सुशान्तको मृत्यु भएको वर्ष दिन पुग्दा पनि नसुल्झिएको केस

३४ वर्षीय सुशान्त सिंह राजपुतको मृत्यु भएको आज वर्ष दिन पुगेको छ । उनी सन् २०२० को जुन १४ मा मुम्बईको आफ्नै फ्ल्याटमा मृत अवस्थामा पाइएका थिए ।

सुरुवाती दिनमा सुशान्त सिंह राजपुतले आत्महत्या गरे भनेर बताइयो । तर त्यसपछिका दिनहरूमा भने केसले सनसनी फैलायो । केसका अनेकन कुराहरू बाहिर आए।
 
मुम्बई पुलिस, बिहार पुलिस, केन्द्रीय अन्वेषण ब्युरो, नारकोटिक्स कन्ट्रोल ब्युरो र प्रवर्तन निर्देशनालयले सुशान्त सिंह राजपुतको केस जाँच गरिरहेका छन् । तर एक वर्ष बित्दा पनि आत्महत्या हो या होइन भनी स्पष्ट हुन सकेको छैन ।

मुम्बई पुलिसको प्राथमिक जाँचमा सुशान्त सिंहले आत्महत्या गरेको जनाएको थियो । सिबिआईले भने अहिलेसम्म केसको बारेमा केही बताएको छैन ।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले भने यस केसमा बलिउडमा सक्रिय रहेको ड्रग्स सिन्डिकेटलाई जाँच गरिरहेको छ । प्रवर्तन निर्देशनालयले पनि अहिलेसम्म पैसाको हिनामिनामा कुनै प्रमाण प्राप्त गर्न सकेको छैन ।

यस अवस्थामा केस हेरिरहेकाले के के गरिरहेका छन् ? अनुसन्धानबाट केके प्राप्त भयो ? यस सम्बन्धमा यहाँ केही छलफल गरिनेछ ।

सिबिआईको अनुसन्धान



सिबिआईले सुशान्त सिंह राजपुतले आफ्नो ज्यान आफै लिएको बताएको छ । सिबिआईलाई सुशान्तको केसको अनुसन्धान गर्ने जिम्मा भारतको सर्वोच्च अदालतले दिएको थियो । जिम्मा दिएको पनि दस महिना बितिसकेको छ । अनुसन्धानमा के भेटियो ? सिबिआईले यस बारेमा केही जवाफ दिएको छैन ।

महाराष्ट्रका पूर्व गृहमन्त्री अनिल देशमुख लगातार सुशान्त केससँग जोडिएका सिबिआईको रिपोर्ट सार्वजनिक गर्न माग राखिरहेका छन् ।



सिबिआईले यस मामिलामा बलिउड अभिनेत्री र सुशान्तकी पूर्व-प्रेमिका रिया चक्रवर्ती, सुशान्तको साथी सिद्धार्थ पिठानी, उनका कुक नीरज र दीपेश सावन्तको बयान लिइसकेको छ । सिबिआईले के सुशान्तको हत्या भएको थियो भन्ने विषयमा अनुसन्धान गर्न एक समिति बनाएको थियो । यस समितिको अगुवाइमा दिल्लीका अखिल भारतीय आयुर्विज्ञान संस्थानका फरेन्सिक विभागका प्रमुख डाक्टर सुधीर गुप्ता थिए ।

सुशान्तको घरमा क्राइम सिनलाई रिक्रियट (फेरि बनाइएको) थियो । डा. सुधीर गुप्ताले आफ्नो रिपोर्ट सेप्टेम्बर २०२० मा सिबिआईलाई सुम्पिएका पनि थिए । उनले मिडियासँग भनेका थिए, ‘सुशान्तले फाँसीको सहयोगमा आत्महत्या गरेका हुन् । उनको शरीरमा अरू कुनै चोटपटक थिएन ।’

यही बीच भारतीय जनता पार्टीका सांसद सुब्रमण्यन स्वामीले यस मुद्दामा प्रधानमन्त्री कार्यालयबाट पनि जानकारी मागेका थिए ।
सिबिआईले उनलाई यस केसको बारेमा अनुसन्धान भइरहेको र हर स्वरूपमा विचार भइरहेको जनाएको थियो ।

सिबिआईले भनेको थियो कि,‘यस केसमा सबै आधुनिक प्रविधिको प्रयोग गरिएको छ । हामीले इलेक्ट्रोनिक उपकरणबाट आंकडा जुटाइरहेका छौँ । वरिष्ठ पुलिस अधिकारीले विभिन्न क्षेत्रमा गइ अनुसन्धान गरिरहेका छन् ।’ त्यसपछि सिबिआईले सुशान्त केसको बारेमा केही जानकारी दिएको छैन । त्यो बेलामा पनि सिबिआईले आफ्नो अनुसन्धानको निष्कर्ष बारेमा केही बताएको थिएन ।
 
महाराष्ट्र पुलिसका पूर्व महानिर्देशक सुबोध कुमार जैसवाल  सिबिआईको निर्देशक बनेका छन् । अब सुशान्तको केस उनकै हातमा छ ।

प्रवर्तन निर्देशनालय

सुशान्तको परिवारले रिया चक्रवर्तीले उनको बैंकबाट १५ करोड रुपैयाँ झिकेको आरोप लगाएका थिए । प्रवर्तन निर्देशनालयले यस केसमा प्रिभेन्स अफ मनी लन्डरिङ एक्ट (पिएमएलए) बाट पनि अनुसन्धान थालेको थियो । रियासँग निर्देशनालयले सन् २०२० को अगस्ट ७ मा सोधपुछ गरेको थियो ।

रियाको प्रवन्धक र सुशान्तको पूर्व म्यानेजरलाई पनि निर्देशनालयले सोधपुछका लागि बोलाएको थियो । निर्देशनालयका अधिकारीहरूले सुशान्तको बैंक खाता र रिया अथवा उनको परिवारको सदस्यको बैंक खाताबीच कुनै लेनदेन नभएको  बताए । 

नारकोटिक्स कन्ट्रोल ब्युरोकाे अनुसन्धान

रियाको मोबाइल फोन जाँच गर्दै गर्दा प्रवर्तन निर्देशनालयले ड्रग्सकाे बारेमा भएको कुराकानी थाहा पाएको थियो । यसै क्रममा सुशान्तको केसमा नारकोटिक्स कन्ट्रोल ब्युरोले पनि अनुसन्धान सुरु गर्ने भयो । 

एनसिबीले रियालाई सन् २०२० को सेप्टेम्बर ८ मा गिरफ्तार गर्यो । अदालतमा एनसिबीले रियाले ड्रग्स किनेको बताएको थियो । रियाले नै सुशान्तको बानीमा परिवर्तन ल्याउने कोसिस गरेकी थिईन् । उनको ह्वाट्सएप च्याट हेर्दा यो स्पष्ट हुन्छ कि उनी ड्रग्स आपूर्ति गर्ने ग्याङसँग जोडिएकी थिईन् ।

अक्टोबर २०२० मा रियालाई उच्च अदालत बम्बईले जमानत दिएको थियो । 

एनसिबीले सुशान्तको मृत्युसँग जोडिएका ३० भन्दा धेरै मानिसलाई गिरफ्तार गरिसकेको छ । गिरफ्तार भएका मानिसमा रियाको भाइ शौविक पनि थिए । शौविकलाई पनि पछि रिहा गरियो ।

यसै बीचमा एनसिबीले यसै साल २६ मेमा सुशान्तको फ्लाटमा बस्ने सिद्धार्थ पठानीलाई गिरफ्तार गरेको थियो । एनसिबीका महानिरीक्षक समीर वानखेडेले सिद्धार्थको गिरफ्तार बारेमा बताएका थिए कि,‘सिद्धार्थ फरार थियो । उसलाई हैदराबादबाट पक्राउ गरियो, यस सम्बन्धमा जाँच चलिरहेको छ ।’

पिठानीको गिरफ्तारलाई  महत्वपूर्ण मानिएको छ किनभने जब सुशान्तको मृत्यु भएको थियो, तब पठानी सुशान्तकै फ्लाटमा थिए । 

यस केसमा एनसिबीले दीपिका पादुकोण, रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपुर, अर्जुन कपुर लगायतका विभिन्न कलाकारसँग सोधपुछ गरेको थियो । तर यी बलिउडका कलाकारसँग किन सोधपुछ गरियो, यसको बारेमा केही जानकारी मिल्न सकेको छैन ।

मुम्बई प्रहरीले के अनुसन्धान गरेको थियो ?

सुशान्तको मृत्यु एक हाइ प्रोफाइल केस थियो । तर सुशान्तले सुसाइड नोट भने छाडेका थिएनन् ।
मुम्बई प्रहरीका अभिषेक त्रिमुखेले पोस्टमार्टमको रिपोर्टका आधारमा सुशान्तको मृत्यु झुन्डिएको कारण, सास फेर्न नसकेर भएको बताएका थिए ।

सन् २०२० को जुलाई २७ मा फरेन्सिक ल्याबले पनि मुम्बइ प्रहरीलाई एक रिपोर्ट दिएको थियो । फरेन्सिक ल्याबको रिपोर्टमा पनि यो हत्याको केस नभएको उल्लेख गरिएको थियो । सुशान्तको भिसेराको नमुनामा पनि घातक केमिकल अथवा ड्रग्स भेटिएको थिएन ।

बिहार प्रहरी र जाँचकाे राजनीति

सुशान्तको परिवारले मुम्बई प्रहरीको अनुसन्धानमा प्रश्न उठाएका  थिए । जसले गर्दा उनीहरुले बिहारको प्रहरीमा नयाँ केस दर्ता गरे । सुशान्तको केसमा राजनीतिक मोड आएको थियो । यो मामिला बिहारको विधानसभा चुनावभन्दा पहिला नै देखा परेको थियो । स्थानीय स्तरबाट लिएर राजधानीसम्म यो मुद्दा राजनीतिक आरोप-प्रत्यारोपको कारण बन्यो । 

बिहार प्रहरीको एक टिम अध्ययन गर्नका लागि मुम्बई गयो । यस विषयमा बिहार प्रहरीलाई अध्ययन गर्ने अधिकारलाई लिएर अनेकौं प्रश्न उठे । यसै क्रममा बिहार र महाराष्ट्रबीचमा पनि  वाकयुद्ध भएको थियो । 

सुशान्तको केसमा पाँच अनुसन्धान एजेन्सीको सहभागी भए पनि सुशान्तले आत्महत्या गरे  कि गरेनन् भन्ने विषय रहस्य नै भएको छ । 

(याे सामग्री बिबिसी हिन्दीबाट साभार गरिएकाे हाे ।)


 


  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १९:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया