तीव्र उतार-चढावबीच १.३० अंकले घटेर बन्द भयो सेयर बजार
कारोबार रकम १० अर्बमा खुम्चियो

धितोपत्र बोर्डले ५१ वटा सूचीकृत कम्पनीको नाम नै सार्वजनिक गरेर अनुसन्धान प्रकृयामा तानेपछि साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा त्यसको असर कायमै देखिएको छ ।

बुधबार ५२ अंकभन्दा बढीले घटेको नेप्से सूचक बिहीबार भने तीव्र उतार-चढावबीच १.३० अंकले घटेर २९६८.४२ बिन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि ०.५८ अंकले घटेर ५४१.१२ बिन्दुमा झरेको छ ।

अघिल्लो कारोबार दिन बुधबार २९६९.६९ बिन्दुमा बन्द भएको बजार बिहीबार २९८२.९७ बिन्दुदेखि खुला भएको हो । कारोबारको आधा घण्टाको अवधिसम्ममा २९४५.५९ बिन्दुसम्म झरेको बजारले २ घण्टा ३३ मिनेटको कारोबार अवधिमा २९९० बिन्दु कायम गरेको थियो । तर अन्त्यमा बजार अझै घटेर बन्द भएको छ । 

नेपाल धितोपत्र बोर्डले सूचीकृत विभिन्न ५१ ओटा कम्पनीमा गरिरहेको अध्ययन तथा अनुसन्धानले बजारमा कस्तो प्रभाव पर्ला भन्नेमा अन्योल बनेका लगानीकर्ताहरू बिहीबार पर्ख र हेरको अवस्थामा रहेको पाइएको छ ।

देशको जनजीवन कोरोना महामारीका कारण गत वर्षदेखि नै प्रभावित भइरहेको अवस्थामा सेयर बजारबाट आम्दानी गरेर धेरैजसो नेपालीले दैनिकी चलाइरहेको पाइन्छ । कोरोना महामारीका कारण अस्तव्यस्त अन्य व्यावसायिक क्षेत्रका व्यवसायी पनि सेयर बजारमै वैकल्पिक लगानीका रूपमा भित्रिएको जानकारीसमेत ब्रोकरहरूले दिएका छन् । 

सामान्य हल्लाबाट पनि प्रभावित बन्ने नेपालको सेयर बजार नियामककै सूचीकृत कम्पनीको सेयर कारोबारमा चलखेल भएको धारणाप्रति भने निकै प्रभावित बनेको ब्रोकरहरूको अनुमान छ । नियामकले बजार र लगानीकर्ताकै हितका लागि चालेको यो कदमले क्षणिक अन्योल भए पनि आगामी दिनमा सकारात्मक प्रभाव पर्ने र कारोबारमा हुनसक्ने चलखेललाई कम गर्ने विश्वास पनि ब्रोकरहरूले गरेका छन् ।



उनीहरूले पछिल्लो दुई दिन जानकार लगानीकर्ताले ढुक्क भएर लगानी गरेको र नयाँ लगानीकर्तामा अन्योल देखिएकाले पर्ख र हेरको अवस्थामा रहेको जानकारी पनि दिएका छन् ।

बिहीबार कारोबार रकम पनि अघिल्लो दिनभन्दा कम भएको छ । बुधबार २१९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रुपैयाँमा खरिद-बिक्री भएको बजारमा बिहीबार भने २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर कुल १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँमा खरिद-बिक्री भएको छ । 



यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ । त्यसैगरी वित्त उपसमूहको परिसूचक यस दिन १.४२ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक १.१७ प्रतिशत बढेको छ । त्यसै गरी, यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशत घटेको छ ।

  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १६:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया