धनगढीमा खाेप लगाउन तछाडमछाड
फरकधार / २६ जेठ, २०७८

कोरोनाभाइरस विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालनमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले पनि जिल्लाका विभिन्न पालिकामा खोप केन्द्र तोकेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाले खोप केन्द्र तोकेको धनगढी कभर्डहलमा सर्वसाधारण खोपका लागि तछाडमछाड गरिरहेका छन् । पहिलो चरणको खोप लगाउन डराएकाहरू पनि अहिले खोप केन्द्र खोज्दै आउने गरेका छन् ।

खोप लगाउनेहरूको अत्यधिक भीड बढेपछि प्रहरी  व्यवस्थित गर्नमा केन्द्रित भयो ।  वडा प्रहरी कार्यालय धनगढीका इन्सपेक्टर हेमराज भट्टको टोली पनि भीडलाई व्यवस्थित गर्न नसकेर साइड लाग्यो ।

खोपको कार्डमा नाम लेख्ने स्वास्थ्यकर्मीलाई सर्वसाधारणले वरिपरिबाट घेराबन्दी गरे । बजारमा भीडभाड बढ्यो भन्दै निषेधाज्ञा गरिरहेका बेला खोप केन्द्रमा पनि स्वास्थ्य मापदण्डको पालना समेत देखिएन ।

अहिले भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइन लागेको हो । तर स्वास्थ्य कार्यालय कैलालीले भने बालबालिका बाहेक सम्पूर्ण नागरिकलाई खोप लगाएको छ । 

चीन सरकारको दोस्रो पटकको अनुदानमा नेपालले १० लाख डोज खोप प्राप्त गरेको हो । सरकारले यस अघि भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई दिएको थियो । यसपटक भने नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो ।  

पहिलो पटक खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार र अन्य कर्मचारीलाई पनि उपलब्धताको आधारमा खोप लगाइँदैछ । धनगढीमा मंगलबार मात्र २ हजार ९०८ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । कैलालीका लागि २६ हजार डोज आएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

धनगढीकाे कभर्डहलमा खाेप लगाउनेकाे भीड तस्बीरमा :

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १९:९:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया