, परिचारक एवं सहचालकहरूलाई तत्काल यथोचित राहतको व्यवस्था मिलाइयोस् ।

- निषेधाज्ञा अवधिमा पनि मापदण्ड निर्धारण गरेर हवाई सेवा सञ्चालनमा ल्याइए जस्तै लामो तथा छोटो दूरीका, दिवा एवं रात्रिकालीन सेवाका सम्पूर्ण सवारी तत्काल सञ्चालनमा ल्याऊन यथोचित व्यवस्था मिलाइयोस् ।

- यातायातसहित सम्पूर्ण क्षेत्रका श्रमिकहरुलाई यो वा त्यो बहानामा नअल्झाइकन  शिघ्रतिशीघ्र सामाजिक सुरक्षा योजनामा अनुबन्धित गराउने व्यवस्था गराउनका लागि रोजगारदाताहरुलाई बाध्य तुल्याइयोस् ।

- संगठित एवं असंगठित क्षेत्रका सबै श्रमिकहरुलाई  कार्यस्थलमा नै पायक पर्नेगरी स्थानीय सरकारद्वारा कोरोना विरुद्धको खोप, औषधोपचार सहित राहतको व्यवस्था तत्काल मिलाइयोस् ।

माथि उल्लेखित सम्पूर्ण मागहरु तत्काल सम्बोधन गरी रोग, शोक र भोकले छट्पटाइरहेका श्रमिकहरुको घाउमा मलम लगाउने काम गरियोस्, अन्यथा श्रमिकहरुको धैर्यताको बाँध टुटेर निम्तन सक्ने समस्याको जिम्मेवार राज्य स्वयं हुनु पर्नेछ ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १८:२२:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया