सिन्धुपाल्चोकमा राहत वितरणका क्रममा ओली र नेपाल समूहका कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितलाई राहत वितरण गर्ने विषयमा विवाद उत्पन्न भएको छ । राहत वितरण गर्न गएको नेकपा एमाले निकट अनेरास्ववियूका कार्यकर्ताबीच झडप भएको हो । 

अध्यक्ष केपी ओलीनिकट र माधव नेपाल समूहनिकटका कार्यकर्ताबीच झडप भएको हो । इन्द्रेणी माध्यमिक विद्यालयमा राहत वितरणको काम भइरहेको छ । त्यहाँ कुनै पनि पार्टीको झण्डा नराख्ने सहमति भएको थियो । सहमतिविपरीत नेपाल समूहका कार्यकर्ताले झण्डा राखेपछि ओली समूहले प्रतिकार गरेको थियो । सोही क्रममा विवाद उत्पन्न भएर उनीहरूबीच हात हालाहाल भएको हो । 

घटनास्थलमा रहेका हन्ड्रेड्स ग्रुपका संयोजक अन्शु यादवले यसअघि भएको सहमतिविपरीत पार्टीको झण्डा राख्ने क्रममा विवाद भएको बताए । विवाद बढ्दै गएपछि सुरक्षाकर्मी आएर विवाद समाधान गरेको थियो । घटनापछि बसेको सर्वपक्षीय बैठकले कुनै पनि पार्टीको झण्डा नराख्ने सहमति पुनः गरेको यादवको भनाइ छ । 

सो क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । पानी परेसँगै त्यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यसअघि मंगलबार राति वर्षासँगै बाढी आउँदा ठूलो मात्रामा धनजनको क्षति भएको छ । पुरै मेलम्ची बजार बगरमा परिणत भएको छ । 

अहिले उद्धार तथा राहत वितरणका लागि भन्दै थुप्रै संघसंस्था तथा राजनीतिक दल सो क्षेत्रमा पुगेका छन् । उनीहरूले उद्धार गर्ने, घरभित्र पसेको बाढी फाल्ने, राहत वितरण गर्नेलगायत काम गर्दै आएका छन् । 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १८:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया