केपी ओलीले जति नै दबाब दिए पनि आफ्नो निष्ठा त्याग्दिनँ : पृथ्वीसुब्बा गुरुङ
जुँगाको लडाइँ छाडेर एमाले मिलाउन नेताहरुलाई दबाब

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको केन्द्रीय नेतृत्वले जति नै दबाब दिए पनि आफ्नो निष्ठा नत्याग्ने बताएका छन्। मुख्यमन्त्रीबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले जति नै दबाब दिए पनि निष्ठा नत्याग्ने बताए। 

पोखरास्थित सरकारी निवासबाट बाहिरिनुअघि पत्रकारहरुसँग कुरा गरेका उनले कसैको दबाबमा आएर निष्ठा छाड्ने मान्छे नरहेको जिकिर गरे।

उनले अहिले गण्डकीको विपक्षी गठबन्धन लामो समय नटिक्ने बताएका छन्। विपक्षी गठबन्धनलाई उनले अप्राकृतिक संज्ञा दिए। विपक्षी गठबन्धनमा विवाद आएर लामो समय नटिक्ने उनको दाबी छ। 

‘पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरको मिलेका छन्, मुख्यमन्त्रीका लागि, प्रधानमन्त्रीका लागि पनि,’ उनले भने, ‘यो गठबन्धन लामो जाओस् र सरकार चलाओस् भन्ने आशा गरेको छु। तर गठबन्धन लामो समय जाँदैन र जान सक्दैन।’

उनले आफू संसद विघटनको पक्षमा नरहेको बताए। 'म सदन ५ वर्ष नै जाओस् भन्ने पक्षमा छु। राजनीतिक निष्ठामा अडिग छु', उनले भने, 'विघटनको सोच मैले बोकेको छैन। प्रदेश सभा ५ वर्ष चलोस् भन्ने मान्छे हुँ। केपी ओलीको दबाबमा परेर पृथ्वी सुब्बाले आफ्नो निष्ठा त्याग्न सक्दैन।’

अब आफू एमालेमा देखिएको विवाद मिलाउन लाग्ने बताएका छन्। मुख्यमन्त्री रहँदा पार्टीका काममा ध्यान दिन नसकेको बताउँदै उनले  प्रमुख प्रतिपक्षीमा रहेर अब पार्टीको विवाद मिलाउन लाग्ने बताए। ‘मैले अब हरेक दिन पोखरामा बसिरहनु पर्दैन', उनले भने, 'केन्द्रीय राजनीतिमा भूमिका खेल्ने समय मिलेको छ, विवाद मिलाउन समय पाएको छु।’



गुरुङले एमालेकै केही नेताहरुले गर्दा मुलुकको राजनीतिको कोर्स बदलिएको बताए। एमाले नेताहरु माधव नेपाल र झलनाथ खनालतिर लक्षित गर्दै गुरुङले अहिलेको गठबन्धन उनीहरुकै कारण तयार भएको पनि जिकिर गरे। ‘दहीझैँ जमेर बसेको राजनीतिमा कागती निचोरेर फालेजस्तो गरे नेताहरुले', उनले भने, 'विपक्षी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउँछु भनेर हस्ताक्षर नगरेको भए यो गठबन्धन बन्न सक्ने थिएन।’

उनले पार्टीको विवाद मिलाउन केन्द्रका नेताहरु अब सच्चिनुपर्ने बताए। गुरुङले केन्द्रका नेताहरुका कारण अस्थिरता निम्तिएको बताए। 'अब उनीहरुले जुँगाको लडाइँ छाड्नुपर्छ', उनले भने, 'एकजनालाई मात्रै दोष दिएर हुँदैन। केन्द्रका सबै नेता सच्चिनुपर्छ। अब एमालेभित्रको जुँगाको लडाइँ धेरै चल्नु हुँदैन।'



उनले  संघीयता कार्यान्वयन जटिल रहेको बताए। 'अब कांग्रेसहरूले बल्ल संघीयता कार्यान्वयनका समस्या थाहा पाउनेछन्', उनले भने, 'मलाई सत्तामा हुँदा गाली गर्नेले संघीयताका समस्यालाई कसरी हल गर्लान्? अब हामी खबरदारी गर्नेछौँ।'

  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १४:१२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया