सुदूरपश्चिमको नीति तथा कार्यक्रम : कृषि, पर्यटन र स्वास्थ्य प्राथमिकतामा
फरकधार / २७ जेठ, २०७८

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ ।

बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले पेस गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । 

प्रदेशलाई खाद्यान्नमा आत्मा निर्भर बनाउन ‘प्रदेश कृषि विकास नीति’ बनाइने, ‘नुमना गाउँ, आफ बनाऊँ’ भन्ने नाराका साथ सञ्चालन गरेको मुख्यमन्त्री कृषि कार्यक्रमलाई निरन्तरता तथा विस्तार गरिने कार्यक्रममा उल्लेख छ । 

कृषिअन्र्तगत सरकारी संस्थामार्फत बिमा प्रवद्र्धन, कृषि ऋण प्रवाह तथा सेवा विस्तारका लागि अनुदान प्रदान गर्ने कार्यक्रममा उल्लेख छ । मध्य तथा उच्च पहाडका खेतीयोग्य जमिन पहिचान गरी स्थानीय तहसँग समन्वय गरी सिँचाइ, जलविद्युत्, बजारलगायत पूर्वाधार निर्माण गरिने कार्यक्रममा उल्लेख छ । प्रदेशलाई अण्डामा आत्मनिर्भर बनाउनका लागि निजी क्षेत्रसँग समन्वय गरिने जनाइएको छ ।

यस्तै, प्रदेशको पर्यटन प्रवद्र्धनका लागि ‘देवभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न आऊ’ नारासहित कार्यक्रम सञ्चालन गर्ने, एक स्वास्थ्य रणनीतिका लागि संघ र स्थानीय सरकारसँग समन्वय गरेर कार्ययोजना बनाउने, हिंसापीडित महिलालाई तत्काल बसोबासको व्यवस्था मिलाउने, महिला सुरक्षागृह निर्माण गर्ने, वैदेशिक रोजगारी भित्र्याउन वातावरण बनाउन जोड दिने, प्रदेश स्वस्थ प्रदेश कार्यक्रम सञ्चालन गरिने कुरालाई पनि प्राथमिकता दिइएको छ ।

सरकारले कोरोना महामारीको रोकथाम गर्दै त्यसले आर्थिक क्षेत्रमा पारेका प्रभाव नियन्त्रण गरेर प्रदेशको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यक्रममा उल्लेख गरिएको छ ।  प्रदेशको स्वास्थ्य सेवा सुदृढ बनाउने, कोरोना भाइरसको महामारीपछि रोजगारी गुमाएकाहरुलाई लक्षित गर्दै प्रदेश स्वरोजगार कोषबाट सहुलियत दरमा व्यवसाय गर्न ऋण उपलब्ध गराउने कार्यलाई विस्तार गर्ने, दुर्गम क्षेत्रमा विकाससँग रोजगारी कार्यक्रम सञ्चालन गर्ने, औद्योगिक व्यवसाय प्रवद्र्धनका लागि न्यून ब्याजदरमा ५० लाखसम्म ऋण दिने कार्यलाई समेत अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सेती, महाकाली र टीकापुर अस्पताललाई विशिष्टीकृत सेवा दिने अस्पतालका रुपमा विकास गर्ने, सेती प्रादेशिक अस्पतालाई शिक्षण अस्पताल बनाउने गरी सम्भाव्यता अध्ययन गर्ने, भौगोलिक अवस्थालाई हेरेर सर्पदंशको उपचार सहज बनाउँदै लैजाने कार्यक्रममा उल्लेख  छ ।

सबैका लागि शिक्षा अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरी विद्यालयबाहिर रहेका विद्यार्थी भर्ना गर्ने, एक जिल्ला एक नमुना क्याम्पस, विकास गर्न भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक विकास कार्यक्रममा निरन्तरता दिइने, स्वस्थ युवा प्रदेशको खम्बा भन्ने नारासहित मुख्यमन्त्री खेलकुद प्रतियोगितालाई निरन्तरता दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको सहभागिता अभिवृद्धि गर्न प्रोत्साहनमुलक कार्यक्रम सञ्चालन गर्ने, पिछडिएका अति विपन्न, गरिब, असहाय, सीमान्तकृत लोपोन्मुख र जोखिममा रहेका राउटे, राजी, बादीजस्ता वर्गको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा उल्लेख छ । 

प्रदेशका गाउँ, उज्याला बनाऊँ कार्यक्रममार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा जलस्रोत एवं वैकल्पिक ऊर्जासम्बन्धी कार्यक्रम सञ्चालन गरिने, एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानीको पहुँच विस्तार गर्ने, आवास सुधार कार्यक्रमअन्तर्गत विपन्न परिवारका लागि खरको छानो विस्थापन गर्ने नीति लिइने, नमुना गाउँ आफैँ बनाऊँ कार्यक्रमलाई निरन्तरता दिइने, एक सहकारी एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, सीप सिकौँ उद्यमी बनौँ भन्ने नारालाई साकार पार्न बीउ र पुँजी प्रविधिमा अनुदान दिनेलगायत कार्यक्रम पनि प्रदेश सरकारले ल्याएको छ ।

एक जिल्ला एक विशिष्ट उद्योग, पर्यटन प्रवद्र्धनका लागि पाहुनाको सत्कार सुदूरपश्चिमको संस्कार कार्यक्रम, सुदूरपश्चिमको दिगो आधार सबल पर्यटकीय पूर्वाधार भन्ने नाराका साथ प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संवद्र्धनका लागि पूर्वाधार निर्माण, चेली परामर्श तथा पैरवी केन्द्र पनि स्थापना गरिने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमले समृद्ध सुदूरपश्चिम निर्माणको आकांक्षा पूरा गर्ने दाबी गरिएको छ । 

४८ पृष्ठ लामो नीति तथा कार्यक्रममा धेरैजसो विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

रेडिमेड कार्यक्रम आयो ः प्रतिपक्षी दल

नीति तथा कार्यक्रम प्रदेशको हितमा भन्दा पनि रेडिमेड आएको प्रमुख प्रतिपक्षी दलका नेता डाक्टर रणबहादुर रावलले बताए । गृहकार्यविना नै आएको नीति तथा कार्यक्रममा प्रदेशका समस्या नसमेटिएको उनले बताए । ‘प्रदेशको समस्या कार्यक्रममा समेटिएका छैनन्’, उनले भने, ‘पुरानै तरिकाको रेडिमेट कार्यक्रम ल्याइएको छ ।’ यस नीति तथा कार्यक्रममा नयाँ कुनै पनि नरहेको उनले उल्लेख गरे । 

यस्तै, ओली पक्षका सांसद लीलाधर भट्टले पनि कार्यक्रममा कुनै पनि नयाँ नरहेको बताए । ‘ती पुरानै तटबन्ध, जालीकै कुरा छन्’, उनले भने, ‘बजेटको सिद्धान्तका कुरासमेत समेटिएको देखिएन ।’ औपचारिकता दिन मात्र नीति तथा कार्यक्रम ल्याएको देखिएको उनले बताए ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १९:५२:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया