गृहमन्त्री भन्छन् : आर्थिक लाभको लोभ छैन, राम्रो काम गरेर नाम कमाउँछु

गृहमन्त्री खगराज अधिकारीले कोरोना महामारी नियन्त्रण गर्दै नागरिकलाई खोप उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। उनले नागरिकलाई खोप दिएर जीउधनको सुरक्षा गर्दै निर्वाचनको तयारीमा लाग्नु सरकारको प्राथमिकता भएको बताएका छन्। 

मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक पत्रकारसँगको छलफलमा उनले महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र आसन्न निर्वाचनलाई विश्वसनीय बनाउने गरी तयारीका लागि कार्ययोजना बनाउन काम गरिरहेको जानकारी दिए।

देशको स्वाधिनता रक्षा र कानुनको पालनामा खबरदारीसहित साथ दिन सञ्चारकर्मीसँग आग्रह गर्दै अधिकारीले आफूले पदको दुरुपयोग नगरी इमान र विवेकका साथ देशको माटोको रक्षा र सुशासनका लागि काम गर्ने बताए।

‘म यहाँ कमाउन आएको होइन, मलाई कुनै आर्थिक लाभ लिनु छैन । म गृह प्रशासनका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी नयाँ केही छाप दिएर ख्याति कमाउन चाहन्छु,’उनले भने,‘मलाई गृह प्रशासन र सुरक्षा निकायमा कुनै दबाब र प्रभाव विस्तार गर्नु छैन। कतिपय नेताबाट दबाब र प्रभाव त हुँदो रहेछ। तर म नियम र कानुनअनुसार प्रणालीले काम गरोस् भन्छु।'

त्यसक्रममा मन्त्री अधिकारीलाई पत्रकारहरूले सीमा क्षेत्रका सशस्त्र प्रहरी कर्मचारीलाई स्रोत, साधन र प्रोत्साहन दिन, जनताले सुशासन र सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न सुझाए। 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार २०:५३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया