सपथ लिनेबित्तिकै संकटमा गण्डकीका मुख्यन्त्री, समर्थन नदिने जसपा सांसदको चेतावनी
धनमाया भन्छिन् : पूर्वसहमति पालना नभए समर्थन गर्दिनँ

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालको साथ पाएका कृष्ण चन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदको सपथ लिएलगत्तै संकटमा परेका छन्। 

पूर्व सहमति अनुसार दुई मन्त्री नदिएको भन्दै जनता समाजवादी पार्टी बाबुराम भट्टराई-उपेन्द्र यादव समूहको संसदीय दलले सरकारमा नजाने चेतावनी दिएको हो। गण्डकीमा जसपाको यादव समूहलाई २ वटा मन्त्रालय दिने सहमति कांग्रेसले गरेको थियो। गण्डकीमा जसपाको महन्थ ठाकुर पक्षका एकजना पनि सांसद छैनन्। 

जसपा गण्डकी प्रदेशकी सचेतक धनमाया लामा पोखरेलले सरकारलाई सहमति तोडेर एउटा मात्रै मन्त्रालय दिइएमा मुख्यमन्त्री पोखरेललाई नसघाउने चेतावनी दिएकी छन्।

गोरखाकी उनी २०७४ सालको निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टी नेपालबाट समानुपातिकतर्फकी सांसद हुन्। तत्कालीन नयाँ शक्तिबाट गोरखामै विजयी हरिशरण आचार्यले आजै विनाविभागीय मन्त्रीको सपथ लिएका छन्। 

तत्कालीन नयाँ शक्ति पार्टी, संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता समाजवादी पार्टीको अहिलेको एकीकृत रुप जनता समाजवादी पार्टी हो। जुन पार्टी पनि अहिले महन्थ ठाकुर उपेन्द्र यादव समूहमा विभाजित भएर फुट्ने तर्खरमा छ।

पूर्व सहमति अनुसार दलका २ जना सांसदलाई आजै मन्त्रीका रुपमा एकसाथ सपथ नखुवाइ गोरखाका हरिशरण आचार्यलाई सरकारमा लगिएको छ। नवनियुक्त मुख्यमन्त्री पोखरेलको यो कदमपछि जसपा गण्डकी संसदीय दलले सरकारलाई साथ नदिने चेतावनी दिएको हो। 



कांग्रेस नेतृत्वको गठबन्धनमा मिल्ने क्रममा २ जना सांसद नै मन्त्री बन्‍ने सहमति गरेको उनले बताइन्। तर अहिले उक्त सहमति तोडिएको लामाले आरोप लगाएकी छन्। 'विपक्षी गठबन्धनमा रहेर हामीले सुरुबाटै २ जना सांसद नै सरकारमा जाने सहमति भएको', उनले भनेकी छन्, 'तर मन्त्रीको सपथ खुवाउने दिन पूर्वसहमति उलंघन भएको छ। यसमा हाम्रो आपत्ति छ।'

सांसद लामाले अब लिखित सम्झौता नगरी जसपा पोखरेल नेतृत्वको सरकारमा नजाने बताइन्। प्रदेश कमिटीको बैठकले शनिबारै गरेको निर्णय पनि त्यही रहेको उनको जिकिर छ।



‘आज हाम्रो दलको भर्चुअल बैठकमा पनि दुवैजना मन्त्रीका रुपमा जाने निर्णय भएको हो', उनले भनिन्, 'तर पार्टी निर्णय उलंघन गर्दै हरिशरण आचार्य सकारमा जानुभयो, मैले मुख्यमन्त्रीलाई साथ दिन सक्दिनँ।'

उनले पार्टी निर्णय अनुसार दुईवटा मन्त्री चाहिने बताइन्। गठबन्धनबीच पूर्व सहमति कार्यान्वयनका लागि आफूलाई पनि मन्त्रीमण्डलमा लगेमा सरकारलाई समर्थन दिने उनले बताइन्। 

उनले गण्डकी प्रदेशमा आफूहरुलाई दलीय हैसियत दिनुपर्ने अडान लिएकी छन्। उनले उच्चस्तरीय संयन्त्र बनाएर सरकारका कामलाई अघि बढाउने सहमति पालना भए मात्रै सरकारमा जान सकिने जिकिर गरेकी छन्। 


  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार २२:४०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया