जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आइपिओ निष्कासन गर्ने

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको १९ लाख ७७ हजार ३०० कित्ता आइपिओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीको जारी पुँजी ६० करोड ८४ लाख छ । यसको ३२.५० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । 

प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यको कुल कित्तामध्ये ०.५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारी र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आमसर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आइपिओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म बिक्री गरिने छ । आइपिओ खरिदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीले आइपिओ बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले ०७७ साल फागुन १७ गते आइपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । 

यो आइपिओ बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै, मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 

हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ता भएको पुँजी ४१ करोड ६ लाख ७० हजार रहेको छ । आइपिओ निष्कासनपश्चात् उक्त चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको आइपिओपश्चात् संस्थापकतर्फ ६७.५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारीसहित ३२.५० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ । 



चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम १ अर्ब १८ करोड ३९ लाख १० हजार रुपैयाँ छ । आर्थिक वर्ष ०७६–७७ सम्ममा कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ ३०५.२७ रहेको छ भने प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ रहेको छ ।



  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १५:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया