वर्षातको सुरुवातसँगै प्रदेश २ का जनता बाढी–पहिरोको त्रासमा परेका छन् । प्रदेशका विभिन्न नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावनाका कारण प्रदेश २ वासी अहिलेदेखि नै चिन्तित बनेका हुन् ।
वर्षाकालको बाढीका कारण प्रत्येक वर्ष प्रदेश २ सबैभन्दा बढी प्रभावित हुँदै आइरहेको छ । अब आउने दिनमा नदीको बहाव बढ्दै गयो भने सबैभन्दा बढी प्रभावित प्रदेश २ नै हुने देखिएको छ । बाढीबाट सबैभन्दा बढी प्रदेश २ नै प्रभावित हुँदै आएको पछिल्ला वर्षहरुको तथ्यांकले समेत देखाउँछ ।
बाढीले यहाँका जनताको जनजीवन कष्टकर त बन्छ नै, त्यसमाथि आर्थिक रूपमा समेत अर्बौंको क्षतिले थिलोथिलो बनाउने सम्भावना छ । गत वर्ष मात्रै अर्बौंको क्षति भएको थियो भने कैयौँ व्यक्तिले ज्यानसमेत गुमाएका थिए । हजारौँ सर्वसाधारण घरवारविहीन भएका थिए ।
गत दुई आर्थिक वर्षमा यस प्रदेशमा बाढी तथा डुबानमा परी ९२ जनाको मृत्यु भएको तथ्यांक प्रदेश २ प्रहरी कार्यालयसँग छ । जसमध्ये सबैभन्दा बढी रौतहटमा ४३ जनाको ज्यान गएको थियो । त्यस्तै, धनुषामा १५, सिरहामा १२, सर्लाहीमा ९, सप्तरीमा ५, पर्सामा ६ र बारामा २ जनाले ज्यान गुमाएका थिए ।
गत वर्ष वर्षासँगै आएको बाढी तथा डुबानका कारण प्रदेश २ मा कृषिमा मात्रै २ अर्ब ५० करोडभन्दा बढीको क्षति भएको थियो ।
प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समेत गत वर्षको बाढीले अर्बौंको बाली बगाएको जनाएको छ । प्रदेश २ का ८ वटै जिल्लामा २ अर्ब ६७ करोड ६ लाख ४८ हजारबराबरको क्षति भएको छ । बालीतर्फ करिब १ अर्ब ५५ करोड ४८ लाख ५४ हजारबराबरको क्षति भएको थियो । त्यस्तै, पशुपक्षीतर्फ १ अर्ब ११ करोड ५७ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।
प्रदेश २ मा कुल ५ लाख ४७ हजार २ सय २५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ । जसमध्ये ५ लाख २६ हजार ६५ हेक्टर क्षेत्रफल जग्गामा खेती गरिएको छ भने ३५ हजार ४ सय ४० हेक्टर जग्गा खाली रहेका छन् ।
बाढी तथा डुबानका कारण ८ वटै जिल्ला गरी बालीतर्फ ५५ हजार ६ सय २० हेक्टर जग्गामा क्षति भएको मन्त्रालयको तथ्याङ्क छ । त्यस्तै, १ हजार ९ सय ८७ हेक्टरमा माछापालन गरिएको पोखरीमा क्षति भएको थियो ।
प्रदेशका लालबकैया, बाग्मती, रातु, कमला तथा त्रियुगा नदीआसपासमा तटबन्ध बनाउनुपर्नेमा ०४६ सालयता अहिलेसम्म भएका तटबन्धको कुनै ममर्तसम्भार गरिएको छैन । एकैपटक पानीको बेग आउँदा थेग्नै सक्दैन । वर्षातको समयमा यो समस्या प्रत्येक वर्ष आउने गरेको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विपदबाट सबैभन्दा बढी प्रभावित प्रदेश २ नै रहेको बताए । उनले विपदबाट हुने क्षतिको न्यूनीकरणका लागि प्रदेश सरकार तयार रहेको बताए ।
सरकारले विपद् व्यवस्थापनसम्बन्धी नीति तथा ऐन ल्याउनुका साथै नियमावलीसमेत बनाइसकेको जानकारी दिँदै मन्त्री यादवले भने, ‘विपद व्यवस्थापनका लागि प्रदेश सरकारले १० वर्षे रणनीति बनाइरहेको छ र यसमा केही समय लाग्नेछ।’
तर प्रत्येक वर्ष बाढी तथा डुबानबाट हुने क्षतिमध्ये मानवीय क्षति कसरी कम गर्ने यसका लागि वर्षको सुरुमै योजना बनाउने गरेको उनको भनाइ छ । उनले भने, ‘हामीले प्रत्येक वर्ष आफ्नो रणनीति बनाउँदै सुरक्षा निकायलाई समेत विपद व्यवस्थापनका लागि विभिन्न सामग्री हस्तान्तरण गरेका छौँ ।’
उनका अनुसार आठवटै जिल्लाका सुरक्षा निकायलाई विपद् व्यवस्थापनका लागि मोटरबोट, नाइनल बोट, रबर बोट, थ्रोइङ ब्याग, ड्रोन क्यामेरालगायत सामग्री हस्तान्तरण गरिएको छ ।
यता, प्रदेश २ प्रहरीका प्रमुख डिआइजी धीरजप्रताप सिंहले बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरणका लागि डुबान क्षेत्रलाई पहिचान गरी तयारी गरिएको बताए । उनले विपद् व्यवस्थापनका लागि प्रदेश २ का मुख्य नदीहरु कोशी, बाग्मती र कमलाका तटीय क्षेत्रमा विशेष तयारी गरिएको बताए ।
डिआइजी सिंहले प्रदेश सरकारले गत वर्ष विपद् व्यवस्थापनका लागि प्रदेश प्रहरीलाई १ करोड बराबरको सामग्री उपलब्ध गराएको बताउँदै अब थप दुईवटा मोटर–बोट खरिद गर्ने तयारी भइरहेको जानकारी दिए ।
चुरे दोहनका कारण अहिलेको समयमा यो समस्या आउने गरेको सर्वविदित छ । लोडर, डोजर, टिपर लगाएर चुरे उत्खनन निरन्तर भइरहेको छ । तर, यसमाथि कुनै सरकारको ध्यान छैन । त्यसैले, अब पनि र्घीकालीन योजना बनाएर समस्याको हल गर्न सकिएन भने स्थिति भयावह हुन सक्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।