प्रदेश २ को बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले मंगलबार छैटौं अधिवेशनको बैठकमा प्रस्तुत गरेको वार्षिक आय-व्यय विवरणमा चालु तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत रकम विनियोजन गरिएको छ ।

यसैगरी पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात् ५३.४४ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १० करोड अर्थात् ०.३० प्रतिशत विनियोजन गरिएको छ । बजेटको स्रोतमा नेपाल सरकारका तर्फबाट अनुदान १३ अर्ब ९० करोड ३४ लाख रहेको मन्त्री यादवले बताए ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार रहेको छ । 

राजस्व बाँडफाँडबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ६ अर्ब २५ करोड गरी जम्मा ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार व्यहोर्दा १ अर्ब न्यून हुने देखिन्छ । सो न्युन रकम पूर्ति गर्नका लागि आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ । प्रदेशभरका स्थानीय तहहरूलाई आगामी आर्थिक वर्षमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख विनियोजन गरिएको हो ।



प्रदेश २ सरकारले आर्थिक वर्ष ०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो । 

जसमा चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत रकम विनियोजन गरिएको थियो भने पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३.६७ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात ०.४८ प्रतिशत विनियोजन गरिएको थियो । 



यसअघि, गत आर्थिक वर्ष २०७६/७७  मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको थियो ।

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १७:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया