नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्य आफ्नै बोलीका कारण अहिले आलोचनाको केन्द्रमा परेका छन्। बागमती प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशसभा सदस्य संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिएपछि आलोचनामा परेका हुन्।
सांसद वैद्यले भारतीय स्वतन्त्र सङ्ग्रामका नायक महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि त्यस्तै हुने बताएका थिए। उनले ओली प्रवृत्तिले अति गरेको भन्दै कोही न कोही नाथुराम गोड्सेहरु जन्मिन आग्रह गर्दै यदि कोही अघि नसरे आफैँ गोड्से बन्न तयार रहेको बताएका थिए।
प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाएका उनले अब ठेगान लाउनैपर्ने बताएका थिए। ओलीलाई नरोके यो देश नरहने दावी वैद्यले गरेक थिए।
‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्', उनले भनेका थिए, ‘अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैनन् भने म आफैँ बन्छु।’
म गान्धीवादी मान्छे हुँ, हिंसाकाे सधैं विराेध गर्छु। तर सत्ता टिकाउन जे पनि केपी शर्मा ओली प्रवृत्तिको अन्त्यका लागि नाथुराम गाेड्सेकाे कुरा गरेकाे हुँ: नराेत्तम वैद्य, प्रदेश सांसद, बागमती pic.twitter.com/rH4AbDtKry
— FarakDhar.com (@farakdhar) June 11, 2021
गोड्से हिन्दु राष्ट्रवादका कट्टरपन्थी सदस्य थिए। उनले सन् १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या गरेका थिए।
हत्या नै गरौँ भनेको होइन
वैद्यको बोली आलोचनाको केन्द्रमा परेपछि उनीसँग फरकधारले शुक्रबार साँझ सम्पर्क गरेको थियो। शुक्रबार अबेर साँझ फरकधारको टेलिफोन सम्पर्कमा आएका उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या नै गर्नुपर्छ नभनेको तर्क गरे।
'त्यो कुरा, त्यो विषयमा धेरै नगरौँ। म असाध्य गान्धीवादी मान्छे हो। कहिले पनि हिंसा होस भन्ने चाहन्न। मानिस त के जनावरमाथिको पनि हिंसा मलाई सह्य हुँदैन', उनले भने, 'तर ओलीको प्रवृत्ति यस्तो खतरनाक भएर आयो कि आफ्नो सत्ता बचाउन जे पनि सम्झौता र षडयन्त्र गर्न खोज्ने।'
वैद्यले आफ्नो सरकार टिकाउने नाममा अन्य पार्टी पनि फोड्दै हिँडेको आरोप लगाए। 'आफ्नो सरकार टिकाउन यो पनि पार्टी फोडेको छ, अर्को पनि फोडेको छ। हुँदा हुँदा कांग्रेस पनि फोड्न खोजेको छ', वैद्यले भने, 'अति भएपछि संसदमा बोल्दा तरंग आउँछ भनेर बोलेको हुँ। जसरी तलाउमा ढुंगा हानेपछि तरंग आउँछ नि, मैले पनि त्यही तरंग ल्याउन खोजेको हुँ।'
उनले ओली प्रवृत्तिको विरोधमा बोल्ने सबैभन्दा राम्रो ठाउँ संसद नै भएको बताए। 'संसदमै बोल्ने हो, यस्ता कुरा र प्रवृत्तिको संसदमै बोलेर विरोध जगाउने हो', उनले भने, 'तर खड्ग ओलीजीलाई हत्या नै गर्नुपर्छ भनेको होइन। ओलीको यस्तो प्रवृत्ति देखियो नि वितृष्णा भएर तरंग ल्याउन बोलेको हो। तर यसलाई धेरै बढाइँ चढाइँ गरिराख्नु आवश्यक छैन।'
प्रदेशसभामा के भनेका थिए वैद्यले
खड्ग प्रसाद ओलीलाई नरोक्ने हो भने यो देश खाइदिन्छन्, कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो pic.twitter.com/6yB8t5fquR
— FarakDhar.com (@farakdhar) June 11, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।