पूर्वअर्थमन्त्री लोहनीको व्यंग्य कविता : मेच नछोड्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले एक कवितामार्फत सत्तालोलुप, आत्मकेन्द्रित राजनीतिक चरित्रमाथि कटाक्ष गरेका छन् ।

सत्तामा पुग्नुपर्छ र एकपटक सत्तामा पुगेपछि सधैँ सत्तामै रहनुपर्छ भन्ने राजनीतिक प्रवृत्तिको अध्यक्ष लोहनीले ‘मेच नछोड्नुस्’ कवितामा चर्चा गरेका छन् ।

आदर्श, निष्ठा, नैतिकता सबै त्यागेर भए पनि आफूबाहेक अरुले अवसर पाउनुहुँदैन भन्ने आत्मकेन्द्रित मनोवृत्तिप्रति उनको व्यंग्य छ । सत्ता र कुर्सीको फाइदामा मात्र कुद्ने साँघुरो, सम्झौतापरस्त चरित्र र राजनीतिक पात्रले देश र जनतालाई बेवास्ता गरेको भन्ने कविताको सार छ । त्यसैले डा. लोहनी कवितामा भन्छन्, प्यान्ट च्यातिएर भ्वाङ परे पनि मेच नछोड्नुस् ।’

मेच नछोड्नुस्

मेच नछोड्नुस्
चाँडो गर्नुस्
यो आसन सधैँ खाली रहँदैन
अरु पनि बस्न सक्छन्
एक पटक बस्नुस्
बसेपछि नछोड्नुस्
जनता र देशलाई बिर्सनुस्
मेच भाँचिए भाँचिन दिनुस्
आदर्श च्यातिए च्यातिन दिनुस्
प्यान्ट च्यातिएर भ्वाङ परे 
ग्लु लगाएर बस्नुस्
धक्का दिए
मेचसहित लड्नुस्
सिंहदरबारबाट खेदे
मेचसहित निस्कनुस्
दक्षिण या उत्तर
कता जाने ?
के फरक पर्छ र !
जता सत्ताको फाइदा 
त्यतै जानुस्
आशीर्वादको लागि कुद्नुस्
तर, मेच अब नछाड्नुस् ।





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १६:२४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया