सातै प्रदेश सरकारले आज आगामी वर्षको बजेट ल्याउँदै
बजेट कोरोना र स्वास्थ्य पूर्वाधारमा केन्द्रित हुने

देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज ल्याउँदै छन्। कर्णालीबाहेक अन्य प्रदेशको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा छलफल भएर पारित भइसकेका छन्। संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनैपर्ने प्रावधान छ ।

यो पटक सबै प्रदेशले नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, सङ्क्रमितको उपचार र स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन्। बजेटले पनि यो पटक स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकता दिने छ।

प्रदेश १ ले बजेट ल्याउन अपराह्न ३ बजेका लागि प्रदेशसभा बैठक बोलाएको छ। प्रदेश २ ले अपराह्न ४ बजेका लागि प्रदेश सभाको बैठक राख्दैछ। दुवै प्रदेशमा नीति तथा कार्यक्रम शनिबार नै प्रदेशसभाबाट बहुमतले पारित भइसकेको छ। बागमतीमा पनि एमाले सांसद एकजुट भएर नीति तथा कार्यक्रम पारित गरेकाले अपराह्न ३ बजेका लागि बजेट ल्याउने बैठक राखिएको छ।

नवगठित गण्डकी प्रदेशमा सरकारले आजै बजेट ल्याउने तयारी गरेको छ। गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार पेस गरेको नीति तथा कार्यक्रम  राति अबेर पारित पारित भएको छ। बजेट मुख्यमन्त्री पोखरेलले नै बाचन गर्नेछन्।

उता लुम्बिनी प्रदेशले अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। कर्णाली प्रदेशले दिउँसो १ बजे प्रदेशसभा बैठक राखेको छ। तर त्यहाँ अझै पनि नीति तथा कार्यक्रम पारित हुन सकेको छैन। त्यसैले बजेट पनि अन्योलमा छ। 

सुदूरपश्चिम प्रदेशले आजै अपराह्न ४ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। यी सबै प्रदेशले बजेटलाई स्वास्थ्यमा केन्द्रित गर्ने योजना बनाइसकेका छन्।  



केन्द्र सरकारले सातै प्रदेश सरकारलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, स-शर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाखसहित एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रुपैयाँ दिएको छ।

यससँगै राजस्व बाँडफाँट र रोयल्टी बाँडफाँटबाट पनि प्रदेशलाई रकम जान्छ। प्रदेशको आफ्नै स्रोतबाट पनि राजस्व परिचालन हुने गरेको छ। 



  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार ८:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया