नेकपा एमालेभित्रको विवाद समाधानका लागि बिहीबार साँझ एमाले कार्यदलमा रहेका दाेस्राे तहका नेताको बैठक बस्ने भएको छ ।
एमालेको केपी ओली पक्षले एकलौटी रुपमा गरेको महाधिवेशन आयोजक कमिटी र त्यसले गरेका कामकारबाहीलाई सर्वोच्चले अवैध ठहर्याएको छ । सर्वोच्चको पछिल्लो आदेशपछि सबै सम्मिलित स्थायी कमिटी बैठक बस्ने तयारी गरे पनि बैठक बस्न सकेको छैन ।
स्थायी कमिटी बैठकको तयारी र नयाँ परिवेशअनुसार अघि बढ्न आज साँझ ललितपुरको समिट होटलमा कार्यदलमा रहेका नेताहरु बैठक बस्न लागेको बताइएको छ ।
एमालेको माधव नेपाल पक्षले पार्टीलाई ०७५ जेठ २ को अवस्थामा पुर्याउनुपर्ने माग गर्दै आएको छ । लामो समयसम्म त्यसमा आनाकानी गरेका ओली ससर्त सो मितिमा फर्किन तयार भएका छन् ।
दुई साताअघि उनले पार्टी एकताका लागि भन्दै अपिल जारी गरेका थिए । तर, त्यसका लागि नेपाल पक्षले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने उल्लेख गरेका छन् ।
त्यसको जवाफमा नेपाल समूहले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन अवैध रहेको भन्दै सो फिर्ता लिएमा समस्या समाधान हुने बताएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।