कोरोना महामारीका कारण निर्माण घोषणा भएका थुप्रै चलचित्र निर्माण हुन सकेनन् । निर्माण हुँदै गरेका कैयौं चलचित्र आधा कामपछि थन्किएर बसेका छन् । निर्माण सम्पन्न भई प्रदर्शनको तयारीमा रहेका थुप्रै चलचित्र झन् धेरै अलपत्र परेका छन् ।
निर्माण सम्पन्न भएका चलचित्र प्रदर्शन हुन नपाउँदा निर्माताको अर्बौं रुपैयाँ लगानी फ्रिज भएको छ । चलचित्र निर्माता संघले चलचित्रमा लगानी भएको १ अर्ब ७५ करोड रुपैयाँ लगानी फ्रिज भएको जनाएको छ ।
संघका अध्यक्ष आकाश अधिकारीले ८२ वटा चलचित्रमा लगानी भएको १ अर्ब ७५ करोड बताए । उनका अनुसार ३५ वटा चलचित्र निर्माण सम्पन्न भएर बसेका तथा २२ चलचित्र पोस्ट प्रोडक्सनको क्रममा रहेका छन् । २५ वटा चलचित्र छायांकन हुँदाहुँदै रोकिएका छन् ।
आगामी मौद्रिक नीतिमा चलचित्र निर्माता संघका तर्फबाट सुझाव दिँदै अधिकारीले भनेका छन्, ‘८२ सिनेमामा रहेको झण्डै १ अर्ब ७५ करोड लगानी डेढ वर्षबाट फ्रिज भएर बसेको अवस्था छ । उक्त लगानीको जोखिम (बैंकको सावाँ व्याज) चलचित्र निर्माताले खेपिरहेका छन् ।’
८२ चलचित्रमा १ अर्ब ७५ करोड लगानी भएको संघको दाबी छ । कोरोना संक्रमणको पहिलो चरणबाटै बन्द सिने उद्योगले गति लिन नपाउँदै दोस्रो लहरको कोरोना सुरु भयो । कोरोनाका कारण देशभरका ३५ भन्दा धेरै सिनेमा हल बन्द भैसकेका छन् । केही सिनेमा घर सपिङ मलमा परिणत हुँदै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।