भारतीय सीमाक्षेत्रका बाँध खोलेका छौँ, यो पटक तराईमा डुबान हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यो पटक अघिल्ला वर्षहरू जस्तो तराई-मधेसमा डुबान नहुने  बताएका छन्। बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो जिकिर गरेका हुन्।  

'यस वर्ष अघिल्ला वर्ष जस्तो तराई डुबानमा पर्दैन। नेपाल-भारत सीमाक्षेत्रमा लगाएको बाँध पहिले खुल्ला नछोडिने गरेकाले डुबान हुन्थ्यो', उनले भने, 'यसवर्ष बाँधहरू खोलिएको छ। धेरै ठाउँमा बाँध खोल्दै जाने तयारीमा छौँ।'

बाँधका कारण नेपाली भूमि डुबानमा पर्नेबारे सर्भे गर्न संयुक्त टोली आवश्यक रहेको पनि उनले बताए।  त्यसनिम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्। ‘जुन डुबान क्षेत्रहरु हुन्, त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरुमा पनि खोल्दै जानु आवश्यक छ', उनले भने, 'यस निम्ति संयुक्त टोलीले सर्भेपछि निर्णय गर्नेछ।  संयुक्त टोलीलाई खटाउनुपर्ने यही बेला हो । नेपाली भूमि डुबेका सीमावर्ती क्षेत्रका बाँधको समस्या समाधान गर्न संयुक्त टोलीले हेर्नेछ।'

प्रधानमन्त्री ओलीले सरकारले चुरे दोहन गर्न नखोजेको स्पष्ट पारे।  सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको उनले बताए। 'हामीले चुरे दोहन नहोस् भन्‍न बजेट व्यवस्था गरेका छौँ। चुरेबाट ढुंगा, बालुवा, गिट्टी निकाल्ने काम रोक्न लागेका छौँ। खानी पत्ता लगाएर वातावरणीय सर्भे गरेर अनुकुल हुने नहुने पत्ता लगाएर मात्रै गिट्टी बालुवा निकाल्ने छौँ।'

गिट्टी बालुवाबाट पनि व्यापार गर्न सकिने उनको तर्क थियो।  'हामीले विक्री पनि गरेर व्यापार गर्न सक्छौँ भन्ने कुरा हो। त्यो कुनै अनौठो कुरा होइन', उनले भने, 'हामीले चुरेको संरक्षण गर्न खोजेको हो, विनाश होइन। संरक्षण गर्न लागि परेका छौँ। चुरेको संरक्षण गरिन्छ । ठोस योजनासहित काम हुन्छ।'

उनले अहिले नयाँ बाटो र सडक बनाउने काम जोखिमयुक्त भएकाले भदौसम्म पहाड खन्ने र भत्काउने काम रोक्नुपर्ने पनि बताएका छन्। 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १६:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया