नेपालमै पहिलो लिक्विड अक्सिजन प्लान्ट निर्माण सुरु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अक्सिजन प्लान्टको शिलान्यास गरेपछि निर्माण सुरु भएको हो।
ओलीले आइतवार भर्चुअल माध्यमबाट रुपन्देहीको सिमरहवामा स्थापना हुने यो प्लान्टको शिलान्यास गरेका हुन्। यो प्लान्टले प्रतिदिन ६० मेट्रिक टन अक्सिजन उत्पादन गर्छ।
शिलान्यासका क्रममा बोल्दै ओलीले कोभिड-१९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्ट स्थापना असाधारण खुसीको विषय भएको बताए।
कोभिड-१९ सिर्जित विषम परिस्थितिले यस काममा प्रेरित गरेको पनि प्रधानमन्त्रीले बताए। 'दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजन अभाव, सिलिन्डर अभाव आदिले ग्रस्त बनायो', ओलीले भने, 'त्यतिबेला हामीले महँगो मूल्य तिरेरै पनि छिमेकीसहित विदेशबाट अक्सिजन सिलिन्डर किन्यौँ।’
कोरोना संक्रमितको श्वासप्रश्वासमा समस्या ल्याउन थालेपछि अचानक बढेको माग सम्बोधन गर्न साधन स्रोत र संरचना अभाव भएपछि यसअघि भारत र चीनबाट अक्सिजन आयात गरिएको ओलीले बताए।
संकटसँग जुध्न सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राखेको उनले बताए। हरेक १ सय शय्या भन्दा बढीका अस्पतालले अनिवार्य आफैँले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत ल्याएको पनि प्रधानमन्त्रीले बताए। महामारीको समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्विड अक्सिजन प्लान्ट राख्ने निर्णय लिएको उनले बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।