सरकारको लक्ष्यमा धक्का, निषेधाज्ञामा पनि कर उठाउन अदालतको अनुमति

निषेधाज्ञा अवधिमा कर नतिर्दा थप जरिवाना, शूल्क तथा दस्तुर नलाग्ने भएपछि उद्योगी व्यवसायीहरूले कर बुझाउन छाडेका छन् । तर त्यसको असर भने सरकारको आन्तरिक राजस्व असुली लक्ष्यमा देखिएको छ ।

गत वर्ष चैतको दोस्रो साताबाटै लकडाउन भएपनि कर तिर्ने समय थप गर्ने र जरिवाना तथा शुल्क मिनाहासम्बन्धी निर्णय सरकारले वार्षिक बजेटबाट मात्रै गरेको थियो । त्यो बेलासम्म अधिकांश उद्योगी-व्यवसायीहरूले नियमितजसो कर चुक्ता गरिरहेका थिए । गत वर्ष अर्थमन्त्रालय र कर कार्यालयहरूले उद्योगी व्यवसायीहरूलाई आग्रह गरेरै कर तिर्न भनेका थिए ।

यद्यपि सरकारले लकडाउन अवधिभरका लागि करको रकम तथा विवरण दाखिला नगरे शुल्क नलिने र कर बुझाउने समयसमेत बढाएको थियो । महामारीको दोस्रो चरण रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख १७ गतेबाट लागू भएको निषेधाज्ञा अवधिपछिको करमा पनि यस्तै सुविधा पाइने भएपछि उद्योगी व्यवसायीहरूले कर बुझाउन छाडेका हुन् ।

आन्तरिक राजस्व विभागका अनुसार जेठ महिनामा ५३.५४ प्रतिशत मात्रै राजस्व उठेको छ । सरकारको ११ महिनाको राजस्व संकलनको अवस्था हेर्दा कुल वार्षिक लक्ष्यको ९५.३० प्रतिशत आन्तरिक राजस्व उठिसकेकाे छ ।

सरकारले यो अवधिमा ३ खर्ब ७८ अर्ब ४८ करोड रुपैयाँ बराबरको आन्तरिक राजस्व असुलीको लक्ष्य राखेको थियो । जसमध्ये ३ खर्ब ६० अर्ब ७० करोड ४२ लाख रुपैयाँ बराबर मात्रै संकलन भएको छ ।

महामारीका कारण आर्थिक गतिविधिहरूमा संकुचन आएसँगै त्यसको नकारात्मक प्रभाव राजस्व असुलीमा स्वभाविक रूपमा देखिएको छ । त्यससँगै सर्वोच्च अदालतले गत जेठ ५ गते सरकारका नाममा अन्तरिम आदेश दिँदै निषेधाज्ञा अवधिमा कर विवरण नबुझाए थप जरिवाना तथा हर्जाना नलिन र निषेधाज्ञा खुलेपछि बाटोको समयबाहेक ३० दिनभित्र कर बुझाउन सक्ने गरी समय थप गर्न भनेको थियो ।



एकातिर कर असुली हुन नसकेर सरकारको वार्षिक लक्ष्यमा दबाब देखिरहेको र अर्कोतर्फ सर्वोच्चको आदेशले कर उठाउन थप समस्या सिर्जना भएपछि सरकारले सर्वोच्चको गत जेठ ५ गतेको अन्तरिम आदेशविरुद्ध भ्याकेट दर्ता गराएको थियो ।

जेठ २५ गते अर्थ मन्त्रालयले दर्ता गरेको भ्याकेटमाथि मंगलबार फैसला सुनाउँदै सर्वोच्च अदालतले आर्थिक ऐनमा भएको व्यवस्थाअनुसार कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।



कति उठ्यो आन्तरिक राजस्व ?

आन्तरिक राजस्व विभागले जेठ महिनामा मात्र ३३ अर्ब ७ करोड ४५ लाख १२ हजार रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर असुली भने १७ अर्ब ७० करोड ९७ लाख १४ हजार रुपैयाँ बराबर मात्रै भएको छ ।

विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्ममा अन्तःशुल्क वार्षिक लक्ष्यको ८२.६९ प्रतिशत र मासिक लक्ष्यको ४०.२१ प्रतिशत मात्रै असुली भएको छ ।

यो अवधिसम्ममा सरकारले ९० अर्ब ३३ करोड ४१ लाख रुपैयाँ बराबर अन्तःशुल्क कर उठाउने लक्ष्य राखेको थियो । तर हालसम्म ७४ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ बराबर मात्रै उठेको छ । यसै गरी जेठ महिनामा मात्र १२ अर्ब ७५ करोड ३९ लाख रुपैयाँ बराबर अन्तःशुल्क असुलीको लक्ष्य राख्दा ५ अर्ब १२ करोड ७९ लाख रुपैयाँ बराबर मात्रै असुली भएको छ ।

जेठ मसान्तसम्मको आयकर असुलीको अवस्था हेर्दा १ खर्ब ६२ अर्ब ९७ करोड ४ लाख रुपैयाँ बराबरको लक्ष्य राखिएकाे थियाे । लक्ष्यको ९५.२१ प्रतिशत अर्थात् १ खर्ब ५५ अर्ब १६ करोड ३१ लाख रुपैयाँ बराबर असुली भएको विभागले बताएको छ । 

आयकरतर्फ जेठ महिनामा मात्र ८ अर्ब २६ करोड ९१ लाख रुपैयाँ बराबरको मासिक संकलन लक्ष्य लिइएको थियो । जसबाट ४ अर्ब ५१ करोड २९ लाख रुपैयाँ बराबर संकलन भएको छ । यो मासिक असुली लक्ष्यमा ५४.५८ प्रतिशत मात्रै हो । त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ हालसम्म लक्ष्यको १०७.५७ प्रतिशत राजस्व असुली भएको छ । ११ महिना अवधिमा मूल्य अभिवृद्धि तर्फको कर असुली १ अर्ब २ अर्ब ७१ करोड ४६ लाख रुपैयाँ बराबर छ ।

सरकारले जेठ महिनामा १० अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबर मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य राख्दा लक्ष्यको ६९.९४ अर्थात् ५ अर्ब १२ करोड ७९ लाख रुपैयाँ बराबर असुली भएको छ ।

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्मको घरबहाल कर लक्ष्यको ६९.४६ अर्थात् २ अर्ब ३४ करोड ७१ लाख, स्वास्थ्य सेवा कर लक्ष्यको १५२.५४ अर्थात् ४ अर्ब ३७ करोड ३४ लाख र शिक्षाकर तर्फ लक्ष्यको २८.७६ प्रतिशत अर्थात ३५ करोड ६३ लाख रुपैयाँ बराबर संकलन भएको छ ।

अन्तःशुल्क असुलीमा ठूलो धक्का

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अन्तःशुल्क कर बढाएर आन्तरिक राजस्वतर्फको वार्षिक असुली लक्ष्य भेटाउने लक्ष्य राखेको थियो । जुन लक्ष्यमा धक्का पुग्ने देखिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत् करका दरहरू हेरफेर गरेको थियो । आन्तरिक राजस्वसँग सम्बन्धित करका दरहरूमा सरकारले मूल्य अभिवृद्धि करको दरलाई यथावत राखेर केही क्षेत्रमा छुटको घोषणा गरेको थियो भने आयकरमा पनि राजस्व वृद्धिमा योगदान गर्ने गरी कुनै निर्णय भएको थिएन ।

हालसम्मको आन्तरिक राजस्व असुली अवस्था हेर्दा आयकर र मूल्य अभिवृद्धि कर तर्फको वार्षिक लक्ष्य भेटिने देखिए पनि अन्तःशुल्क तर्फको कर असुलीमा भने लक्ष्य भेट्न मुस्किल पर्ने देखिएको छ ।

सरकारले बजेटमार्फत् भन्सार कर र अन्तःशुल्कमा मात्रै धेरै हेरफेर गरेको थियो । यस अर्थमा आन्तरिक राजस्वतर्फको कर असुलीमा अन्तःशुल्कलाई बढी केन्द्रित गरिएको थियो । तर अन्तःशुल्कको राजस्व संकलन लक्ष्य भने तुलनात्मक रूपमा सबैभन्दा कम देखिएको हो ।

वैशाखको तुलनामा जेठमा आधा घट्यो राजस्व असुली

कोभिड-१९ महामारीले अर्थतन्त्रमा पारेको असर र निषेधाज्ञाका बाबजुद पनि गत वैशाख महिनामा मासिक लक्ष्यको ९५.३३ प्रतिशत आन्तरिक राजस्व उठेको थियो ।

विभागका अनुसार वैशाख महिनाका लागि विभागले कुल ३३ अर्ब ९९ करोड रुपैयाँ बराबरको राजस्व असुली लक्ष्य राखेको थियो । मासिक लक्ष्यको ९५.३३ प्रतिशत अर्थात् ३२ अर्ब ४० करोड रुपैयाँ बराबर असुली भएको विभागले जनाएको छ ।

वैशाख महिनामा पनि अन्तःशुल्क तर्फको कर असुली लक्ष्यभन्दा कम थियो भने आयकर र मूल्य अभिवृद्धि कर लक्ष्यभन्दा बढी देखिएको थियो ।

वैशाख महिनामा संकलित कर राजस्वमध्ये अन्तःशुल्कतर्फ ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको लक्ष्य राख्दा १० अर्ब ७४ करोड रुपैयाँ बराबर मात्रै असुली भएको थियो । यो रकम लक्ष्यभन्दा १ अर्ब २१ करोड रुपैयाँ अर्थात् करिब १० प्रतिशतले कम हो ।
 

  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १५:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया