कुलदेवताकाे निहुँमा दाइ-भाइ बीच कुटपिट, भाइको मृत्यु

महोत्तरीमा घरको कुलदेवताका कारण दाइ-भाइ बीच कुटपिट हुँदा भाइको मृत्यु भएको छ । जिल्लाको लोहरपट्टी नगरपालिका-७ स्थित भ्रमरपुरामा दाइ-भाइ बीच झगडा हुँदा दाइको कुटाइबाट भाइको मृत्यु भएको हो । 

कुटाइबाट गम्भीर घाइते भएका ४५ वर्षीय लक्ष्मण साहकाे काठमाडाैं स्थित अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

अंशवण्डा भएको लामो समयपछि दुबैबीच घर देउतालाई लिएर कुटाकुट भएकाे थियाे । 

घटनाकाे बारेमा वडाध्यक्ष गणेश ठाकुर भन्छन्,‘गत बुधबार रामचन्द्रकी श्रीमतीले लक्ष्मणको घरमा गई कुलदेवतालाई उठाएर आफ्नो घरमा ल्याएपछि दुबै परिवारबीच झगडा सुरु भएको थियो । सोही क्रममा उनीहरू बीच दुई दिनसम्म लगातार झगडा जारी नै रहयो । शुक्रबार ५० वर्षीय दाई रामचन्द्र साह र उनका छोराहरू मिलेर भाइ लक्ष्मण साहलाई घरमा प्रवेश गरी तथानाम गालीगलौज गर्दै कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए ।’ 

उनले घरको कुलदेउता कान्छो भाइ लक्ष्मणकै फाँटमा रहे पनि दाइ रामचन्द्रले जबरजस्ती कुलदेवता आफ्नो घरमा लगेपछि विवाद सुरु भएको जनाए । 

मृतककी पत्नीका अनुसार रामचन्द्रले लक्ष्मणकाे टाउकाेमा चिर्पट प्रहार गरेका थिए । 



गत जेठ २६ गते घरको कुलदेवताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवार मिलेर लक्ष्मणलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते लक्ष्मणको उपचार काठमाण्डौ स्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । 

लक्ष्मणको मृत्यु भएपछि रामचन्द्र र उनकी पत्नी छोरासहित फरार भएका छन् । घटनामा संलग्न रहेको भन्दै रामचन्द्र र उनका एक छोरा शिवरत्नलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । फरार अन्य आरोपीहरूको खोजी जारी रहेको र घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक आचार्यले बताए ।



स्थानीयवासीहरूले रामचन्द्र साहले नै आफ्नो भाइ लक्ष्मणको हत्या गरेकाले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । मृतक लक्ष्मणका तीन छाेरी रहेका छन् । उनी टेम्पो चलाएर आफ्नो परिवारको गुजारा चलाउँदै आएका थिए ।

  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १५:६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया