ओली क्याबिनेटमा प्रदेश २ को बर्चस्व, संघीय सरकारमा तराई-मधेसको पकड

नेकपा एमालेमा विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र आजसहित दुई पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका छन्। ‌ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेपछि प्रदेश २ र तराई मधेसका मन्त्रीहरुको बर्चस्व संघीय सरकारमा देखिएको छ। अर्थात् प्रदेश २ बाटै करिब ५६ प्रतिशत (बहुमत) मन्त्री भएका छन्। 

नेकपा एमाले र राजपाका नेताहरुसहितलाई उनले मन्त्री बनाएका हुन्। जेठ २१ मा ८ मन्त्री र २ राज्यमन्त्री थपेका ओलीले आज एक राज्यमन्त्री र आठ मन्त्री थपेका हुन्। 

ओलीले आफूसँग राखेको गृहमन्त्रालयमा कास्कीका खगराज अधिकारीलाई ल्याएका छन्। सञ्चार मन्त्री निवर्तमान गृहमन्त्री रामबहादुर थापा पत्नी नैनकला थापा बनेकी छन्। 

उता कृषि मन्त्रीमा माओवादी छाडेपछि प्रदेश २ को सांसद पद गुमाएकी ज्वालाकुमारी साहलाई ल्याएका छन्। ओलीले वन मन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई हराएका नारदमुनि रानालाई ल्याएका छन्। अर्कातिर विना विभागीय मन्त्रीका रुपमा मोहन बानियाँलाई आफूमातहत राखेका छन्।

ओलीले उद्योग मन्त्रीमा जसपा नेता राजकिशोर यादवलाई ल्याएका छन्। उनी महन्थ ठाकुरनिकट हुन्। त्यस्तै सामान्य प्रशासन मन्त्रीमा माधव नेपाल पक्षीय नेता योगेश भट्टराईनिकट गणेश पहाडीलाई बनाएका छन्। वन राज्यमन्त्री आशा विक भएकी छन्। 

आज पनि प्रदेश २ बाटै धेरै मन्त्री बनेका छन्। ओलीको २५ सदस्यीय क्याबिनेटमा प्रदेश २ कै १४ जना छन्। संघीय मन्त्रिपरिषद् २५ सदस्यीय हुने संवैधानिक व्यवस्था छ। यो अवस्थामा प्रदेश नम्बर २ बाट बनाएका छन्। 



ओलीले जसपा महन्थ ठाकुर समूहलाई सत्तामा ल्याउने क्रममा यसअघि जेठ २१ मा राजपाबाट राजेन्द्र महतोलाई उपप्रधान बनाएका थिए। उनले २ राज्यमन्त्री र ८ मन्त्री बनाउने क्रममा अधिकांश प्रदेश २ का थिए। 

ओलीले मन्त्री बनाएकाहरुमा राजेन्द्र महतो प्रदेश २ कै हुन्। त्यस्तै ऊर्जामन्त्री शरदसिंह भण्डारी पनि प्रदेश २ कै हुन्। उता खानेपानी मन्त्री अनिलकुमार झा, भूमिसुधार मन्त्री लक्ष्मणलाल कर्ण, खेलकुद मन्त्री एकवाल मियाँ, श्रममन्त्री विमल श्रीवास्तव, पर्यटनमन्त्री उमाशंकर अरगरिया, महिला तथा बालबालिका मन्त्री चन्दा चौधरी पनि प्रदेश २ कै हुन्।  ऊर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरी पनि प्रदेश २ कै हुन्। 



ओलीले जेठ २१ मै रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाए। परराष्ट्र मन्त्रीसमेत रहेका महासेठ पनि प्रदेश २ कै हुन्। अर्कातिर कानुन मन्त्री रहेका लीलानाथ श्रेष्ठ पनि प्रदेश २ कै हुन्। 

महिला राज्यमन्त्री रेणुका गुरूङ भने काठमाडौंको टोखाकी हुन्। उनी संघीय समाजवादी फोरमको टोखा नगर कमिटी अध्यक्ष थिइन्। २०७४ मा भएको स्थानीय निर्वाचनमा फोरमको तर्फबाट उनी टोखा नगरपालिकामा उपमेयरको निर्वाचन लड्दा लज्जास्पद हार भयो। 

त्यस्तै आजै उद्योग मन्त्रीमा नियुक्त राजकिशोर यादव पनि प्रदेश २ कै हुन्। ज्वालाकुमारी साह कृषिमन्त्री भएकी छिन्। उनी पूर्वमाओवादीबाट एमालेमा आएकी हुन् । प्रभु साहनिकट ज्वालाकुमारीलाई मन्त्री बनाएर ओलीले पूर्वमाओवादीको प्रदेश २ को समूहको साथ यथावत राखेका छन्। 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १७:१४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया