दीपक मनाङेलाई बचन सिंहको जवाफ : एमाले युवाको भाटे कारबाही खान तयार हुनु
गर्धन समातेर फेरि जेलमा हाल्ने चेतावनी

नेकपा एमालेनिकट युवा संघ नेपालका पूर्वअध्यक्ष बचन बहादुर सिंहले गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रि दीपक मनाङे 'राजीव गुरुङ'लाई गुण्डाको शैलीमा प्रस्तुत हुने काम बन्द गर्न चेतावनी दिएका छन्। 

केही दिनदेखि पूर्व गुण्डा नाइकेसमेत रहेका मनाङे प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालबारे जथाभावी बोलेको भन्दै उनले आक्रोश पोखेका हुन्। 

'प्रधानमन्त्री र राखेप सदस्य सचिवबारे अभिव्यक्ति स्वतन्त्रताको नाममा गुण्डा शैलीमा जे बोलिरहेका छन्,निकै खेदजनक छ। नामुद डाकु रत्नाकर त वाल्मीकि बने भने टोले गुण्डा मनाङेलाई पनि सुध्रिने मौका एमालेले दिएकै हो', उनले भनेका छन्, 'एमालेको मत लिएर गण्डकी प्रदेशसभा सदस्य बनेका उनी '१२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा बाँधे पनि बाङ्गाको बाङ्गै' भने झैँ, मनाङेको पनि सुध्रिने छाँट छैन।'

सिंहले फोहोरी संसदीय अभ्यासका कारण गण्डकी प्रदेशमा मन्त्री बनेर हौसिएका मनाङेलाई जे गरे पनि हुन्छ भन्ने भ्रमबाट मुक्त हुन पनि चेतावनी दिएका छन्। 

'म  मन्त्री भइसकेँ, जे बोले-गरे पनि हुन्छ भन्ने लागेको होला। मनाङेलाई स्मरण होस्, कुनै बेला अफताब आलम पनि यो देशको मन्त्री भएकै हुन्, सञ्जय टक्ला सांसद भएकै हुन्। अन्तत्वगत्वा उनीहरु जेलको चिसो छिँडीमा छन्', सिंहले भनेका छन्, 'तिम्रो अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक मात्र छैन, स्वयम् तिम्रा लागि खतराको घण्टी हो भन्ने हेक्का राख।'

उनले राणा शासन, पञ्चायत, शाही शासन र वाईसीएलको ज्यादतीविरुद्ध लडेर तिनीहरुलाई धुलो चटाएको पनि स्मरण गराए। 'एमालेको युवा पङ्क्ति तिमी जस्ता गुण्डालाई तिम्रो औकात देखाउन एक मिनेट पनि लाग्ने छैन', उनले भनेका छन्, 'सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष र खेलकुद परिषदका सदस्य-सचिवविरुद्धको तिम्रो अभिव्यक्तिले कुनै व्यक्तिमाथिको टिप्पणी होइन, हाम्रो पार्टी, विचार र सङ्गठनमाथिको अपमान र प्रहार हो। जसले सिङ्गो एमालेजनलाई आक्रोशित तुल्याएको छ।'



मनाङे नसुध्रिए जेलमा हाल्ने पनि उनले दाबी गरे। 'यदि तिमी नसुध्रिने हो भने गर्धन समातेर कानूनी कठघराको चिसो छिँडीमा तिम्रो बसाइ निश्चय छ, झण्डावाल गाडी होइन', उनले अन्तिममा भनेका छन्, 'जेलमा बस्न झिटी-गुन्टा तयार गर्दै गर।



 

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार २३:२१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया