प्रदेश २ बजेट : परम्परागत र वितरणमुखी रहेको विपक्षी दलका नेताको टिप्पणी

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ल्याएको बजेट परम्परागत र वितरणमुखी रहेको विपक्षी दलका नेताहरुले टिप्पणी गरेका छन् । 

माओवादी केन्द्रका प्रदेशसभा सदस्य दिलीप साहले वितरणमुखी बजेट रहेको आरोप लगाउँदै पुरानै कार्यक्रमलाई बढी प्राथमिकताका साथ समावेश गरिएको आरोप लगाएका छन् । उनले भने, ‘प्रदेश सरकारले ल्याएको बजेट परम्परागत बजेट हो । यस बजेटमा जनतालाई अनुभूति हुने खालका कुनै नयाँ कार्यक्रम समावेश गरिएको छैन ।’

नेकपा एमालेका प्रदेशसभा सदस्य मञ्जु यादवले बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गरिन् । उनले बजेटमा परम्परागत शैलीलाई निरन्तरता दिइएको र प्रचारमुखी बजेट ल्याइएको आरोप लगाइन् । उनले भनिन्, ‘यस प्रकारको बजेटले जनतालाई प्रत्यक्ष लाभ हुनै सक्दैन, सरकारले प्रचारमुखी बजेट मात्रै ल्याएको हो ।’

त्यस्तै, जसपा महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले यो बजेट वितरणमुखी रहेको आरोप लगाए । उनले सरकारको सारथि बनेको नेपाली कांग्रेसलाई खुसी पार्नका लागि यस प्रकारको बजेट ल्याइएको आरोप लगाए । उनले भने, ‘प्रदेश सरकार नेपाली कांग्रेसलाई केही दिन अगाडि मात्रै सरकारमा प्रवेश गराएको छ, आफ्ना नयाँ साथीलाई खुसी पार्नका लागि यस्तो खालको बजेट ल्याइएको छ ।’

यससम्बन्धमा अर्थशास्त्री डा. सुरेन्द्र लाभले प्रदेश २ सरकारको बजेट परम्परागत बजेट रहेको भन्दै समाजवादउन्मुख बजेट हुन नसकेको जिकिर गरे । उनले भने, ‘प्रदेश सरकारले गरिब, विपन्न वर्गलाई बजेटमा सम्बोधन गर्नुपर्थ्यो, तर त्यस्तो केही गरिएको देखिएन ।’ 

प्रदेशमा कोरोना महामारीका कारण अर्थतन्त्र धराशायी भएको अवस्थामा बेरोजगारी, भोकमरी बढे पनि बजेटमा त्यस्ता वर्गलाई सम्बोधन नै नगरिएकोप्रति उनले असन्तुष्टि जनाएका छन् ।  



लाभले बजेट ३ खम्बे अर्थनीतिमा आधारित रहेर हुने गरे पनि त्यो नियमलाई समेत प्रदेश सरकारले पालन गर्न नसकेको दाबी गरे । उनले भने, ‘३ खम्बे अर्थनीतिअन्तर्गत पर्ने सरकारी क्षेत्र, निजी क्षेत्र तथा सहकारी क्षेत्रमध्ये सरकारी क्षेत्रलाई मात्रै सम्बोधन गरिएको छ ।’

प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले मंगलबार आगामी आर्थिक वर्ष ०७८–०७९ का लागि कुल ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सावर्जनिक गरेका छन् ।



मन्त्री यादवले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्ष २०७७–७८ को भन्दा २३ करोड ४ लाख ४१ हजार बढी रहेको छ । चालू आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारमध्ये चालूतर्फ ४६.२६ प्रतिशत अर्थात् १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ ५३.४ प्रतिशत अर्थात् १८ अर्ब ५ करोड ८० लाख ८३ हजार तथा वित्तीय व्यवस्थातर्फ ०.३ प्रतिशत अर्थात १० करोडको बजेट विनियोजन गरेको छ ।

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १९:५४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया