बाबुराम भट्टराईको गैर कम्युनिस्ट यात्रा : नयाँ शक्तिदेखि जसपासम्म
घोषणा भएको तेस्रो वर्षमै विसर्जन हुन पुगेको समाजवादी 'आँखा'

आज भन्दा ५ वर्षअघि अर्थात ३० जेठ २०७३ । नेपाली राजनीतिक क्षेत्रमा नयाँ पार्टीको जन्म भएको दिन । लामो समय कम्युनिष्ट बनेर जनयुद्धको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर कम्युनिष्ट समाजवादी पार्टी नयाँ शक्तिको घोषणा गरेको दिन । 

अब निकास, आर्थिक विकास भन्ने नारा लिएर डा. भट्टराईले नयाँ वैकल्पिक राजनीतिक शक्ति बनाउने लक्ष्यसहित नयाँ शक्ति पार्टी नेपाल सुरु गरेको ५ वर्ष पूरा भएको छ । यसबीचमा उनले आफै सक्रिय भएर नयाँ शक्तिबाट जनता समाजवादी पार्टीसम्म ३ वटा दल निर्माण गरिसकेका छन् । 

नयाँ शक्ति निर्माण गर्नुभन्दा ८ महिना अघि २०७२ असोज ९ गते तत्कालीन नेकपा माओवादी केन्द्रलाई रातो स्टिकर टाँसिएको, भत्किएको घर भन्दै नयाँ घर बनाउने उद्‍घोषसहित निस्किएका थिए । तर, बाबुरामको नयाँ घर नयाँ शक्ति पार्टीले स्थापनाको तेस्रो वर्ष पूरा गर्न पाएन । 

तेस्रो वर्ष पूरा गर्न १ महिना बाँकी रहेको समयमा डा. भट्टराई मधेसवादी कित्तामा रमाइरहेको पार्टी तत्कालीन संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्न पुगे । त्यसबेला उनले उपेन्द्र यादवसँगको सहकार्यमा गैर कम्युनिस्ट वैकल्पिक शक्ति निर्माण गर्ने उद्घोष गरेका थिए । 

तर, जनता समाजवादी पार्टी बनेको एक वर्ष पनि पूरा नहुँदै बाबुराम-उपेन्द्रले मधेसवादी कित्तामै रहेको अर्को दल राष्ट्रिय जनता पार्टीसँग रातारात पार्टी एकता गरे । केही सांसदहरु पार्टी फुटाएर नेकपा एमाले प्रवेश गर्ने तयारी बुझेपछि संघीय समाजवादी फोरम र राजपाबीच २०७७ वैशाख १० गते राति एकता घोषणा भएको थियो । 

नयाँ शक्तिको राजनीति



पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी छाडेर कम्युनिस्ट राजनीतिबाट समाजवादी राजनीतिमा छलाङ मार्नका लागि गठन गरेको नयाँ शक्ति पार्टीको घोषणा तामझामका साथ भएको थियो । राजधानीबाट प्रकाशित हुने प्रायः दैनिक पत्रिकामा ज्याकेट विज्ञापनसहित नयाँ शक्तिको उदय भएको थियो, २०७३ जेठको अन्त्यमा।

माओवादी नामको घरमा खतरा देखेर नयाँ घर निर्माण सुरुवात गरेका भट्टराई त्यतिबेला निकै आशावादी देखिन्थे । तर, गएको स्थानीय निर्वाचन र प्रदेश तथा संघीय चुनावमा आएको नतिजापछि उनमा पार्टी बलियो बनाउने सोचको विकास भएको बुझ्न सकिन्छ । 



आँखा चुनाव चिन्ह लिएर मैदान उत्रिएको नयाँ शक्तिले नेपाली कांग्रेससँगको सहकार्यमा गोरखा २ बाट अध्यक्ष रहेका बाबुराम भट्टराईलाई मात्रै संघीय संसदमा पठाउन सक्यो । नयाँ शक्तिबाट गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ गोरखाबाट हरिशरण आचार्य र समानुपातिक तर्फ धनमाया लामा पोखरेल सांसद बनेका थिए । अन्त कहिँपनि नयाँ शक्तिले जित निकाल्न सकेन ।

यस्तै रसुवा प्रदेशसभा ख बाट प्रेम तामाङले बागमती प्रदेशसभामा नयाँ शक्तिको प्रतिनिधित्व गरेका छन् । तर, निर्वाचित भएको केही समयमै कांग्रेस प्रवेशको तयारी गरेका तामाङ कानुनी उल्झनले मात्रै नयाँ शक्तिमा रहेका थिए । 

मधेसवादी कित्तालाई राष्ट्रिय राजनीतिमा उत्थान

मधेसमै रमाइरहेका उपेन्द्र यादवलाई बाबुराम भट्टराईले नै राष्ट्रिय रुपमा संगठन निर्माणमा सघाएको भने प्रष्ट नै छ । भट्टराई र यादवले संघीय समाजवादी फोरम बनाएपछि देशभर नै पार्टी विस्तारको अभियान चलाए । 

संविधान जारी गरेर आफै असन्तुष्ट बन्दै माओवादी केन्द्र र सांसद पद त्यागेर नयाँ शक्ति निर्माणको अभियानमा होमिएका बाबुरामले कालान्तरमा मधेसवादी राजनीतिमा रमाइरहेका सबै शक्तिलाई एकत्रित गर्दै जनता समाजवादी पार्टी नेपाल बनाउने अग्रसरता देखाए । 

जसको फलस्वरुप आज देशभर संगठन भएको दल बन्न पुगेको छ, जनता समाजवादी पार्टी नेपाल । सोही दलका संघीय परिषद अध्यक्ष छन् अहिले डा. बाबुराम भट्टराई ।

अबको निकास, आर्थिक विकास

नयाँ शक्ति घोषणा गर्ने समयमा भट्टराईले अधिकांश राष्ट्रिय दैनिकहरुमा प्रकाशन गरेका विज्ञापनमा पार्टीको मुख्य नारा थियो, अबको निकास, आर्थिक विकास । समाजवादी व्यवस्थासहित आर्थिक विकास नै तत्कालीन नयाँ शक्ति पार्टीको मुख्य राजनीतिक मुद्दा थियो । 

तर, लगातार पार्टी समायोजन गर्दै अघि बढेका डा. भट्टराईले अहिले उक्त नारालाई उच्चारण गर्न भुलिसकेका छन् । नयाँ शक्ति गठनको दोस्रो वर्ष नपुग्दै नेता, कार्यकर्ताले पार्टी छाड्ने क्रम बढ्न थाल्यो । पूर्वमाओवादीबाट आएकाहरु उतै फर्किए । केहीले राजनीति नै त्यागे ।

नेता कार्यकर्ताले साथ छाड्न थालेपछि डा. भट्टराईले पार्टी एकताको विकल्प सोचे । उनले मधेशमा राम्रो पकड बनाएको उपेन्द्र यादवको फोरमलाई रोजे र पार्टी एक गराए । अबको निकास, आर्थिक विकासको नारालाई उद्‍घोषको तेस्रो वर्षसम्म पनि सँगै लगेनन् । 

यसरी बनेको थियो नयाँ शक्ति

औपचारिक अध्ययनमा उत्कृष्ठ विद्यार्थी डा. भट्टराई राजनीतिक जीवनमा भने खासै सफल बन्न सकेनन् । माओवादी केन्द्रको अध्यक्ष बन्ने सम्भावना नदेखेपछि उनी नयाँ शक्तिको अभियानमा लागेका हुन् । 

तत्कालीन समयमा माओवादीमा छँदै डा. भट्टराईले २०७० फागुन २५ मा एउटा लेखमार्फत ‘नयाँ शक्तिको खाँचो’ पहिल्याएका थिए । त्यसपछि नयाँ शक्ति कस्तो हुनुपर्छ भन्ने प्रश्न बौद्धिक जगतमा बहसको विषय बन्न पुग्यो । 

डा. भट्टराईले नयाँ शक्तिको बहस सुरु गरेपछि उक्त पार्टी घोषणा हुनुपूर्व र हुने समयमा नयाँ शक्तिको चर्चा र आकर्षण अत्यधिक रहन पुग्यो । नयाँ शक्ति निर्माण अभियानमा डा. भट्टराईलाई पूर्व प्रहरीदेखि पूर्व प्रशासकसम्म, संघसंस्थामा काम गर्नेहरू र माओवादी भित्रैका थुप्रै नेता–कार्यकर्ताले दरिलो साथ दिएका थिए । 

डा. भट्टराईले त्यस समयमा नयाँ शक्तिलाई पुरानो कम्युनिस्ट र प्रजातान्त्रिक विचारभन्दा भिन्न सिद्धान्तमा आधारित दल बनाउने घोषणा गरेका थिए । तर, उनको घोषणालाई लिएर नेपालको कम्युनिस्ट वृत्तमा भट्टराईले ‘मार्क्सवाद छाडेको’ भनेर चर्को आलोचना पनि भएको थियो ।

तर, अहिले नयाँ शक्ति नामको पार्टी र चुनाव चिन्ह आँखा भने अहिले कर्णालीका पत्रकारिता क्षेत्रमा क्रियाशील युवा रवि किरण हमालले प्रयोग गरिरहेका छन् । हमालले आफूलाई नयाँ शक्ति पार्टीको संयोजकको रुपमा चिनाउँदै विभिन्न मञ्चहरूमा उपस्थिति जनाइरहेका छन् । 

  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १९:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया