हरेक वर्ष सिन्धुपाल्चोकमा महाविपत्ति, एउटा पीडा नभुल्दै अर्को चोट लाग्छ
जुन खोलाले काठमाडौंलाई खुसी दियो, त्यसैले रुवायो

जटिल पहाडी भूगोल भएको सिन्धुपाल्चोकमाथि हरेक वर्ष प्राकृतिक विपत्तिले प्रहार गरिरहन्छ। यो जिल्लाको नाम नै भूकम्प, बाढी, पहिरोसँग जोडिएर चर्चित भइसकेको छ। करिब एक दशकदेखि सिन्धुपाल्चोकमा ठूला प्राकृतिक विपत्ति निम्तिएका छन्। अघिल्लो वर्षको पीडा भुलिसक्न नपाउँदै झन् ठूलो विपत्तिले छोपिहाल्छ।

संघीय राजधानीबाट नजिकैको यो जिल्लाले ब्यहोरेको विपत्ति कहाली लाग्दो छ। गत वर्ष पहिरोले विनाश मच्चाएको सिन्धुपाल्चोकमा यो वर्ष बाढीले वितण्डा मच्चाएको छ। मेलम्ची नदी किनारका कयौँ बस्ती सखाप भएका छन्। खोला किनारमा बनाइएका सानातिना संरचनाको चिनो पनि छैन। ठूला घरहरूसमेत बाढीले पुरिएका छन्। मेलम्ची र इन्द्रावती किनारका बस्ती करिब तहसनहस भएका छन्। 

२०७२  वैशाख १२ गतेको महाभूकम्पमा सबैभन्दा बढी क्षति यही जिल्लाले व्यहोर्यो। त्यसपछि जिल्लाका विभिन्‍न ठाउँमा भएका विपत्तिबाट यो जिल्लाले अझै टाउको उठाउन पाएको छैन। पछिल्ला केही वर्ष त विपत्ति नै यहाँका नागरिकको नियति भएको छ।
 
अनेक विपत्ति आइरहँदा सिन्धुपाल्चोकले संघदेखि प्रदेशसम्म पटक–पटक महत्वपूर्ण मन्त्रालय पायो। नेताहरु माथिल्लो तहमा पुगे तर विपत्तिको पूर्व तयारी हुँदै भएन।  मंगलबार साँझ इन्द्रावती नदीमा आएको भीषण बाढीका कारण हजारौं सर्वसाधारण विचल्लीमा छन्।

त्यही क्षेत्रबाट पछिल्लो पटक निर्वाचित स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वमन्त्री मोहन बहादुर बस्नेत लगायतका जनप्रतिनिधिहरु बुधबार बिहानैबाट उद्दारमा खटिएका छन्। तिम्बु, चनौटे र मेलम्ची बजार क्षेत्र पूर्ण रुपमा क्षतिग्रस्त छन्। अहिलेसम्म ७ जनाको मृत्यु भएको खबर आएको छ भने ३५ जना बढी बेपत्ता छन्। 

सिन्धुपाल्चोकमा विपत्तिका श्रृङ्खला

जुरे पहिरो 



२०७१ साउन १७ गते साविकको राम्चे गाविस-५ मा गएको पहिरोले ठूलो क्षति गर्यो। इटिनी पहरो फुटेर गएको पहिरोले ३१ जना स्कुले बालबालिकासहित १४५ जनाले ज्यान गुमाए।

पहिरोले भोटेकोसी  थुनिएपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत गरी १५३ घर पूर्णरुपमा ध्वस्त भएको थियो। भोटेकोशी थुनिने गरी झरेको पहिरोले करोडौँको क्षति गर्यो। कयौँले ज्यान गुमाए, कयौंको थातथलो गुम्यो, कयौँ बेसहारा बने। 



अहिले पनि त्यहाँका घाइतेको उपचार भएको छैन भने राहत नपाएको गुनासा सुनिँदै छन्। पहिरोले कतिको घरजग्गा गुम्यो। धेरै गाउँबाटै पलायन भए। जुरोको यो पहिरोले धेरैलाई बिर्सन नसक्ने पीडा छाडेर गयो। 

२०७२ को महाभूकम्प

२०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमै भयो। महाभूकम्प र त्यसपछिका परकम्पका कारण सिन्धुपाल्चोकमा मात्रै ३ हजार ५ सय ७१ जनाले ज्यान गुमाए।

०७२ वैशाख १२, १३ र २९ गते गएको त्यो भूकम्पले १ हजार ५ सय ६५ जना घाइते भएका थिए। भुकम्पमा ८ जना बेपत्ता भए। भूकम्पले ७८ हजार ५ सय ३७ घर पूर्ण क्षति भए। विद्यालय र सरकारी भवनमा समेत भूकम्पले ठूलो  क्षति गर्यो। भूकम्पले सबैभन्दा बढी क्षति भएको यो जिल्लामा अझै घाउमा खाटा बसिसकेको छैन। यहाँका धेरै स्थानीय अहिले पनि भूकम्पको त्रास भुल्न सक्दैनन्। 

भोटेकोसी बाढी

त्यसपछि अर्को बिर्सिन नसक्ने घटनाका रुपमा भोटेकोशीमा आएको बाढीलाई लिइन्छ। २०७३ असार २१ गतेको भोटेकोशी बाढीले लिपिङ बजारमा ठूलो क्षति भयो। तिब्बतसँग सीमा नाका लिपिङ बजारदेखि बाह्रबिसे बजारसम्मका र तल्लो तटीय क्षेत्रका ६० घर बगायो। 

लिपिङ बजारका ३० घर बगाउनुका साथै तातोपानी नयाँ बस्तीका ३० घर भत्कायो। भोटेकोशीको तटीय क्षेत्रका बस्ती र अरनिको राजमार्गका विभिन्न ठाउँमा क्षति गरेको थियो। त्यस्तै, तातोपानी नाकासम्म जोडिने अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको थियो। 

लार्चा पुल 

२०७४ साउन ८ गते रातिको पहिरोले लार्चा पुल बगायो। त्यतिबेला भोटेकोशी र तातोपानीको सम्पर्कविच्छेद भयो। अरनिको राजमार्ग पनि अवरुद्ध भयो। अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पूरै  भत्काएको थियो। 

पहिरोका कारण दुगुनाको डाँडा भासियो भने त्यहाँ भन्दा तलको लार्चा पुल पनि भासिएको थियो। त्यही वर्ष असार २१ गते आएको पहिरोले पुलमा केही क्षति पुर्‍याएको थियो। तर, ८ साउन राति आएको भीषण बाढीले पुल बन्द भएको थियो। 

जम्बु पहिरो

२०७७ असारमा गएको पहिरोमा बेपत्ता भएका हालसम्म फेला परेका छैनन्। बाढीले अरनिको राजमार्गअन्तर्गतको खुर्सानी बारी, खागदलस्थित पक्की पुल, जुरेलगायतका ठाउँको सडक पूर्णरूपमा कटान गरेको थियो। 

त्यस सडकखण्डमा अहिले पनि पहिरो जाने क्रम जारी रहेको स्थानीय बताउँछन्। असार २४ गते राति बाह्रबिसे नगरपालिका-५ को जम्बु बजार पहिरोले पुरियो। पहिरोमा २ जनाको मृत्यु, १७ जना वेपत्ता भए। २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भए। त्यहीबेला बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त भए।

त्यस्तै, भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एकजनाको मृत्यु भयो भने तीनजना बेपत्ता भए। लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भएको थियो। अरनिको राजमार्गका खागदल र बुल्कुटेको दुईवटा पक्की पुल क्षतिग्रस्त भए। लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखिएको थियो। 

जम्बु पहिरोमा बेपत्ता भएका हालसम्म फेला परेका छैनन्। बाढीले अरनिको राजमार्गअन्तर्गतको खुर्सानी बारी, खागदलस्थित पक्की पुल, जुरेलगायतका ठाउँको सडक पूर्णरूपमा कटान गरेको थियो। यो सडकखण्डमा अहिले पनि पहिरो जाने क्रम जारी छ।

मेलम्चीमा ८ मजदुरको मृत्यु

मेलम्ची बजारमा ०७७ साउन १८ गते आइतबार रातिको पहिरोमा पुरिएर आठजना मजदुरको मृत्यु भएको थियो। एकजनाको जीवितै उद्धार गरिएको थियो। अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिरोमा परी कभर्ड हल बनाउन बसेका मजदुरको मृत्यु भएको थियो। मृत्यु हुनेमा बारा निवासी र केही भारतीय नागरिक थिए।

लिदी पहिरो 

०७७ साउन ३० गते बिहान जुगल गाउँपालिका-२ गोल्चेस्थित लिदीमा भीषण पहिरो गयो। पहिरोबाट ३७ घर पुरिए। पहिरोले पुरिएर बेपत्ता भएकामध्ये ३९ जनाको मृत्यु भएको थियो। लिदीको गाउँ नै पहिरोले पुरिएपछि त्यतिबेला पनि सभामुख सापकोटा लगायतका जनप्रतिनिधि घटनास्थल पुगेका थिए।

हेलिकप्टर दुर्घटना

सिन्धुपाल्चोकमा दुई ठूला हेलिकप्टर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो। जिल्लाको घोर्थाली र यमुना डाँडामा भएको दुर्घटनामा पाँच नेपालीसहित ६ जना अमेरिकी र एक डच नागरिकको मृत्यु भएको थियो।

वि.सं. २०७२ को वैशाख २९ गते आएको परकम्पबाट क्षति पुगेको दोलखामा मानवीय सहायताका लागि जाँदा अमेरिकी हेलिकप्टर दुर्घटनामा परेको थियो। नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर युएच वानवाई ह्यु हराएको चौथो दिन जेठ १ गते शुक्रबार सिन्धुपाल्चोकको विकट घोर्थलीमा दुर्घटनाग्रस्त फेला परेको थियो।

शक्तिशाली परकम्पपछि ६ जना अमेरिकी र दुई नेपाली सेना लिएर त्रिभुवन विमानस्थलबाट दोलखाका लागि उडेको उक्त हेलिकप्टर सिन्धुपाल्चोकको सुनखानीमा पुगेपछि सम्पर्कविहीन भएको थियो।

त्यस्तै २०७२ जेठ १९ गते भूकम्पपीडितका लागि काठमाडौँबाट राहत सामग्री लिएर दोलखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा-८ शिला पर्वतको जङ्गलमा दुर्घटना भएको थियो। नाइनएन एजेपी कल साइन भएको उक्त हेलिकप्टरमा क्याप्टेन सुवेक श्रेष्ठसहित चार यात्रुको ज्यान गएको थियो। 

तीन ठूला सडक दुर्घटना

जिल्लाको इन्द्रावती गाउँपालिका-१० गत असोज २४ गते बिहान बस दुर्घटना भयो। उक्त दुर्घटनामा १४ जनाको निधन भएको थियो। इन्द्रावतीको भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा परेको थियो। 

एक सय २० भन्दाबढी यात्रुले भरिएको बस झिल्के मोडको ओरालोमा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो। त्यस्तै, ०७७ कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १७ जनाको निधन भएको थियो। 

सैलुङेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा सुकुटे नजिक दुर्घटना भएको थियो। चालकको लापरवाहीका कारण बस दुर्घना भएको भन्दै प्रहरीले प्रतिवेदन निकालेको थियो।

त्यसपछि, दोलखाको कालिन्चोकबाट भक्तपुरका लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा दुर्घटनामा पर्‍यो। उक्त दुर्घटनामा १५ जनाको ज्यान गएको थियो। दोलखाको कालिन्चोक दर्शन गरेर फर्किएका तीर्थयात्रीहरु चढेको बस गत साल मङ्सिर २९ गते ६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको थियो।

र, मेलम्चीको बाढी

२०७१ यताका कुनै पनि वर्षायाम छैन, सिन्धुपाल्चोकमा बाढी र पहिरोले वितण्डा नमच्चाएको होस्। यसैबीच मंगलबारदेखि परेको अविरल वर्षाका कारण मेलम्ची बजार आसपासका इन्द्रावती नदी आसपास पुरै प्रभावित भएको छ। लगातारको झरी, बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित बनेको छ मेलम्ची बजार। 

अहिले त्यहाँका प्रभावित मानिसहरु नदीको बहाव कतिबेला घट्ला भनेर हेरिरहेका छन्। मेलम्ची बजारको दाहिनेतिर भएर बग्ने लार्के खोलामा आएको पहिरोले नदी थुनिएपछि आएको वितण्डा खेपिरहेका छन् अहिले मेलम्चीवासी। मेलम्ची बजार भएर बग्ने खोलाले यहाँ जनतालाई प्रताडित बनाएको छ। 

जुन खोलाले काठमाडौंलाई खुसी दियो 

मेलम्ची बजार नजिकै भएर बग्ने इन्द्रावतीको शिर पाँचपोखरी हो। मेलम्चीमा ड्याम बनाएर काठमाडौं ल्याइपुर्‍याएको पानीले यहाँका मानिसमा खुशी छाएको दुई महिनामात्र पुग्यो। तर, त्यही खोलाले अहिले स्थानीयलाई रुवाएको छ। यहाँ आएको भीषण बाढीले स्थानीयको दैनिकी असहज त भइरहेको छ सँगसँगै इन्द्रावती गाउँपालिकासँगको सम्बन्ध पनि टुटाएको छ। 

अहिले बिजुली, इन्टरनेट, यातायात लगायतका सेवाहरु पूर्ण रुपमा बन्द छन्। यो सबै परबाट हेर्दै मानिसहरु  भगवान पुकारिरहेछन्, विपत्तिको नियति भोगिरहेका स्थानीय। अहिलेसम्म ७ जना बढीको ज्यान गएको छ भने ३५ जनाभन्दा धेरै बेपत्ता छन्। 

  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १८:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया