नयाँ प्रशिक्षकलाई साथ, सहयोग भए नेपाली फुटबलको स्तर निकै माथि पुग्छ
अस्ट्रेलियालाई जित्ने भन्दा कम गोल खानेमा ध्यान दिनुपर्छ

लामो समयदेखि फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी निभाएका प्रशिक्षक हुन् बालगोपाल महर्जन। अन्तराष्ट्रिय फुटबल संघले ‘प्रो लाइसेन्स’ प्राप्त प्रशिक्षक हुनुपर्ने प्रावधान राखेपछि उनको स्थानमा कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुल्ताइरीलाई नेपाली टोलीको प्रमुख प्रशिक्षक बनाइयो।  

अल्मुल्ताइरीले नेपाली फुटबलमा धेरै नै परिवर्तन ल्याए। उनले नेपालको राष्ट्रिय टोलीमा व्यापक हेरफेर गरे।  पूरानालाई हटाएर अघिकांश युवा खेलाडीलाई टोलीमा समेटे।

अहिले त्यही नेपाली टोलीसहित अल्मुल्ताइरी विश्वकप तथा एसियन कप छनोटका खेल खेल्न कुवेतमा छन्। जोर्डनसँग पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिसकेझ छ।एसियन कपमा छनोटको आशासहित  नेपाल आज राति अस्ट्रेलियासँग खेल्दैछ।  

जोर्डनसँग ३–० को हार व्यहोरेको नेपाललाई अगाडि बढ्नका लागि यो खेल जित्नैपर्ने देखिन्छ। तर नियमित विश्वकप खेलिरहेको अस्ट्रेलियालाई जित्ने सम्भावना निकै कम छ। 

नेपालको पछिल्लो टोलीको अवस्था र आज हुने अस्ट्रेलियाविरुद्धको खेलका विषयमा  पूर्वप्रशिक्षक बालगोपाल महर्जन के भन्छन् त :

अहिले नयाँ प्रशिक्षकको भूमिकालाई कसरी हेरिरहनु भएको छ ? 



खेलाडीलाई कुन किसिमले कसरी खेलाउने भन्ने हरेक प्रशिक्षकको आफ्नै योजना हुन्छ। उहाँले पनि आफ्नै हिसाबले खेलाइरहनु भएको छ। नयाँ प्रशिक्षकले पनि नेपालको खेल कसरी सुधार्ने भन्ने तर्फ नै ध्यान दिनुभएको छ। नयाँ खेलाडीलाई अवसर दिएर खेलाउनु भएको छ। जुन एकदमै सकरात्मक पक्ष हो।

उनले खेलमा खेलाडीहरु परिवर्तन गरिरहँदा खेलाडीहरु अलि बढी थाक्ने हुनसक्छ। यस्ता महत्वपूर्ण खेलहरूमा नयाँ खेलाडीको साथमा अनुभवी खेलाडीहरुलाई पनि उत्तिकै स्थान दिनुपर्छ। 



अस्ट्रेलिया जस्तो विश्व खेल्ने टोलीसँग खेल्न पाउँदा नेपाललाई के फाइदा र चुनौती कति ?

फिफा वरियताको ४१औं स्थानमा रहेको अस्ट्रेलियासँग खेल्नु नेपालको लागि अवसर र चुनौती दुवै हुनेछन्।  फिफा वरियताको १७१औं स्थानमा रहेको नेपालले अस्ट्रेलिया जस्तो टिमसँग खेल्नु कम चुनौतीको कुरा होइन। 

अस्ट्रेलिया हेरी नेपाल सबै कुरामा कमजोर छ। विश्वकप खेल्ने राष्ट्र हो अस्ट्रेलिया। अस्ट्रेलियासँग खेल्नु  निकै चुनौतीपूर्ण हुनेछ नेपालको लागि। फिफा वरियता हेरेर नै थाहा पाउन सकिन्छ नेपालको लागि यो खेल कत्तिको कठिन छ भनेर। यस खेलमा नेपालले जित निकाल्नु भन्दा पनि धेरै अन्तरले पराजित नहोस् भन्ने र कम भन्दा कम गोल खाने रणनीति नै हुनुपर्छ। 

अस्ट्रेलियाको आर्थिक गतिविधि, सु–व्यवस्थित टिम, खेलाडीको सुविधा, फुटबल संघ, हरेक कुरा विश्वस्तरीय छ। 
 

अस्ट्रेलियासँग कुन फर्मेसनमा उत्रिँदा उपयुक्त होला ?

नेपालले यही फर्मेसनमा खेल्दा राम्रो हुन्छ भन्ने छैन। प्रशिक्षकले सबैकुरा विश्लेषण गरेर नेपाललाई प्रस्तुत गर्दा राम्रो हुन्छ।

इराकसँगको खेलबाट नयाँ आएका प्रशिक्षकको अट्याकिङ फम्र्याटमा खेल खेलाउनु र गोल निकाल्नु प्रशिक्षकको क्षमता हो। अहिले प्रशिक्षकले जसरी नेपाली खेलाडीको हैसला बढाइ खेलाइरहनु भएको छ, त्यो प्रशंसनीय छ। 

बल पोजिसनमा राख्न सक्यो भने अट्याकिङ फर्ममा खेल्नु र खेलाएर गोल निकाल्नु राम्रो हुन्छ। खेलाडीमा थकान भएर बललाई राम्रोसँग खेल्न नसकेको हो कि भन्ने पनि देखियो। खेलाडीको शारीरिक अवस्थालाई ध्यान दिएर खेल खेल्नु आवश्यक हुन्छ।  

प्रशिक्षकले नयाँ पुस्तालाई समेटेर बनाएको अहिलेको टोलीबारे के भन्नुहुन्छ?

नयाँ पुस्तालाई मौका दिनु एकदमै सह्रानीय काम हो प्रशिक्षक अल्मुल्ताइरीको। यस्ता प्रतियोगितामा भने नयाँ खेलाडीको साथ साथै अनुभवी खेलाडीलाई पनि मौका दिनुपर्छ। फिटनेस भएको, कन्फिडेन्स पनि भएको अनुभवी खेलाडीलाई भने टोलीमा समावेश गरेको भए राम्रो हुने थियो। एनएसएलमा  र थ्री नेशन्स कपमा खेलेको भरमा मात्रै नभएर अन्य खेलाडीलाई समावेश गर्न सकिन्थ्यो होला। 

उहाँ आफैंले पनि भन्नुभएको छ। मेरो लक्ष्य साफ च्याम्पियनसिप हो। एसियन कपको छनोट खेलका लागि मात्रै नभइ उहाँको कार्यकाल अझै छ। उहाँले साफ च्याम्पियनसिप सम्म धेरै सुधार गर्न सक्नुहुनेछ। उहाँलाई हामी सबैले साथ दिनुपर्छ। 

नेपालले खेलिरहेको हरेक खेलमा खेलाडी परिवर्तन भइरहेको छ। धेरै खेलाडी परिवर्तन गर्दा स्टकमा खेलाडी नरहन सक्छ।  जसले गर्दा कोही खेलाडी घाइते भइहालेमा परिवर्तन गर्ने स्वस्थ खेलाडीको कमीले खेलमै नै असर पर्न सक्छ। हरेक खेलमा खेलाडी परिवर्तन गरेर खेलाउँदा खेलाडी चेक गर्न खोजेको जस्तो मात्रै देखिएको छ।  

नेपालले एसियन कप खेल्न कति सम्भव ?

अहिलेको नेपालको खेल हेरेर त निकै न्यून सम्भावना देख्छु म। अहिले भएको खेलमा समुह चरणको चौथो अवस्थामा रहेर खेल्ने सम्भावना निकै न्यून रह्यो। दक्षिण कोरियाले खेलबाट हटेपछि झन नेपालको सम्भावना कम भएको छ।

अष्ट्रलियासँगको आजको खेल जितेको खण्डमामात्र नेपालले प्लेअफ खेल्नु नपर्ने हुन्छ। जुन धेरै नै कठिन हुनेछ। प्लेअफमा पनि नेपालको प्रतिस्पर्धा भने कमजोर टोलीसँग छैन। नेपालले मलेसिया, अफगानस्तान, सिंगापुर जस्ता देशहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। 

  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ८:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया