विशेषज्ञ चिकित्सक भन्छन् : कोरोना मुक्त भएपछि अनावश्यक चिन्ता नलिनुस्

कोरोना संक्रमणमुक्त भएपछि विभिन्न समस्या लिएर अस्पताल जानेको संख्या बढ्दो छ । संक्रमणमुक्त भइसकेपछि पनि उनीहरू केही न केही समस्या लिएर चेकअपका लागि आउने गरेको चिकित्सकहरूको भनाइ छ ।

संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले एक तिहाई जति मानिसहरू पुनः अस्पताल आउने गरेको बताए । उनीहरू केही न केही समस्या देखिएको भन्दै अस्पताल आउने गरेको उनको भनाइ छ । 

‘अधिकांश मानिसलाई केही समस्या देखिँदैन । थोरैको संख्यामा भने केही न केही समस्या भयो भन्दै आउने गरेका छन्’, डा. सुवेदीले भने ।

अहिले विशेष गरी केही समस्या नभएपछि आफू कमजोर भएको महसुस गर्ने, तनावमा बढी रहेर अनेकन आशंका गर्ने खालको समस्या रहेको डा. सुवेदी बताउँछन् ।

आफूकहाँ उपचारका लागि आउनेमा मानसिक समस्याबाट पीडित रहेको उनको भनाइ छ । धेरै मानिसहरूमा कोभिडपछि देखा पर्ने समस्याबारे अनावश्यक चिन्ता लिइरहने गरेको उनको भनाइ छ । सामाजिक सञ्जालका कारण समेत मानिसहरूमा यस्तो अनावश्यक चिन्ता बढेको उनले बताए ।

कोरोना निको भएपछि पनि केही समस्या देखिएको खण्डमा आत्तिनु नपर्ने उनको भनाइ छ । गम्भीर खालको समस्या देखिएको खण्डमा अस्पताल जानुपर्ने र सामान्य अवस्थामा भने अनावश्यक तनाव लिएर बस्न नहुने उनले बताए । 



कोरोना नेगेटिभ आएपछि पनि केही समय कमजोरी हुने, ज्वरो आउने, रुघाखोकी लाग्नु सामान्य रहेको उनको भनाइ छ । ‘कोरोना निको हुने बित्तिकै सबै कुरा ठीक हुन्छ भन्ने छैन । कसैलाई कमजोरी हुनसक्छ । कोहीलाई लक्षण अलि ढिलासम्म रहन सक्छ’, डा. सुवेदीले भने । 

पूर्व स्वास्थ्य सचिव तथा छाती रोग विशेषज्ञ डा. दीर्घ सिंह बमले कोरोनापछि निमोनिया भएकालाई भने केही समय समस्या हुनसक्ने बताए । ‘एकातिर मानसिक समस्याले सताइरहेको हुन्छ । धेरैमा रोग निको भए पनि मलाई केही समस्या पो भयो कि, कोरोना ठीक भएन कि ? जस्ता आशंकामा कोरोना निको भएपछि पनि अस्पताल आउने गरेका छन्’, डा. बमले भने । 



विशेष गरी कोरोना संक्रमणको समयमा होम आइसोलेसनमा बसेकाहरू पोस्ट-कोभिडको समस्या लिएर आउने गरेको उनको भनाइ छ ।

केहीमा भने समस्या नै हुने गरेको तर धेरैजसो आशंकामा नै अस्पताल चेकअपका लागि आउने गरेको डा. बमले बताए । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले पहिलो लहरको कोरोना महामारीपछि पनि यस्तो समस्या लिएर आउने संख्या बढेको भन्दै अहिले पनि त्यस्ता खालका बिरामीको संख्या बढ्दो रहेको बताए । 

कस्ता लक्षण हुन्छ ?

कोरोना निको भएपछि मानिसहरूमा छाती दुख्ने, असजिलो महसुस हुने, निद्रा नलाग्ने, माशंपेसी दुख्ने जस्ता समस्या लिएर आउने बिरामीको संख्या बढी रहेको डा. बम बताउँछन् ।

कोरोना निको भएपछि पनि केहीमा खोकी लागिरहने, छाती दुख्ने, थकान महसुस हुने, डर र चिन्ता हुने, मुटुसम्बन्धी समस्या लगायतका लक्षण देखिन सक्ने उनको भनाइ छ । 

कोरोना संक्रमणपछि केही महिनासम्म पनि यस्तो खालको समस्या देखिन सक्ने छाती रोग विशेषज्ञ डा. बम बताउँछन् । गम्भीर खालको समस्या देखिएको खण्डमा भने अस्पताल जानुपर्ने उनको भनाइ छ । 

सामान्य लक्षण देखिएको खण्डमा अस्पताल नै जानुपर्ने अवस्था नरहेको डा. बमको भनाइ छ । ‘कोरोना निको भएपछि केही समयमा कमजोर महसुस हुने, छाती दुख्ने, लगायतका सामान्य लक्षण देखिन सक्छन् । यदि गम्भीर खालको समस्या आयो भने डाक्टरसँग परामर्श गर्नैपर्छ’, डा. बमले भने । 

अहिले धेरैलाई मानसिक परामर्शको आवश्यकता रहेको भन्दै धेरै चिन्ता लिएर नबस्न सुझाव दिए ।

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १६:४५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया