बढेको बागमतीको बजेट : कोरोना खोपदेखि आफ्नै सञ्चार गृहसम्म (पूर्ण पाठसहित)

बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा भन्दा ठूलो आकारमा बजेट ल्याएको छ । आर्थिक वर्ष ०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको बागमती प्रदेश सरकारले गत वर्ष ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारका तर्फबाट क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल बजेटमध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार विनियोजन र पुँजीगत तर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार रुपैयाँ विनियोजन गरेका हुन् ।

बजेट चालु तर्फ ४५ प्रतिशत, पुँजीगत तर्फ ५१ प्रतिशत र वित्तीय तर्फ ४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । सरकारले बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्व तर्फ ६ अर्ब ८२ करोड १३ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालु आर्थिक वर्षबाट राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको मन्त्री ढुंगेलले बताए ।

बजेटको ठूलो हिस्सा कोरोना केन्द्रित 

बागमती प्रदेश सरकारले कोभिडका कारण निम्तिएको संकट समाधानका लागि बजेटको ठूलो हिस्सा खर्चिने भएको छ । प्रदेश सरकारले कोरोना विरुद्धको खोपका लागि २ अर्ब  बजेट छुट्याएको वक्तव्यमा उल्लेख छ ।

यस्तै कोभिडका कारण आमा-बाबु दुवै गुमाएका बालबालिकालाई मासिक ३ हजार शिक्षा तथा सामाजिक भत्ता र अन्य कारणले आमा-बाबु गुमाएका बागमती प्रदेशका बालबालिकालाई मासिक २ हजार रुपैयाँ स्थानीय तह सँगको समन्वयमा दिने व्यवस्था बजेटमा गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।



बागमती प्रदेशको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम आगामी वर्षमा सञ्चालन गर्न २२ करोड रुपैयाँ विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।

बागमती प्रदेश सरकारले आफ्नै स्वायत्त सञ्चार संस्थाका लागि बजेट विनियोजन गरेको छ । बजेटको १४४ औं बुँदामा प्रदेश सरकारले आफैंले सञ्चार गृह चलाउने गरी १० करोड रुपैयाँ बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बताएका हुन् ।



सांसद विकास कोष खारेज, कर्मचारीको तलब बढ्ने

आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा सांसदलाई क्षेत्रगत विकासका रूपमा समेटेर प्रदेश पूर्वाधार विकास कार्यक्रमका नाममा दिइने बजेट खारेज गरिएको छ । यस अघि  बागमती प्रदेशका सांसदका लागि प्रदेश पूर्वाधार विकास कार्यक्रमका नाममा बजेट दिइँदै आएको थियो । बागमती सरकारले आर्थिक वर्ष ०७७/७८ मा प्रत्यक्षतर्फका सांसदलाई ३ करोड र समानुपातिक तर्फका सांसदलाई १ करोड उपलब्ध गराएको थियो ।

बागमती प्रदेश सुरुवातको वर्षमा प्रदेश गौरवको आयोजनाका रूपमा व्याख्या गरेको पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङमार्गका लागि यो वर्ष थोरै रकम छुट्याएको छ । करिब १८ अर्ब लागत अनुमान गरेको सुरुङमार्गका लागि प्रदेश सरकारले नयाँ बजेटमा ७५ करोड रुपैयाँ विनियोजन गरेको हो । सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्ने समेत जनाइएको छ ।

यस्तै बागमती प्रदेशको शिक्षक कर्मचारीहरूको तलब वृद्धि भएको छ । साउन १ गतेबाट प्रदेशका सबै निजामती कर्मचारी, शिक्षकहरूको मासिक २ हजारका दरले तलब बढेको बजेटमा घोषणा भएको छ ।

वित्तीय हस्तान्तरणको रकम वृद्धि 

बागमती प्रदेशले आगामी आर्थिक वर्ष ०७८/७९ मा स्थानीय तहलाई चालु वर्षभन्दा ३.७ प्रतिशतले वित्तीय हस्तान्तरण रकम वृद्धि गरेको छ । प्रदेशले ११९ स्थानीय तहलाई १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । प्रदेश समपूरक अनुदान ३०९ योजनाका लागि २ अर्ब ९२ करोड विनियोजन भएको छ । विशेष अनुदान ४२ करोड, सशर्त अनुदान २ अर्ब ६९ करोड विनियोजन भएको छ ।

विभागीय मन्त्रालयबाट शिक्षामा ६९ करोड, कृषि २७ करोड, भौतिक पूर्वाधारका लागि १ अर्ब ७० करोड वित्तीय हस्तान्तरण विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।

बागमती प्रदेशको अधिकांश कार्यक्रम भने गत सालकै दोहोरिएका छन् । नीति तथा कार्यक्रममा घोषणा भएका कार्यक्रम समेटिए तापनि संघको बजेटसँग केन्द्रित कार्यक्रमहरूमा गत सालकै निरन्तरता देखिन्छ ।

 

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार २१:२६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया