निशाको जीवन रक्षामा कलाकारको साथ

नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको थप उपचारका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानको तर्फबाट सदस्यहरु नर्भिक अस्पतालमा पुगी निशाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर उनको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । 

निशाको परिवारलाई आर्थिक सहयोग गरेर फर्किएपछि लोकगायक बद्री पंगेनीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कलाकार निशा घिमिरेको स्वास्थ्य असाध्यै नाजुक रहेको कुरा जानकारी पाएलगत्तै हाम्रो संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल परिवार नर्भिक हस्पिटलमै उपस्थित भएर उहाँको परिवारलाई परेको आर्थिक भारमा केही हदसम्म भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले थोरै भए पनि सहयोग रकम हस्तान्तरण गरेका छौँ ।’

निशाको अवस्था सार्वजनिक भएसँगै उनलाई सहयोग गर्ने संस्था तथा व्यक्तिहरु बढिरहेका छन् । शनिबार मात्रै निशाको सहयोगमा चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले आर्थिक सहयोगको घोषणा गरेको थियो । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा गएको बिहीबारदेखि निशाको नर्भिकमा उपचार थालिएको छ ।

अभिनेत्री करिश्मा मानन्धर र रेजिना उप्रेतीले व्यक्तिगत रुपमा नै निशाको परिवारलाई आर्थिक सहयोग गरेका छन् । उनीहरुसँगै अभिनेत्री उषा पौडेलले पनि निशाको उपचारका लागि आर्थिक सहयोग पठाएकी छन् । उनीहरुले ५७ हजार रुपैयाँ सहयोग गरेका हुन् । 

अमेरिकामा रहेका नेपाली कलाकारहरुले पनि निशाको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु गरेको अमेरिकामै रहेका निर्देशक सुमन दाहालले फेसबुकमा लेखेका छन् । उनले अबको केही दिनमै सहयोग रकम नेपाल पठाउने पनि उल्लेख गरेका छन् ।

तीन वर्षअघि भारतको देहरादुनमा अभिनय सिक्न जानेक्रममा दुर्घटनामा परेकी निशाको केही समय भारतमै उपचार भएपनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण थप उपचार हुन सकेको थिएन ।





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार ११:३३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया