रेमिट्यान्स वृद्धि पुनः पुरानै लयमा फर्किँदै

चालु आर्थिक वर्षको बितेको १० महिनाको अवधि अर्थात् वैशाखसम्ममा प्रवासी नेपालीले विभिन्न मुलुकबाट स्वदेश पठाएको र विप्रेषण(रेमिट्यान्स)को वृद्धिदर अघिल्लो वर्षको भन्दा १९.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । कोरोना महामारीको पहिलो लहर मत्थर भएसँगै गत साउनमा बढेको तथ्यांकलाई छाड्ने हो भने यो वृद्धिदर दुई वर्ष यताकै उच्च हो । २०७६ सालको वैशाखमा रेमिट्यान्सको वृद्धिदर १९.६ प्रतिशत थियो ।

पछिल्ला तीन वर्षयता विभिन्न मुलुकबाट नेपाल भित्रिने रेमिट्यान्सको वृद्धिदर खुम्चिँदै गएपछि यसले आफ्नो चरम सीमा पार गरेको विश्लेषण हुन थालेका थियो । तर पछिल्ला तथ्यांकले पुनः रेमिट्यान्सको वृद्धिदर पुरानै लयमा फर्किएर उकालो लाग्न थालेको देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बितेका १० महिनाको समीक्षा प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटे पनि समीक्षा अवधिमा रेमिट्यान्स भने बढेको छ ।

राष्ट्र बैंकले ‘चालु आवको पछिल्लो १० महिनाको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै वैशाख मसान्तसम्म रेमिट्यान्स रकम १९.२ प्रतिशतले बढेर ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ पुगेको देखाएको हो । जबकि अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकको प्रतिवेदनले विप्रेषण आयको अवस्था पुनः पुरानै लयमा फर्कन थालेको देखाएको छ ।

गत वर्षको चैत-वैशाखको समयमा खाडी मुलुक तथा युरोप र अमेरिकामा पनि कोरोना महामारीका कारण अधिकांश नेपालीले आंशिक वा पूर्ण रूपमा रोजगारी गुमाउनु परेको थियो । जापान, अस्ट्रेलियामात्र होइन, भारतमा ज्यालादारी गर्ने नेपाली श्रमिकले पनि आम्दानी गुमाएका थिए । यस वर्ष पनि कोरोना महामारीको दोस्रो लहर फैलिएको छ । तर यसले विश्व अर्थतन्त्रलाई गत वर्षको जसरी प्रभावित भने पारेको छैन ।

अहिले कतिपय विकसित अर्थतन्त्रमा यो वर्ष भारी वृद्धि देखिएको छ । जसले नेपाल भित्रिने रेमिट्यान्स आयको वृद्धि गराउन सहयोग पुगेको छ । अमेरिकी डलरमा भने नेपाल भित्रिने रेमिट्यान्सको वृद्धिदर १६.१ प्रतिशत छ । नेपाली रुपैयाँका तुलनामा डलर अझै पनि महँगिदै गएकाले डलरको हिसाबमा वृद्धिदर कम देखिएको हो ।

यसैगरी भन्सार बिन्दुमा भएको कडाइ र सुनको चुलिँदो बजार मूल्यका कारण पनि विप्रेषण रकमको गैरकानुनी कारोबार घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालमा सुन तस्करीका लागि विप्रेषणको लगत प्रयोग हुँदै आएको थियो । अहिले सुन धेरै महँगिएपछि यसको आयात कम भएको र यसले हुन्डीको कारोबार घटाएको हुनसक्ने राष्ट्र बैंकका अधिकारीको भनाइ छ । उनीहरूले जसको असर औपचारिक माध्यमबाट प्राप्त हुने रेमिट्यान्समा परेको बताएका छन् ।



राष्ट्र बैंकका अनुसार यस अवधिमा वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या भने उच्च दरले घटेको छ । पछिल्ला १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ६०.३ प्रतिशत र पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४९ प्रतिशत घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटे पनि अध्ययन र भ्रमण भिसामा विकसित मुलुक पुगेका नेपालीले पठाउने रेमिट्यान्सको आकार बढ्दै गएकाले हाल रेमिट्यान्स भित्रिने क्रम बढेको राष्ट्र बैंकको अनुमान छ ।



वैदेशिक रोजगार बन्द भएको बेला कसरी रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भयो ?

वैदेशिक रोजगार विगत दुई वर्षदेखि प्रभावित भइरहेको बेला विदेशबाट आउने रकम पनि घट्न सक्ने आँकलन गरिरहेको बेला १० महिनाको अवधिमा रेमिट्यान्स बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

तर कोरोना महामारीले वैदेशिक व्यापार, भ्रमण तथा शैक्षिक गतिविधिमा विदेश जाने संख्या ठप्प हुँदा हुन्डीलगायतका अनौपचारिक च्यानल बन्द भएकाले बैंकिङ च्यानलबाट भित्रिने रकम बढेको विज्ञहरुको ठम्याइ छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ भन्छन्, ‘यो आधार प्रभाव हो, नेपालबाट जान नपाए पनि विदेशमा गएकाहरू फर्कन पाएका छैनन्, पोष्ट कोभिड रिकभरी सुरु भइसकेकाले नेपालीहरूले काम पाउन थालिसकेकाले आम्दानीमा वृद्धि भएको छ । जसको असर यता देखिएको हो ।’

विदेशमा रहेका श्रमिकहरूको आम्दानी नघटेको र खर्च घटेकाले पनि घरमा पठाउने पैसा बढेको हुन सक्ने उनको बुझाइ छ ।

यससँगै कामदार फर्किँदा मोबाइल, ल्यापटप, टेलिभिजन र घडीलगायत सामग्री पठाउने र आफैँ लिएर आउँथे । यी सबै बन्द भएको र युरोप, अमेरिकामा हाइटेकका कारण आम्दानी बढी हुन थालेकाले पनि रेमिट्यान्समा कोभिडले असर नगरेको हुन सक्ने उनले बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले कोभिडका बीचमा रेमिट्यान्स बढ्नु सकारात्मक भएको जानकारी दिए । यताबाट जान नपाए पनि उताबाट आउन नपाएको र रोजगारी कायम नै रहेकाले नेपाल पठाउने पैसा वृद्धि भएको उनको भनाइ छ । उनका अनुसार विदेशमा विस्तारै कोभिडको असर कम हुँदै गएको र श्रमिकहरूको रोजगारी पनि नगुमेकाले रेमिट्यान्समा असर परेकाे छैन ।

वैदेशिक आम्दानीको जिडिपी अनुपात बढ्दो

वैदेशिक रोजगार बोर्डको पछिल्लो १० वर्षे तथ्यांकका अनुसार जिडिपीमा वैदेशिक आम्दानीको प्रभाव बढिरहेको छ । आ.व २०६५/६६ मा २१.२ रहेको जिडिपी अनुपात आ.व ०७३/७४ मा २६.९ पुगेको थियो । देशमा भइरहेको विप्रेषण आप्रवाहको (देश भित्रिएको रेमिट्यान्स) स्थिति हेर्ने हो भने बर्सेनि यसमा पनि वृद्धि भइरहेको छ ।

आ.व २०६५/६६ मा २ खर्ब ९ अर्ब ९० करोड रहेको विप्रेषण आप्रवाह आ.व २०७४/७५ मा ४ खर्ब ७१ अर्ब ९० करोड रुपैयाँ पुगेको थियो । आ.व २०७१÷७२ मा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भएर ६ खर्ब १७ अर्ब ३० करोड रुपैयाँ बराबर रेमिट्यान्स देशमा भित्रिएको थियो । पछिल्लो पाँच वर्षको तथ्यांकमा हरेक वर्ष देश भित्रिने रेमिट्यान्सको आकारमा वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष नसकिएकाले यो वर्ष कति रेमिट्यान्स भित्रिन्छ भन्ने विवरण भने आउन बाँकी नै छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष पनि रेमिट्यान्स बढ्ने बोर्डको अनुमान छ ।

आव २०७२/७३ मा ६ खर्ब ६५ अर्ब, आ.व ०७३/७४ मा ६ खर्ब ९५ अर्ब, आव ०७४/०७५ मा ४ खर्ब ७१ अर्ब ९० करोड, आ.व २०७५/०७६ मा ७ खर्ब ५५ अर्ब र आव २०७६/७७ मा ८ खर्ब ७१ अर्ब बराबरको रेमिट्यान्स देश भित्रिएको छ ।

पछिल्लो ५ वर्षमा रेमिट्यान्स भित्रिएको अवस्था


 

  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १६:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया