कोरोनासँगै सुरु भयोे जिन्दगीको फरक बाटो

कोरोना महामारीले धेरैलाई जीवन बुझ्न सिकायो । गर्दागर्दैको काम राेकियाे। हिँड्दा हिँड्दैको बाटो बन्द भयो । आफन्तसँगको भेटघाट रोकियो । धेरै मानिसलाई लाग्यो कि जिन्दगीकै गति रोकियो । तर सञ्चारकर्मी रामजी ज्ञवालीले भने यही कोरोनापछि नै हो जीवनलाई जीवनका रूपमा बुझेको । जीवनलाई मात्रै होइन, कोरोनापछि उनले आफैँ वरपरको प्रकृतिलाई पनि फरक तरिकाले बुझे । उनले आफूलाई धेरै परिवर्तन पाए ।

कोरोना महामारी सुरु भएको केही महिनामै उनको जागिर गुम्यो । सबै ठप्प थियो । उनलाई लाग्यो, ‘अब के गर्ने ?’ ठिक त्यही बेला उनको सम्झनामा आयो मनमा दबेर बसेको रहर । लामो समय रंग पत्रकारिता गरेका उनलाई लागेको थियो ‘एकदिन म पनि निर्देशक बन्छु ।’ तर त्यतिबेला उनी सोच्थें ‘सामान्य केही गरौँला ।’ महामारी पछि भने उनको ध्यान सामान्यबाट माथि उठेर गयो । सोचे, ‘मैले गरेको कामले मेरो रहर पुरा गरेर मात्रै हुँदैन । समाजका लागि पनि केही याेगदान दिनुपर्छ । ’

लकडाउनमा सारा देश ठप्प थियो । ज्ञवाली भने डकुमेन्ट्री निर्देशनमा निस्किए । त्यसपछि सुरु भयो उनको पत्रकारिता बाहिरको अर्को जिन्दगी । ज्ञवाली भन्छन्, ‘मलाई नामको लोभ होइन । नाम त पत्रकारिताबाट पनि ठिकै कमाएको हुँ । मेरा उद्देश्य एउटै हो, केही खास गरौँ ।’ 

लामो समय मनोरञ्जन क्षेत्रका समाचारमा कलम चलाएका उनलाई यही क्षेत्रको माया लाग्यो । त्यसपछि मनोरञ्जन उद्योगका लागि केही गरौँ भनेर उनले सुरु गरे ‘राम्रो इन्टरटेनमेन्ट ।’

राम्रो इन्टरटेनमेन्ट मार्फत् उनले सर्ट फिल्म, डकुमेन्ट्री, डकुड्रामा, म्युजिक भिडियो निर्माणको काम सुरु गरे । अप्ठ्यारो समयमा काम सुरु गरेका उनले छोटो समयमै थुप्रै उतारचढाव झेलिसकेका छन् । यस बारेमा उनी भन्छन्, ‘एकदमै गाह्रो समय र परिस्थितिका बाबजुद काम भइरहेको छ । यो बेला निर्माता भेट्न गाह्रो छ । इच्छुक निर्माताहरूको थोरै र सामान्य बजेटमै सामान्य तवरबाट काम भइरहेको छ । हरेक प्रोजेक्ट बजेट अनुसार कस्तो बन्ने भन्ने निर्भर हुने रहेछ । पहिला पत्रकारितामा हुँदा त्यो लाग्दैनथ्यो, पछि यस उद्योगमा काम गर्न थालेपछि प्रोजेक्टमा बजेटको प्रभावबारे जानकार भएँ ।’

उनले एक वर्षको छोटो समयमै १० वटा सर्ट फिल्म निर्माण गरिसकेका छन् । जसमध्ये धेरैमा आफ्नै निर्देशन र स्क्रिप्ट लेखन रहेको छ । आगामी दिनको प्रोजेक्टको बारेमा ज्ञवाली भन्छन्, ‘अब २ वटा राम्रा सर्ट फिल्मको काम कोरोना महामारी सकिएपछि हुनेछ । उक्त प्रोजेक्ट हाम्रो गाउँघरका कथालाई दर्साउने खालका हुनेछन् । अहिले स्क्रिप्टको काम भइरहेको छ ।’



सर्ट फिल्ममा मात्र नभई, फिल्म निर्देशन गर्ने पनि अवसर आएको उनी बताउँछन् । ‘हरि मल्ल ठकुरीको निर्माणमा बन्ने एक चलचित्रको पनि निर्देशन गर्ने लगभग पक्का जस्तै छ’, उनले भने, ‘तर मैले यो महामारी ठिक नभएसम्म चलचित्रको काम सुरु नगरौँ भनेर उहाँलाई भनिरहेको छु । किनभने धेरै बजेट खर्चिएर चलचित्र निर्माण गर्नु अहिलेका लागि जोखिमपुर्ण कुरा हो ।’

छोटो समयमा पनि निरन्तर सर्ट फिल्म निर्माण गर्नुको पनि उनको छुट्टै उद्देश्य छ । उनी भन्छन्, ‘दर्शकले कोरोना महामारी सुरु भएपछि चलचित्र हेर्न पाएका छैनन् । फुर्सदिलो समयलाई कसरी कटाउने ? यी मुभीहरूले केही सहयोग गरौँ न भन्ने हो ।’ 



ज्ञवालीले  एक वर्षभित्रमा ‘डार्क मुन’, ‘एक लभर’, ‘लक डाउन’, ‘यात्रा’, ‘ह्युमानिटी’, ‘आइ एम सरी’, ‘रंग नम्बर’, ‘ट्रस्ट’, ‘को हौ तिमी’ लगायतका सर्ट फिल्म बनाइसकेको छन् । उनलाई हिजोआज लाग्छ इच्छाशक्ति सबैभन्दा ठूलो कुरा केही रहेनछ । कोरोना महामारीमा विश्व ठप्प थियो । ज्ञवालीकाे मनले चुपचाप बस्न मानेन । उनी निरन्तर काममा थिए । अहिले पनि काममा नै छन् ।
 

  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १५:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया