काठमाडौं महानगरमा दुई दिनमा १८ हजार बढीले लगाए कोरोना खोप

काठमाडौं महानगर क्षेत्र भित्रका ३२ स्थानमा ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ जना सहभागी भएका छन् । पहिलो दिनको तुलनामा दोस्रो दिन १ हजार ९४ जना बढी सहभागी भएको महानगरले जनाएको छ । 

खोप अभियानको पहिलो दिन ८ हजार ७४७  जना सहभागी भएका थिए भने दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । 

पहिलो दिनको खोप कार्यक्रममा ४ हजार ४१९ पुरुष र ४ हजार ३२८ जना महिला सहभागी थिए । दोस्रो दिन ४ हजार ८९३ पुरुष र ४ हजार ९८४ महिला सहभागी भएका विभागले जनाएको छ । 

‘दोस्रो दिन दोस्रो डोज लिन छुटेका थप ४ सय ७५ सहित ९ हजार ८ सय ४१ जना खोप कार्यक्रममा सहभागी भएका छन्,’ कुँवरले भने, ‘काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यज्युको निर्देशन अनुरुप खोप अभियानलाई थप प्रभावकारी बनाउन उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन् भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोल र घरदैलोमै पुगेर अभियानबारे जानकारी गराउने कार्य भइरहको छ ।’ 

कुँवरले पाँच दिनमा १ लाख बढीलाई खोप कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको भन्दै सो समूहका सबै महानगर क्षेत्र भित्र बसोवास गर्ने सबै नागरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गरे ।





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार ८:११:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया