चलचित्र उद्योग पुनरुत्थानको माग गर्दै चलचित्रकर्मी

कोरोना महामारीसँगै ठप्प रहेको चलचित्र उद्योग कहिले खुल्ने अझै टुङ्गो छैन । कोरोनाको अघिल्लो भेरियन्टमै बन्द भएका केही सिनेमाघर अब कहिले नखुल्ने भइसकेका छन् । कैयौं कलाकारले जीविकोपार्जनका लागि अन्य पेशा अपनाउन थालिसकेका छन् । कैयौं कलाकारहरूलाई दैनिकी गुजार्नै अप्ठ्यारो हुन थालेको छ । यसै बीचमा नेपाली चलचित्र उद्योग पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा सरोकारवालाहरूले जोड दिन थालेका छन् ।

चलचित्र उद्योगको यही विषयलाई लिएर सुशील कोइराला मेमोरियल फाउण्डेसनले ‘कोरोना महामारीः नेपाली चलचित्र क्षेत्र’ विषयक छलफल कार्यक्रम नै सञ्चालन गर्‍याे । जुम प्रविधिबाट आयोजना गरिएको उक्त छलफलमा सहभागी हुँदै  चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सन् २००८ देखि डिजिटल प्रविधिमा गएपछि चलचित्र उद्योग राम्रो चल्न थालिरहेकाे अवस्थामा  भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता कारणले धराशायी अवस्थामा पुगेको भन्दै दुख व्यक्त गरे । भूकम्पपछि बिस्तारै गति समातेको चलचित्र उद्योगले कोरोना महामारीका कारण १ वर्षमा एक अर्बभन्दा बढी घाटा लागेको अधिकारीले जानकारी दिए ।

कोरोनाअघि देशभर करिब ३ सय चलचित्र घर सञ्चालनमा थिए । गत वर्षको महामारीपछि खुलेको समयमा करिब ८० सिनेमा घर सञ्चालनमा आएका थिए । तर त्यहाँ पनि सिनेमा चल्न नसकेपछि बन्द भएका सिनेमा घर खुल्न नसक्ने गरी थला परेका अघिकारीको भनाइ छ ।

चलचित्र उद्योगमा कार्यरत हजारौं मानिस बेरोजगार भई बिहान-बेलुका हातमुख जोर्न समेत धौधौ हुन थालेको चलचित्र निर्माताहरूले गुनासो गरेका छन् । बन्द अघि नै प्रदर्शनका लागि तयार भएका चलचित्र प्रदर्शनमा आउन पाएका छैनन् । चलचित्रकर्मीहरू मारमा परेका छन् । उनीहरूले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र उद्योगसम्बन्धी नीतिगत स्पष्टता नआएकाले त्यसलाई सच्याउन समेत माग गरिएको छ । चलचित्र क्षेत्र पुनरुत्थान हुने कार्यक्रम बजेट मार्फत् आउनुपर्ने निर्माताहरूको माग छ । नेपाल आफैमा फिल्मसिटी भए पनि एउटा स्टुडियो आवश्यक रहेको निर्माताहरूको राय रहेको छ ।

यस्तै मोसन पिक्चर्स एशोसिएसनका अध्यक्ष मधुसुदन प्रधानले ऐतिहासिक पुरुष, संस्कृतिका विषयमा चलचित्र बनाउन अनुसन्धानात्मक कार्यक्रम बनाउनुपर्ने आवश्यक रहेको बताएका छन् । नेपालका जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाका विषयमा चलचित्र निर्माण सुरु भए पनि पुरा नभएको, वीर गणेशमान चलचित्रमा गणेशमान सिंहलाई न्याय नभएको उनले दाबी गरे ।

हाल अमेरिकामा रहेका निर्देशक एवं लेखक अनिश कोइरालाले चलचित्र बनाउन धेरै दस्तावेज जुटाएर अनुसन्धान गरेर अघि बढेमात्र सफल हुन सक्ने जानकारी दिए । चलचित्र निर्देशक महासंघका अध्यक्ष रक्षासिंह राणा, समालोचक सामीप्य तिमल्सिना लगायतले महिलालाई चलचित्रमा टिक्न अप्ठ्यारो हुने गरेको भन्दै कोरोना महामारीका कारण पनि थुप्रै चलचित्रकर्मी पलायन हुने अवस्थामा पुगेको बताए ।



फाउण्डेशनका सदस्य-सचिव अतुल कोइरालाले नेपाललाई चिनाउन सक्ने चलचित्र बनाइनुपर्नेमा जोड दिँदै बिपी, पुष्पलाल, सत्यमोहन जोशी, माधवप्रसाद घिमिरेजस्ता ऐतिहासिक व्यक्तित्वका विषयमा पनि चलचित्र बनाउन आवश्यक रहेकोमा जोड दिए । 



  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १२:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया