कोरोनाले अभिभावक गुमाएका बालबालिकालाई राज्यले विशेष संरक्षण गर्ने

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६० जना बालबालिकाको मृत्यु भइसकेको छ । दोस्रो लहरको महामारीमा कुल संक्रमितको ६-७ प्रतिशत बालबालिकालाई कोरोना संक्रमण देखिएको छ ।

विज्ञहरूले केही समयपछि तेस्रो लहरको महामारीको चेतावनी दिएका छन् । तेस्रो लहरमा भने बालबालिका बढी प्रभावित हुने विज्ञहरूको अनुमान छ । पहिलो र दोस्रो महामारीको समयमा आमा-बुबा गुमाउने बालबालिकाको संख्या पनि धेरै छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव शान्तिराज प्रसाईले आमा-बुबा नै गुमाएका बालबालिका अहिलेसम्म फेला नपरेको बताए । 
‘कसैको आमाको मृत्यु भएको छ, कसैको बुबाको मृत्यु’, प्रसाईले भने, ‘आमा-बुबाको नै मृत्यु भएर बेसहारा बनेका बालबालिकाको विवरण अहिलेसम्म आइसकेको छैन ।’ 

सरकारले अभिभावकविहीन बनेका बालबालिकाका लागि विशेष राहतको व्यवस्था गरेको छ । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कोरोना संक्रमणबाट अभिभावक गुमाएका बालबालिकालाई विशेष संरक्षण व्यवस्थापन गर्ने व्यवस्था मिलाएको उप–सचिव प्रसाईले जानकारी दिए । कोही त्यस्ता बालबालिका भएको खण्डमा मन्त्रालयमा जानकारी गराउन अनुरोध गरिएको छ । यस बारेमा उनी भन्छन्, ‘केही स्थानीय तहबाट त्यस्ता बालबालिका नरहेको जानकारी आएको छ । केही तहबाट जवाफ आउन बाँकी छ । थोरैको संख्यामा त्यस्ता बालबालिका हुन सक्ने अनुमान गरेका छौँ ।’ 

राष्ट्रिय बाल अधिकार परिषद् मार्फत् दोस्रो लहरको महामारीमा ७३ जना बालबालिकाको उद्दार गरेको छ । उद्दार गरिएकामध्ये धेरैजसो बालबालिका काठमाडौं उपत्यकामा रहेका छन् । 



कोरोना महामारीको समयमा मात्र १३१ जना बालबालिकाको उद्दार गरिएको परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दले बताए । ‘बेबारिसे अवस्थामा भेटिएका, लालनपालन गर्दै आएकाहरूले कोभिडका कारण समस्या भयो भन्दै सूचना दिएपछि त्यस्ता बालबालिकाको उद्दार गरेका छौँ । केही बालबालिका अभिभावक नभएका पनि छन्’, चन्दले भने ।

विगतका वर्षमा पनि यस्ता खालका बेबारिसे बालबालिका भेटिने गरेकाले महामारीको समयमा भने बढी फेला पर्न थालेको उनको भनाइ छ । 



उद्दार गरिएकामध्ये केही बालबालिकाको परिवारमा पुनर्मिलन गराइएको छ भने केही बालबालिका बालगृहमा नै छन् । अहिलेको अवस्थामा विशेष गरी कोभिडका कारण पालन पोषण गर्न नसक्ने भन्दै आउनेको संख्या बढ्दो रहेको सूचना अधिकारीको चन्दले जानकारी दिए ।

कोरोनाका कारण अभिभावक नै गुमाएका बालबालिका भएको खण्डमा राज्यले जिम्मा लिने बारेमा उनी भन्छन्, ‘आमाबुबा नभएको खण्डमा हजुरआमा-हजुरबुवा, काका-काकी, ठूलो बुबा-ठूली आमा लगायतले पाल्न नमानेको खण्डमा राज्यले उनीहरूलाई विशेष संरक्षण गर्नेछ ।’

तेस्रो लहरमा बालबालिकालाई सुरक्षित राख्न के छ तयारी ? 

विज्ञहरूले अक्टोबर-नोभेम्बरतिर तेस्रो लहर आउने चेतावनी दिएका छन् । त्यो समयमा भने बढी बालबालिका प्रभावित हुने अनुमान गरिएको छ । कोरोना खोप नलगाएका कारण बढी बालबालिका तेस्रो लहरबाट प्रभावित हुनसक्ने अनुमान गरिएको हो । तेस्रो लहरबाट बच्नका लागि सरकारले पूर्व तयारी थालेको छ । 

अस्पतालहरूमा जम्मा बेडको २० प्रतिशत बालबालिकाको लागि छुट्याउने, स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम प्रदान गर्ने लगायतका काम भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जनाए । 

राष्ट्रिय बाल परिषद्ले समेत तेस्रो लहरबाट बालबालिका कसरी जोगाउने भन्ने विषयमा छलफल, परामर्श लगायतका काम गर्दै आएको सूचना अधिकारी चन्दले बताए । 
‘बालबालिकालाई कोरोना महामारीबाट कसरी बचाउने भनेर जनचेतनामूलक सन्देश सम्प्रेषण गर्ने काम भइरहेको छ', उनले भने, 'सरोकारवाला निकायलाई पनि सचेत गराइरहेका छौँ ।'

भारतमा यस्ताे छ अवस्था

​छिमेकी देश भारतमा दोस्रो लहरको महामारीमा ६ सयभन्दा बढी बालबालिकाका अभिभावकको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । भारतको महिला तथा बालबालिका कल्याण मन्त्री स्मृति इरानीले ट्विटर मार्फत् नै ६ सयभन्दा बढी बालबालिकाले अभिभावक गुमाइसकेको जानकारी दिएकी छन् । 

अभिभावक गुमाएका बालबालिकाको तस्करी हुने डर देखिएको छ । पछिल्लो समय भारतमा बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्नेको संख्या बढ्दो छ । जसले गर्दा पनि अभिभावकविहीन बालबालिकाको तस्करी हुने खतरा बढेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिइरहेको मन्त्री इरानीको भनाइ छ ।

  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार २०:२२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया